बिचार

एमालेका नेता चिमोट्दा पनि 'ऐया' भन्न नसक्ने अवस्थामा पुगे !

देशलाई संघीयताको सुरुङमा लगेर विकासका नाममा हजारौं ठूला मानिस जन्माइए

शुक्रबार, २५ फागुन २०७४ गते प्रकाशित
- संकेत कोइराला

एमालेका नेता चिमोट्दा पनि 'ऐया' भन्न नसक्ने अवस्थामा पुगे !

निर्वाणभन्दा ६ महिनाअघि बुद्ध आफ्नो शिष्य आनन्दलाई लिएर कतै जाँदै थिए । हिँड्दा हिँड्दै बुद्धलाई तिर्खा लाग्यो । उनले आनन्दलाई भने, ‘प्रिय शिष्य, बाटोमा एउटा झर्ना देखिएको थियो, त्यहाँ गएर पानी लिएर आऊ ।’


आनन्द त्यहाँ गए र रित्तै फर्किए । उनले भने– ‘गुरुजी झर्ना त धमिलो भइसकेको रहेछ ।’ बुद्धले फेरि आनन्दलाई पानी नलिई नआउनू भनेर पठाए । आनन्द दोहोर्याएर त्यहाँ पुग्दा त झर्ना सङ्लो भइसकेको रहेछ ।

 

उनले त्यही पानी ल्याएर बुद्धलाई दिँदै भने, ‘गुरुवर आज मैले एउटा गहिरो सन्देश पाएँ । जसरी धमिलो झर्ना केही छिनपछि कञ्चन र सफा हुन सक्छ, त्यसैगरी मनको धमिलो पनि हटेर जान सक्छ । पानीमा मिसिएका माटाका कणहरु केही छिनपछि थिग्रिँदा रहेछन् । मैले झर्ना नजिकको तलाउलाई धेरैबेरसम्म नियालिरहें । त्यसलाई मनसँग तुलना गरें । र मन निर्मल बनाउने उपाय सिकें ।’

 


यतिबेला देशका अधिकांश मानिसको अवस्था गौतम बुद्ध शिष्य आनन्दको जस्तै छ । सबैको अस्तित्व झल्किने सलादजस्तै समाज बनोस् । राजनीति राजनीतिज्ञहरुले मात्र गर्ने साधन बनिदेओस् भन्ने आममानिसको प्रार्थना छ । अविश्वासको अन्त्य नै सुशासनको प्राप्ति हो । एउटा सपना भाँचिएसँगै अरु अनन्त सपना जोडिन्छन् । जसले मानिसलाई आशामुखी हुन प्रेरित गर्छ । एउटा सपना टुक्रिने अरू नजोडिने हो भने मानव सभ्यता उहिल्यै डाइनोसर भइसक्ने थियो । सुखद् भविष्यको त्यान्द्रोले मानिसलाई सत्कर्ममा डोर्याउने त हो ।

 


महाभारतमा भनिएको छ– ‘सत्य बोल प्रिय बोल, प्रिय छैन भने सत्य पनि नबोल । प्रिय छ भनेर असत्य पनि नबोल ।’ सत्य भनेको इच्छा हो । आग्रह भए ठाउँमा सत्य आउँदैन । आगोले सुनको शुद्धता जाँच्ने क्षमता राखेजस्तै मानिसको कर्मबाट सत्य निसृत हुन्छ । सत्य भनेको इच्छा हो । आग्रह भए ठाउँमा सत्य अटाउँदैन ।

 

जिब्रोभरि नुन लिएर तिहुन चाख्न तम्सिनेहरुको साम्राज्यले सर्वत्र गिजोलिएको अवस्थामा सत्यको आराधना सजिलो नभए पनि असम्भव पक्कै छैन । सत्य मान्छेपिच्छे फरक हुँदैन । पटमूर्खहरु अनुहारमा पोतिएको कालो देख्दैनन्, तर रातदिन ऐना पुछिरहन्छन् । तिनै ऐना पुछ्नेहरुको खबरदारी अहिलेको आवश्यकता हो । संसारमा सत्य मात्र त्यो शक्ति हो, जो सधैं संग्रहयोग्य हुन्छ ।

