कला साहित्य

भिडियो

रंगीन रंगमञ्चः ‘यसरी सम्भव भयो एउटै नाटकमा हिटलर, भगवान श्रीकृष्ण र म’ (भिडियाे)

एउटै नाटकमा रोचक तीन चरित्र

बिहिबार, २९ चैत २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

रंगीन रंगमञ्चः ‘यसरी सम्भव भयो एउटै नाटकमा हिटलर, भगवान श्रीकृष्ण र म’  (भिडियाे)

काठमाडौं । कुनै बेला नाटकमा अभिनय गरिहिँड्ने दीपक हुमागाईँ अचेल अमेरिका बस्छन् । परिवारसहित अमेरिका बस्न थालेको धेरै वर्ष भयो ।

 

३३ वर्षपछि अचानक अमेरिकामै कलाकार नारायण पुरीसँगै रंगमञ्चमा उत्रिँदा दीपकलाई चिन्नेहरु दंग भए । पहिले पहिले नेपालमा रहँदा नाटकमा सक्रिय दीपकले अभिनय अझै बिर्सेका रहेनछन् ।

 

धरानमा हुर्केका दीपक सानैदेखि नाटक अभिनयमा सक्रिय थिए । पूर्वतिर हुने हरेक नाटकमा उनी छुट्दैनथे । किशोरावस्थामै उनी नाटकमा अभिनय गर्ने अब्बल चिनिइसकेका थिए । 



काठमाडौं लगायत स्थानमा हुने अरेक प्रतिष्पर्धामा भाग लिन्थे पनि । रहरै रहरमा सुरु गरेको दीपकको नाट्ययात्रा करिअर नै बन्यो ।

 

नयाँ वर्ष, दशैँ–तिहार जस्ता अवसरमा नाटक प्रतियोगिता भइरहन्थ्यो । दीपक जहाँ भए पनि पुग्थे । नेपाल प्रज्ञा प्रतिष्ठान, युवा संघसंगठन, गोदावरी अर्गनाइजेसन लगायतले पनि नाटक प्रतियोगिता गर्थे । त्यस्ता प्रतियोगिता कहिल्यै छुटाएनन् उनले ।

 

दीपकलाई आफ्नो नशामै नाटक छ भन्ने लाग्थ्यो रे । तर अभिभावकलाई उनको यस्तो लहड मन पर्दैनथ्यो । उनीहरु ‘छोरो बिग्रियो’ भन्थे रे ।



नाटकले भोकै सुतायो

‘नाटकको नशा यस्तो लागिसकेको थियो कि, कैयौं रात त भोकै पनि सुत्नु पर्यो,’ दीपकले भने, ‘पकेटमा पैसा हुँदाहुँदै पनि भोकै सुत्नुपरेको छ । महिला कलाकारहरुलाई घर छोडिदिनु पथ्र्यो । फर्केर आउँदा अबेर हुन्थ्यो । अबेर घर पुगे बाबुआमाले गाली गर्ने डर । रेस्टुरेन्ट बन्द भइसकेका हुन्थे ।’ दीपक त्यसताका समकालिन रवीन्द्र खड्का लगायत साथीहरुसँगका संघर्षशील रात सम्झन्छन् ।



स्मरणीय कुरा
 

२०३३ सालको कुरा । धरानस्थित घरमै बसेको बेला । छोराको पढाइ नबिग्रियोस् भनेर बाबुले विहान–बेलुका ट्यूसन राखेका थिए । उनले बेलुकाको ट्यूसनलाई विहानै सिफ्ट गरे । विहान ४ बजे उठेर ट्यूसन जान्थे र ९ बजे घर फर्किन्थे । फेरि १ बजे ट्यूसन पढ्न भनेर निस्कन्थे । तर नाटक रिहर्सलको लागि विरानटनगर पुग्थे । झण्डै दुई घण्टाको बाटो छिचोलेर उनी विराटनगर पुग्थे र रातको नौ बजे घर फर्किन्थे ।


मौलिक स्टेज
 

बद्री अधिकारी लगायत समकालिन साथीहरु सबै्र जोशिला थिए । साथीहरुको हौसला र उर्जाकै कारण पनि नाटकमा लागिरहन प्रेरणा मिल्थ्यो उनलाई ।

