बिचार

दृष्टिमा खोट कि सृष्टिमा ?

सन्तान नभएका केपी ओलीलाई ‘बा’भन्न तँछाडमछाड गर्नेहरुलाई संकेत कोइरालाको चोटिलो सुझाव

बुधबार, २३ फागुन २०७४ गते प्रकाशित
- संकेत कोइराला

दृष्टिमा खोट कि सृष्टिमा ?

  • संकेत कोइराला ।

 

अमेरिकी राष्ट्रपति आइजनहावरले आफ्नो पद सम्हालेपछि उनका नाममा असंख्य उपहार र शुभकामनाहरु आइरहे । यिनै शुभकामनाको भीडमा एउटा बुट्टेदार सुन्दर कुचो पनि थियो । जुन कुचोलाई आइजनहावरले आफ्नो कार्यकक्षको मध्य भागमा सजाएर राखेका थिए । एकपटक कुनै राष्ट्रका राष्ट्राध्यक्षले भ्रमण सिलसिलामा उक्त कुचोप्रति जिज्ञासापूर्ण नजर हेरेपछि राष्ट्रपतिले मुस्कुराउँदै आफू विजय भएपश्चात एक मतदाताले उपहारस्वरुप उक्त कुचो पठाएको रहस्य सार्वजनिक गरे ।

 

कुच्चो पठाउने सज्जनले कुचो उपहार पठाउनुको औचित्य पुष्टि गर्दै लेखेका थिए– ‘तपाईंले चुनावी भाषणमा आफू राष्ट्रपति भए प्रशासनमा भएका सारा घुसखोरी र भ्रष्टाचारी सफाई गर्नेछु । मलाई विश्वास छ– यो उपहारले सदा तपाईंलाई आफ्नो बचनको सम्झना गराउने छ ।’ आइजनहावरले अगाडि भने– ‘कुचो उपहार पठाउनेवाला सज्जनका यी शब्दहरु मलाई अति प्रेरणास्पद छन् ।

 

यसैले मैले कुचोलाई सर्वश्रेष्ठ उपहार सम्झेर सधैं आफ्नो सामुन्ने राखेको हुँ ।’ प्रधानमन्त्री भएपछि केपी ओलीले के के उपहार पाए, त्यो त थाहा भएन । तर उनले बेथिति बढार्ने कुचो नपाएको भने स्पष्ट भएको छ । मुलुकका जेष्ठदेखि कनिष्टसंग नारिएर उनको दैनिकी सेल्फीमै बितिरहेको छ । हिजोसम्म शेरबहादुरलाई राज्य चलाउने नाममा अनैतिक कामका लागि उक्साउनेहरु रातारात बालकोट बसाईं सरेका छन् ।

 

सामाजिक सन्जालमा आदर्श नागरिक देखिनेहरुको नजानिदो खेती ओलीसंग काँध मिलाएर खिचेको फोटो प्रदर्शनमै केन्द्रित छ । पदमा पुगेपछि त्यही बुके, त्यही खादा, त्यही हजुरी सबैका लागि प्रियकर खान्की बन्ने रहेछ । जो जतिसुकै पटक प्रधानमन्त्री बनेपनि सत्य फेरिदैन । सृष्टि उही हो, फरक हो त दृष्टि ।

 

मुलुकको कार्यकारी पद प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवका अतिरिक्त चारवटा सचिव छन् । सहसचिव, उपसचिव, शाखा अधिकृतको संख्या पनि मनग्य छ । त्यहाँ रहेका चारसय बढी कर्मचारीको एकमात्र काम प्रधानमन्त्रीलाई सहयोग गर्नु हो । तर बालुवाटारले सचिवालयका नाममा खडा गर्ने चण्डमुण्ड, हुक्के ढोके, नन्दी भृङ्गीका अगाडि यो शक्ति निरीह र अल्टर हुन्छ ।

 

प्रधानमन्त्रीको निजी सचिवालयका नाममा खडा हुने समानान्तर सरकार, जसको काम अघोषित रुपमा दलालीलाई संस्थागत गर्ने बाहेक केही भएको छैन् । सिंहदरबारदेखि ब्रम्हनालसम्मलाई राजनीतिक भागवण्डामा संस्थागत गर्ने कर्म यही मण्डलीबाट हुने गरेको विगत इतिहास अहिले पनि उही लिगमा दौडिएको छ । लोकसेवा लडेर आएका कर्मचारीलाई पार्टीको झण्डा भिराएर अदलबदल गर्नेदेखि रसातालसम्म पु¥याउने खेलकुद यही कथित शक्तिकेन्द्रबाट हुन्छ । बालुवाटारको नम्बर नदेखिने फोनबाट दर्जनौं प्रधानमन्त्री भएर फोन दबाउँछन् ।