 


हनुमान आफैंमा धेरै बलशाली थिए । एकपटक त्यही बलको घमण्डका कारण सूर्य निल्ने दुस्साहस गरे । यो खबर देवलोकमा पुगेपछि देवताहरुको अपर्झट आपतकालीन बैठक बस्यो । हनुमानले सूर्य नै निले भने त अनिष्ट निम्तिने भो । देवताहरुको बैठकले हनुमानको घमण्ड निस्तेज गर्ने उपाय निकाल्यो ।

 

बैठकको निष्कर्ष थियो– ‘आइन्दा हनुमानलाई कसैले उनको शक्तिका बारेमा सम्झाएपछि मात्र आफ्नो शक्तिको ख्याल हुने अवस्था सिर्जना गरिदिने ।’ देवताहरुले हनुमानभित्रको विवेकको ढोका बन्द गरिदिएपछि उनको सामथ्र्य एक प्रकारले निर्देशित बन्न पुगेको थियो । सम्भवतः यो अघोषित श्राप हाम्रा नेताहरुमा पनि परेको छ ।

 

जब यो देशमा पञ्चायत थियो, यिनै नेताहरु भन्थे– हातमा नेल ठोकिएका छन् र पो ! पञ्चायत गएर बहुदल आयो । त्यसपछि पनि यिनीहरुको घैंटोमा घाम लागेन् । सत्तालाई मापदण्ड बनाएर भुट्भुटिन कहिल्यै छोडेनन् । राजनीतिका नाममा कांग्रेस र एमालेको दन्तबजानका कारण केही वर्षभित्रै जुन प्रवृत्तिविरुद्ध तीन दशक आन्दोलन गरिएको थियो, तिनै पञ्चहरु राजनीतिको चुलो चौकामा पुर्याइए ।

 

सूर्यबहादुर र लोकेन्द्रबहादुरलाई नेता मानेर कांग्रेस, एमाले लाचारीपूर्वक सरकारमा गए । एकातिर यस्तो दृश्य देखिन थाल्यो भने अर्कातिर नेपाली राजनीतिका भीष्मपितामह मानिने गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीहरु तासको जोक्कर जस्तो फाल्टो हुँदै गए ।

 

नवप्रवेशी चैतेहरुको पार्टीमा हालीमुहाली बढ्न थाल्यो । यी सबै दृश्य हेरिरहेको माओवादीले जातीय, क्षेत्रीय, शोषण, दमनको मुद्दा उठाएर वितण्डाको विष घोलिदियो । त्यो वितण्डालाई ठीक ठाउँमा ल्याउने नैतिक सामर्थ्य सरकारमा रहेन । आखिर ठट्टैमा आतंकको ज्वालाले देश तहसनहस भयो ।

 

विधिमा चल्नुपर्ने सिंहदरबार त सच्चिएन भने आतंकलाई हतियार बनाउनेहरुबाट विवेकी निर्णयको अपेक्षा गर्नु आफैंमा सुल्टो कर्म नहुने पक्का थियो । हजारौंको बलिदानपछि देशले अनपेक्षित युटर्न गर्यो । त्यसपछिको राजनीतिक कोर्सले राजाका कारण देश उँभो नलागेको निष्कर्ष निकाल्यो । जनताले पनि हो मा हो मिलाइदिए । राजा फालिए । गणतन्त्र आयो ।

 

तर यो व्यवस्थाले राजनीति यसरी गिजोलियो कि टाउको र फेद नै नचिनिने अवस्था आयो । यतिले पनि नपुगेपछि देशलाई संघीयताको सुरुङमा लगेर विकासका नाममा हजारौं ठूला मानिस जन्माइएको छ । ती ठूला मानिसको व्यवस्थापन फलामको चिउरा बन्दै गएको छ ।

