समाज

भिडियो

हिन्दुवादीको आक्रोशः ईयूको डलर खाएको सरकार साधुसन्तलाई आक्रमण गर्दैछ (भिडियाे)

बिहिबार, २९ चैत २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

हिन्दुवादीको आक्रोशः ईयूको डलर खाएको सरकार साधुसन्तलाई आक्रमण गर्दैछ (भिडियाे)

काठमाडौं । विराटनगरमा हिन्दु धर्मका गुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार भएपछि हिन्दु धर्मावलम्वीहर विरोधमा उत्रिए । काठमाडौं लगायत स्थानमा उनीहरुले आन्दोलन गर्दैआएका छन् ।

 

नेपालमा हिन्दु धर्मावलम्वीहरुमाथिकै आक्रमणको रुपमा उनीहरुले यस घटनालाई लिएका छन् । आन्दोलनको क्रममा उनीहरुले पश्चिमा मुलुकबाटै षड्यन्त्र भएको हुनसक्ने उनीहरुको दाबी छ ।

 

पछिल्लो बुधबार पनि माइतीघर मन्डलामा उनीहरुले र्याली जारी राखेका छन् । गोली प्रहार गर्ने दोषीलाई तत्काल कारवाही र छानविन आयोग गठन गर्न माग गर्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।


उनीहरुका अनुसार यो घटना सनातन हिन्दुवादीहरुमाथिको आक्रमण हो । यस्ता घटनामा सरकारले चासो नदेखाएको भन्दै उनीहरु आक्रोशित पनि बने ।

 

माइतीघर मण्डलामा गरिएको विरोध कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले छानविन गर्न आयोग गनठन, सनातन हिन्दुमाथिको आक्रमण रोक्नु पर्ने, घाइते धर्मगुरुको खर्च सरकारले व्यहोर्नुपर्ने लगायत माग गरेकी थिइन् ।

बारम्बार हिन्दुमाथि भइरहेको हस्तक्षप अन्त्य गर्नुपर्ने र धर्मनिरिपेक्षता खारेज गरेर पुनः हिन्दुराज्य घोषणा गर्न उनले माग गरिन् । उनले नेपाल हिन्दु राष्ट्र बनाएर छाड्ने प्रतिवद्धता समेत जाहेर गरिन् ।

 

शिवशेना नेपालका महामन्त्री शिव कोइरालाले शिवसेना नेपालले धर्मगुरुमाथि भएको आक्रमणको भत्र्सना गर्दै सरकारले यथासख्य चाँडै निष्पक्ष छानविन गर्नुपर्ने बताए ।

 

 

उनले यूरोपियन युनियनलगायतका पश्चिमी केही राष्ट्र मिलेर नेपाललाई मुलुक सिरियामा जस्तै गृहयुद्ध भढ्काउन खोजेको आरोप लगाए ।

यस्तै हिन्दु जागरण नेपालका दिनेश कंडेल (दीपक)ले हिन्दुत्वमाथि नियोजित र योजनावद्ध ढंगले पश्चिमी राष्ट्रहरुले आक्रमण गरेको टिप्पणी गरे । पश्चिमी राष्ट्रले नेपालको अखण्डता र राष्ट्रियतालाई कमजोर बनाउन चलखेल गरेको उनको आरोप छ । उनले सम्प्रदायीक अतिवादी संस्थाहरुलाई प्रतिवन्ध लगाउन माग गरे ।

 

श्रीमद भागवत सप्ताहमा सहभागी हुन विराटनगरको जतुवा पुगेका श्रीनिवासमाथि शनिबार गोली प्रहार भएको थियो । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ ।
 

यही घटनालाई लिएर हिन्दुवादी संघसंगठनका प्रतिनिधिहरुले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका थिए । मन्त्री थापाले ज्ञापनपत्र बुझ्दै उक्त घटनाका विषयमा निष्पक्ष छानविन गर्ने प्रतिवद्धता जनाएका थिए ।