 

थानकोट, कालिकोटदेखि पेटीकोटसम्मका काम मिलाउन दबाब दिन्छन् । सन्तान नभएका केपी ओलीलाई बा भन्नेहरुको त्यसै पनि तँछाडमछाड छँदैछ । कामका लागि दबाब दिन नजन्माएका कति सन्तान रक्तवीज भएर निस्कने हुन, त्यसको गन्ती छैन् । कोही कसैप्रति पूर्वाग्रह हैन, आफ्नो सचिवालयको मर्यादातर्फ प्रधानमन्त्री सचेत नहुने हो भने सरकारको मर्यादा एउटा पेटी ठेकेदारबाट अर्को पेटी ठेकेदारको अदलीबदलीमा सीमित हुनेछ ।

 

प्रधानमन्त्रीको मर्यादा पनि देउराली अविर दलिएको रातो ढुंगाजस्तै औपचारिकताको शिर झुकाइमा सीमित हुनेछ । ढुंगाको अविर पानीले पखालेका दिन त औकात उही म्याउकै अवस्थामा झर्ने दिनको पर्खाइ हो । पुलिसले घेरा हालेर ठूलो भइने भए त अपराधीलाई पनि सेन्ट्री दिएर सयौं जेलहरुमा रातदिन पुलिसले रुँगेकै छ ।

 


सरकारका मन्त्रीहरुलाई लाग्दो हो– सृष्टिको शुरुवात उनीहरुले शपथ लिएपछि बल्ल शुरु भएको हो । उनीहरुले बोलेको शब्द ब्रह्म वाक्य हो । अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले भनेका थिए– ‘सरकार भनेको सिंहमाथिको सवारी जस्तै हो । झरौं उसैले आहार बनाउने, नझरौं हात गलेर फतक्क हुने ।’ तर हाम्रो परिवेशमा सरकारको आसन विलासिताको चरम विन्दु हो ।

 

जहाँ पुगेपछि कालिदासहरु रातारात चाणक्य हुन्छन् । साइलकहरु सरस्वतीका वरद्पुत्र हुन्छन् । पानीमरुवाहरु वीर हनुमान कहलाइन्छन् । गाउँका कुखुरा चोरहरु मन्त्री हुनासाथ विदुर नीतिका व्याख्याता हुन पुग्छन् । अनि तीन करोड जनतालाई उल्लू बनाइन्छ– यही हो प्रजातन्त्रको सुन्दर अभ्यास । अहिले त झन् अराजकतालाई संघीय र समावेशी गणतन्त्रको पदवी भिराइने अभ्यास तीव्र गतिमा भएका छन् ।

 

लबेदा सुरुवालमा चटक्क भएर निस्किने मुख्यमन्त्री, देशभरका दर्जनौं मन्त्रीहरुको पोज, आफ्नै देशका एक चौथाइ भागमा नाम नसुनिएकाहरुको अर्ती, मुलुकको आर्थिक विकासमा २.६ प्रतिशत योगदानमा सीमित निजीक्षेत्रको फूर्ति कसैलाई पचेको छैन् । जब एक व्यक्ति भ्रमले ग्रस्त हुन्छ, उसलाई पागल भनिन्छ । जब धेरै मानिस भ्रमले ग्रस्त हुन्छन, त्यसलाई धर्म भनिन्छ । अहिले जताततै झुटलाई धर्म मान्ने संस्कृति हावी भएको छ । निसन्देह राजनीतिक स्वतन्त्रताले संसारमा भोकाहरुको पेट भरिएको उदाहरण छैन ।

 

२०१५ सालमा प्रधानमन्त्री हुँदा बीपी कोइरालाले मन्त्रिपरिषद्को पहिलो बैठकमा प्रधानमन्त्रीले पाउने तलब सुविधाबाट एक हजार कट्टी गरेर जनताप्रति ममता देखाएका थिए । पृथ्वीनारायण शाहले बिसे नगर्चीबाट एक रुपियाँ चन्दा लिएर एकीकरणको महाभियान शुरु गरेका थिए । भला यसले देश विकास त नहोला रे तर नेतालाई राजनेता बनाउने भनेकै यस्तै क्रियाकलापले हो ।

 

