बिचार

मुख्य समाचार

मन्त्रीहरुले चटक देखाउन थाले

प्रदीप पौडेल, युवा नेता, नेपाली कांग्रेस

आइतबार, ०२ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज

मन्त्रीहरुले चटक देखाउन थाले

वर्तमान सरकारको समिक्षा गर्ने बेला भएको छैन । सरकारका मन्त्रीहरुले यसो गर्नुभयो, उसो गर्नुभयो भनेर आलोचना गर्ने बेला पनि भइसकेको छैन । तर सरकारमा गएपछि कस्तो आचरण पालना गर्नुपर्छ, कस्तो अभिव्यक्ति दिन हुन्छ, हुँदैन यसबारे ज्ञान नभएको जस्तो चाहीँँ देखिन्छ ।

सरकारका मन्त्रीहरुको अभिव्यक्ति सुन्दा अहिले पनि उहाँहरु प्रतिपक्षमा हो कि भन्ने भान हुन्छ । सुधार गर्ने, काम गर्ने ठाउँमा उहाँहरु आफै हुनुहुन्छ तर क्रान्तिकारी हुने नाममा मिडिया कभरेजका विषयवस्तु मात्रै बोल्नु हुन्छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले टनका टन सुन तस्करी हुन्छ भन्ने जानकारी जनतालाई दिनु भयो ।

 

यो भनेको पनि १० दिन बढि भइसकेको छ । तर गृहमन्त्रीको काम देशमा तस्करी हुन्छ, अर्थतन्त्र डामाडोल हुँदै छ भनेर जनतालाई निराशा बाँड्ने मात्रै हो र ? दैनिक टनका टन सुन तस्करी हुन्छ भने किन नसमाएको त ? आफु कहाँ बसेको छु, आफूले बोलेको विषयले कस्तो प्रभाव पार्छ भन्ने हेक्का मन्त्रीहरुले राख्नु पर्छ । जिम्मेवार व्यक्तिले बोलेको एक लाइनले समाज र मुलुकमा प्रभाव पर्छ ।

 

अहिले नै यो काम गर्नु भएन, त्यो गर्नु भएन भनेर म आलोचना गर्दिनँ । तर मन्त्रीहरुले जिम्मेवारी देखाउने कि स्टन्टबाज गर्ने भन्ने ख्याल गर्नु पर्छ, यति भन्नका लागि अहिले उपयुक्त बेला हो । किनभने अब उहाँहरु सच्चिदै अभिव्यक्ति दिनु पर्छ ।

 

अर्का एक मन्त्री हुनुहुन्छ मातृका यादव । वनमन्त्री भएको बेला स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनिदिनु भयो । उहाँको शैली अराजक देखिए पनि उहाँको उद्देश्य अपवित्र छैन भन्ने लाग्थ्यो हामीलाई पनि । हामी फरक पार्टीका मान्छे भएपनि त्यो ढंगले पनि मूल्यांकन गरेकै हो । तर यसपटक हेर्नुहोस् त ।

 

अटोमोबाइलमा भइरहेको लुट रोक्न खोज्ने आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई अनुगमन नगर्न यादवले दबाब दिनुभयो । अटेर गरेपछि सरुवा नै गरेर सुशासनको पक्षमा काम गर्ने कर्मचारीको हुर्मत लिनु भयो भन्ने खबर सार्वजनिक भए ।

 

अर्थात, यस्तो कुराले राम्रो संकेत गर्दैन । अहिले वामको सट्टा कांग्रेसकै सरकार हुन्थ्यो भने पनि सुशासन, समृद्धि र विकासमा जानै पर्ने बाध्यता हुन्थ्यो । त्यो जिम्मेवारी अहिलेको सरकारमा छ । यसकारण पनि यो सरकार गम्भीर हुनुपर्छ भन्ने मलाई लाग्छ । विशेषगरी अहिले प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्म भाषणवाजीमा प्रतिस्पर्धा गरिरहनु भएको छ । उहाँहरुकै दावी अनुसार यो सरकारले राजनीतिक स्थीरता दिन्छ । नौ महिनाका लागि पनि यो सरकार होइन । यसो हो भने, भाषणका लागि त जति पनि समय छँदैछ नी । काम सुरु गरे हुन्न र ?