 

नीतिहरुको राजा मानिने राजनीतिमा कुखुरा चोर, बारमासे जुवाडे, गाउँका जाली फटाहाहरुको बिगबिगी बढ्यो । मानवीय कर्म नभएर जातजाति, धर्म संस्कृतिलाई राजनीतिको गोटी बनाइयो । हिमालमा बसोबास गर्नेले तराईमा जन्मिएका गौतम बुद्ध र तराईमा रहेकाहरुले हिमालमा रहने महादेवको पूजा अर्चना गर्ने प्राकृतिक सन्तुलनमा धावा बोल्न खोजियो ।

 

कार्पेटमाथिको फोहोर मिल्काउने चेष्टा कसैले गरेन, बरु कार्पेटमुनिको फोहोर निकालेर आँखामा हाल्ने दुष्प्रयास गरियो । राज्यको गाडी चालक हैन, खलाँसीले हाँक्न खोजे । देश घाँस, चोक्कर नदिने तर लाम्टा मात्र लुछ्ने गौमाता जस्तो बन्दै गयो ।

 

देशभरि प्रचण्डमाला बनाएर महेन्द्रमाला विस्थापित गर्छु भन्ने प्रचण्डपथको क्रान्तिकारी चरित्र लोकमानसिंह, रमेशनाथ पाण्डे, अजय सुमार्गी जस्ता पात्रलाई सल्लाहकार बनाएपछि खरानी भयो ।

 

देशका जनता त के ढुंगा माटोसमेत माओवादी भएको घमण्ड पालेका प्रचण्डको नैतिक बल सकिएपछि पछिल्लो समय कुम हल्लाउने, तेल, जेलमा रमाउनेबाहेक माथि उठ्न सकेन् । उनका हरेक कर्ममा पाखण्ड देखिन थाल्यो । सिंहदरबार जनताको हित गर्ने पवित्र भूमि नभएर लुट मच्चाउने अखडा बन्न पुग्यो ।

 

माओवादीहरुको शहर प्रवेश स्यालले कुखुरा झम्टिएभन्दा पर हुन सकेन् । माओवादी लहैलहैमा लागेर राजनीतिको झिटीगुन्टासमेत उसैलाई बुझाएका कांग्रेस, एमालेका नेता चिमोट्दा पनि ऐया भन्न नसक्ने अवस्थामा पुगे । आफ्नो पार्टी के हो र आफू के गर्दै छु भन्ने सामान्य हेक्का पनि उनीहरुलाई भएन् ।

 

आखिर चित परे पनि पोट परे पनि माओवादी देशैभर भाले भयो । दोस्रो जनआन्दोलनको म्यान्डेट भनेको देश माओवादी र मधेशवादी नामका दुई अवसरवादीलाई जिम्मा लगाउनु र अरुचाहिँ रमिते हुनु हो भन्ने अघोषित बुझाइ समाजमा स्थापित भयो । रुकुम, रोल्पालाई राजनीतिको चारधाम मान्ने तिनै पार्टीका नेताहरु काठमाडौंको रैथानेमा परिणत भएको नाटकका पात्र बनेपछि आफ्नै उद्गमस्थलबाट माओवादी विरानो बन्दै गयो ।

 


जेलमा बसेको एउटा कैदीलाई सिर्कनो र खुर्सानीमध्ये एक रोज्न लगाइएछ । खुर्सानीले राल सिंगान भएपछि ऊ भन्दो रहेछ, यो भन्दा त सिर्कनो बेस । अनि सिर्कनोले पाँसुलामा छरछरी रगत आएर पोल्न थालेपछि उसलाई फेरि लाग्दो रहेछ, योभन्दा त खुर्सानी जाती । हो, कांग्रेस एमालेकाे रोजाइ पनि यो सत्यभन्दा पर हुनै सकेन ।