ठूलो भएर के गर्नु कैंचीले छुट्याउने काम गर्छ तर हेपिएको त्यही सानो सियोले हरदम जोड्छ । त्यसैले मानिसले जोडिने कर्म गर्नुपर्छ । फाटेको त बादल मात्र राम्रो हो नि । सिक्न टाढा जानै पर्दैन । मानिसले किन दुख पाउँदो रहेछ भन्ने उत्तर खोज्न निस्कँदा सिद्धार्थ राजकुमार भगवान गौतम बुद्ध भएर प्रकट भए । कार्पेन्टरको छोरो यशुक्रिष्ट भएर उदाउलान भनेर कसले विश्वास गरेको थियो ? हामीले प्रजातन्त्रको जननी बेलायतलाई मान्यौं तर हामी त्यस्तो पावन भूमिका नागरिक हौं, जनकपुरका राजा जनकले आफ्नी छोरी सीताको विवाह गर्दा समेत प्रजातान्त्रिक प्रक्रिया अपनाएर बरको छनौट गरे ।

 

धनु उठाउने प्रतिस्पर्धामा अब्बल ठहरिएपछि अयोध्याका राजकुमार रामले सीताको हात थाम्ने अवसर पाए । धार्मिक ग्रन्थबाट नै लोकअभ्यास गरिएको त्यो भूमि अहिले जमिनका लागि काटाकाट र मारामारको अवस्थामा छ । सवैको अस्तित्व देखिने सलादजस्तो लोकतन्त्र छोडेर हामी जसको लाठी, उसको भैंसीतर्फ उन्मुख छौं ।

 

श्रीलंकाबाट प्रेरित लिक्वानले सिंगापुरे जनतालाई यस्तो हिरा बनाइदिए जुन देशका नागरिकले विश्वका कुनै मुलुक टेक्दा पनि कुनै तगारो लाग्दैन् । उनले विदेशीको रेडिमेड माछा कहिल्यै स्वीकारेनन् । बरु बल्छी मागेर जनतालाई माछा मार्न सिकाए । पाउरोटीको साटो पाउरोटी बनाउने सीपको अभियान छेडे । हाम्रा नेताहरु भने आफ्ना युवाहरुलाई मलेशिया पठाउन नेताहरु हौसिए । तर त्यहाँका मोहम्मद महाथिरले देश बनाउन गरेको योगदान चटक्कै बिर्सिए ।

 

केही वर्षअघि भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज मर्दा ते¥हदिने दाजुभाइ विते जसरी अनुहार विगार्ने नेताहरु चाभेजले जस्तो जनतालाई समृद्ध बनाउने काममा नौ नारी गलाएर बसे । आफ्ना जनतालाई ५० पैसा लिटर तेल उपलब्ध गराउने चाभेजको लोकप्रियता कति होला ? अनुमान मात्र गर्न सकिन्छ । जो मानिस एक्लो उभिन्छ, उही महान हो । चाभेजले बाचुन्जेल अमेरिकाजस्तो देशलाई च्यालेन्ज गरिरहे ।

 

अन्तिम अवस्थामा पनि छिमेकी देश ब्राजिलमा उपचार गरे तर युरोप, अमेरिका टेकेनन् । लाटो छोराले बाउ घुक्र्याएजस्तो छिमेकीलाई मनपरी भन्ने अनि आङ्मा सुके लुतो निस्कियो भने उसैले पठाइदिएको एयर एम्बुलेन्स चढेर राष्ट्रियताको पाखण्डी गीतामा शायदै अरु देशका नेता रमाउँछन् । गुलियो बचन बोल्ने त बोल्ने भइगो, कलबिख तीतो बोल्ने पनि अन्ततः प्रायोजित विज्ञापनको कलाकार रहेको भेद खुल्ने गरेको छ ।

 

मान्छे हैन, रोबर्ट मान्छे बोल्ने गरेको छ । गाई विभिन्न रंगका भएपनि दूध सेतै हुन्छ । अलग अलग धर्मको शैली अलग भएपनि आखिर त्यसको निष्कर्ष एउटै हुन्छ– मानिसले शुभ कर्म गर्नुपर्छ । नीति भन्छ– अन्यायपूर्वक आर्जन गरेको धनबाट महान फल दिने ठूला ठूला यज्ञ गर्नाले त्यति धर्म हुदैन जति न्यायोपार्जति थोरै भएपनि श्रद्धापूर्वक दान दिनाले हुन्छ । न्यायपूर्वक उपार्जन गरेको धनबाट जीवन निर्वाह गर्ने तथा दानको महत्व थाहा पाउने व्यक्तिले दान र तपस्याबाट स्वर्गलोक प्राप्त गर्दछ ।