 

सरकारसँग स्रोत छ, अधिकार छ । सुशासनका लागि काम गर्दा अवरोध गर्नेहरुलाई तह लगाउन शक्ति पनि छ । प्रतिपक्षले राम्रो काममा कहिले पनि अवरोध गर्दैन । तर पनि मन्त्रीहरु आश्वासन र ठूला भाषणमा केन्द्रीत हुनुहुन्छ । गर्नु पर्ने कामको ठोस योजना बनाउनु भएको छैन । तर केही विषयहरु हेर्दा स्टन्टबाज जस्तो लाग्छ । जस्तो कि सात प्रहरीको हत्याका आरोपीलाई जुस खुवाउने अनि प्रहरीको मनोवल उच्च पार्ने भन्दै गृहमन्त्रीले हवल्दारसँग खाना खाने । यो के स्टन्टबाजी होइन ?

 

एउटा गरिब नेपालीको छोरा घरखेत राखेर खाडी जान्छ । १५ हजारको मोबाइल आफ्नी आमालाई पठाइदिन्छ । त्यो मोबाइल खोस्छुभनेर सञ्चार राज्यमन्त्री भन्दै हिँड्नु हुन्छ । मेरो प्रश्न छ, ठिकै छ पहिले अर्बौको ‘एनसेल–कर छली’, नेपाल टेलिकमको ध्वस्त गुणस्तर, फोरजीमा नियोजित सुस्तता हेर्नु पर्दैन ? यसकारण भन्छु, मिडियामा समाचार बन्नकै लागि तपाईहरु मन्त्री हुनुभएको होइन । सामाचारको सामाग्री त जो कोही बन्न सक्छ । त्यस्ता सस्ता कुरामा लाग्नु भएन ।

 

सञ्चारकै कुरा गर्दा नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थानलाई कसरी प्रतिस्पर्धी बनाउने, पत्रकारको सामाजिक सुरक्षाको व्यवस्था कसरी गर्ने भन्ने नीतिगत सुधार गर्न तिर लाग्नु भयो भने त सञ्चारमन्त्री दिनहुँ समाचारको सामग्री बनिहाल्नु हुन्छ नी ।

 

अब अर्को कुरा पनि छ । चुनावको बेला कांग्रेसको घोषणापत्र पर्खेर बस्नु भयो उहाँहरु । कांग्रेसलाई घोषणापत्रमै हमला गर्न ठूला ठूला तिलस्मी वाचा गर्नुभयो । हामीले ठान्यौं, चुनाव जित्ने प्रयास हो । चुनावमा यस्तै हो । तर अहिले पनि त्यस्ता तिलस्मी कुरा गरि नै रहनु भएकोछ । म एक सानो उदाहरण दिन्छु । उहाँहरुले पाँच वर्षमा हुलाकी राजमार्ग ४ लेनको, महेन्द्र राजमार्ग ६ लेनको बनाउने भन्नु भएको छ, त्यो पनि पाँच वर्षभित्रमा ।

 

रेल पनि त्यही पाँच वर्षमा चल्दै छ । अर्थात रेल बाहेक १० लेनको सडक तराईमा हुनेछ । अहिले दुई लेनको छ । दुई लेनको महेन्द्र राजमार्गमा जामको समस्या छैन । अर्थात राजमार्गमा चाप धेरै छैन । त्यो राजमार्गले धानीरहेको छ । अब भन्नुहोस् यसमा ८ लेन  र रेल थप गरियो भने त्यसमा चलाउने चाहीँ के ?

 (पौडेलसँग गरिएको कुराकानीमा आधारित ।)