 

आफैँ स्टेज बनाउथे, नेपालको मौलिक संस्कृति झल्काउने किसिमको स्टेज हुन्थ्यो । नाटकका विषय हुन्थे, सामन्तवादी सोच र विभेद्बाट पिल्सिएका घटना र पात्र । झापा, विराटनगर, इटहरी, सप्तरीका विभिन्न ‘लोकेशन’मा उनीहरुले नाटकका स्टेज उभ्याए ।

 

मौलिक कथा नभएको बेला उनीहरु सरुभक्त, धुब्रचन्द्र गौतम, गोबिन्द बहादुर मल्ल गोठाले, विजय मल्लका नाटक मञ्चन गराउँथे ।


तीन चरित्र
 

दीपकले आफ्नो नाटक करिअरमा थुप्रै प्रयोग गरेका छन् । नेपालको रंगमञ्च इतिहासमै उनी पहिलो कलाकार हुन् जसले एउटै नाटकमा तीन पात्रको अभिनय गरे ।

 

त्यसबेला उनले हिटलर, श्री कृष्ण र एक किशोरको भुमिका निभाए एउटै नाटकमा । ‘सम्झँदा आफैँ दंग पर्छु,’ उनले सम्झिए, ‘ती दुई विपरित पात्रको अभिनय गर्नु आफैँमा जटिल काम थियो ।’



टेलिभिजनमा जागिर मोह
 

नेपालमा भर्खरै टेलिभिजनको सुरुवात भएको थियो । उनलाई पनि जागिर खाने रहर पलायो । फारम भरे । लिखित परीक्षा पास भए अन्तर्वार्ता पनि दिए । तर, जागिर पाएनन् । जागिरमा आवेदन दिनुअघि उनी नेपाल विद्यार्थी संघको झण्डा बोक्थे । सोही कारण पनि जागिर नपाएको उनको गुनासो छ ।

 

त्यसो त टेलिभिजनमा जागिर खुवाउनेहरु पनि पूर्वाग्रही हुने गरेको उनको बुझाइ छ । प्रारम्भिक चरणदेखि नै टेलिभिजनमा राजनीति हुने गरेको उनको गुनासो छ ।

 

अमेरिकामै रहे पनि दीपकले टेलिभिजन, प्रज्ञा प्रतिष्ठान, नाचघर जस्ता सरकारी निकायमा राजनीतिक चलखेल हुने नियालिरहेका छन् । तर राजनीतिक रुपमा हुने नियुक्ति उनलाई चित्त बुझ्दो नलाग्दो रहेछ ।

 

उनले भने, ‘त्यो बेलाको ह्याङ ओभर अहिले पनि देखिन्छ ।’ दीपक ठान्छन्, ‘राजनीति र नाटक उस्तै हो । नाटकमा अभिनय गरिन्छ । राजनीतिमा अभिनय गराइन्छ ।’


बदलिँदो रंगमञ्च
 

पछिल्लो समय नेपालमा रंगमञ्च सोचेभन्दा सुन्दर रहेको उनको बुझाइ छ । युवा पुस्ता पनि यसमा आकर्षित छ । थुप्रै युवाहरु नाटक अभिनयबाटै फिल्ममा प्रवेश गरे । यसरी कलाकारितालाई नै पेशा बनाउनसक्ने अवस्था देख्छन् दीपक ।

 

आफ्नो संघर्षको समय भन्दा अहिले धेरै परिवर्तन भइसकेको उनको अनुभव छ । २०४१÷०४२ सालमा उनैले लेखेको ‘चुईयाँ’ नाटक मञ्चन भएपछि ३३ वर्षसम्म अर्को स्टेजमा उक्लिएनन् ।

 

नाट्यकर्मी रविन्द्र खड्का, अशोक शर्मा, उज्ज्वल घिमिरे, सूर्यमाला शर्माका समकालिन दीपक हुमागाईँ ३३ वर्षपछि अमेरिकामा नारायण पुरीसँग अभिनय गर्दा भावुक बने । एनआरएनए अमेरिकाले आयोजना गरेको पछिल्लो नाटकपछि अमेरिकाभर अफर आइरहेको बताउँछन् उनी ।