 

शिक्षाको शुरुवात कितावबाट होइन, कोक्रोबाट हुनुपर्छ । ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन् । शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान । ज्ञानले बाँच्ने कला सिकाउँछ । तर सूचनाले फन्टुस गफ गर्न । यसैको परिणाम पपकर्न भनेपछि मरिहत्ते गर्ने तर हाँडीमा भुटेको मकैलाई घृणा गर्ने पुस्ता हावी बन्दै गइरहेको छ । कानमा लगाइएको सुनले आफ्नो विज्ञापन गर्दैन ।

 

त्यसको सौन्दर्यको मानिसले बाहिरबाटै हेरेर गर्न सक्छ । जीवन असन्तोष हो, जो संग जे छ त्यसले हुँदैन पुग्दैन, जे हुँदैन त्यो चाहिन्छ । नभई हुँदैन । जे छ, जे छैन त्यसैको सन्तुलन मिलाउनु र रमाउनु सुख हो । सन्तोष पनि त्यही हो । मलाई कसैले माया गर्छ भन्ने विश्वास नै त सुख हो नि । जो कसैको कुरा सुन्दैन त्यो पनि असफल । जो सवैको कुरा सुन्छ त्यो पनि असफल । भनिन्छ– नेपालमा हुनेखाने र हुँदा खाने दुई वर्ग छन ।

 

तर म त भन्छु– त्यो वर्ग भडखारोमा परेर अहिले मासु्भात खाने र आँसुभात खानेमा विभाजित भइसकेको छ । सुखी हुने उपाय भनेको आफूसंग जे छैन, त्यो विर्सनु नै हो । मानिस बाँच्छ वर्तमानमा, तर उसलाई विश्वास हुन्छ अर्को जन्मको । स्वर्ग जान पाउँ भनेर हजारौं मन्दिरमा लाखौं घण्ट बजाइन्छन् । दीप बालिन्छन् । भाकल गरिन्छन् । कति निर्दोष पशुपन्छी बली चढाइन्छन् । तिमी अर्को जन्ममा के बन्ने ? प्रश्न नखस्दै धेरैको जवाफ आउँछ– पुतली, चरा ।

 

अनिश्चित स्वर्गका लागि आर्थिक, नैतिक र भौतिक रुपमा समर्पित हुने मान्छे आफ्नै आँखा अगाडि देखिएका अनगिन्ती अमानवीय दृश्यमा आँखा चिम्लिन्छ । एउटा बालक सडकमा अनिश्चित भविष्य बाँचेको हुन्छ । तर धेरैको संवेदनाले छुँदैन । आजको मानिस चित्रको पूजा धेरै र चरित्रको कम गर्दछ । मानिसले चित्रको हैन, चरित्रको पूजा गर्नुपर्छ । जुन दिन तपाईं चरित्र र चित्रको भेद खुट्याउन सफल हुनुहुनेछ ।

 

मान्नुस तपाईं आत्मज्ञानी हुनुभयो । मन्दिरमा त मोबाइलको मोहले छोड्दैन भने फेरि शान्तिको खोजी कसरी पूरा हुनसक्छ ? अध्यात्म शास्त्रमा हैन भावमा हुन्छ । लाटोलाई पनि चिनीको स्वाद थाहा हुन्छ । नीति नियम, शिक्षा समाजको पिछडिएको व्यक्तिलाई लक्षित गरिन्छ । कक्षाको सवैभन्दा नजान्नेलाई लक्षित गरी पढाइएको शिक्षा सार्थक हुन्छ ।

 

कक्षाको उत्कृष्ट छात्रलाई लक्षित गरिएको शिक्षाले शिक्षक पनि सफल हु“दैन । जिन्दगी लिकमा गुडेको रेल र सडकमा गुडेको गाडीजस्तो गुड्दैन । जसरी खोलाको पानीका लागि बाटो खनिएको हुँदैन, त्यसरी नै जिन्दगीको बाटो पनि अनिश्चित हुन्छ । मन सफा सेतो कपडाजस्तै हो । यसलाई जुन रंगमा डुबाइदियो, त्यसमा त्यही रंग चढ्छ । मानिसले पन्छी जसरी आरामले उड्न सिक्यो । माछासरह पानीमा पौड्न जान्यो । तर मान्छे जसरी पृथ्वीमा रहन भने अझै जानेन ।

[email protected]