कर्पोरेट

साझाले इटिकेटिङ शुरु गर्दै, यात्रुका लागि टिकट अनिवार्य

सोमबार, २१ फागुन २०७४ गते प्रकाशित
- नेपाल आज (NP)

साझाले इटिकेटिङ शुरु गर्दै, यात्रुका लागि टिकट अनिवार्य

 

ललितपुर । साझा यातायातले आफ्ना यात्रुका लागि टिकट अनिवार्य लिनुपर्ने नियम बनाउने भएको छ । 

टिकट नलिने यात्रु र नदिने कर्मचारीलाई कारवाही गर्ने तयारी गरिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । साझा यातायातमा चढ्दा कतिपय यात्रुले टिकट बेवास्ता गरेकाले टिकट नलिने/नदिनेलाई कारवाहीको व्यवस्था गर्न लागिएको हो । “यात्रुले टिकट लिन गाह्रो मान्ने गरेका छन्”, उनी भन्छन्, “यात्रुमा टिकट लिएर मात्र यात्रा गर्नुपर्छ भन्ने धारणा भइसकेको छैन ।” 

यात्रुले टिकट नलिँदा चुहावटको सम्भावना रहने पाण्डेय बताए । “टिकट नलिँदा र नदिँदा यात्रुले भाडा नै तिरे/नतिरेको थाहा हुँदैन । टिकट नलिएको भाडा कार्यालयसम्म नआउन सक्छ”, उनकाे भने, “भाडा तिरेपछि टिकट लिनु यात्रु र साझा यातायात दुवैका लागि राम्रो हो । पैसा तिरेपछि रसिद माग्नु यात्रुको अधिकार हो ।” 

काठमाडौँ महानगरपालिकाले रु पाँच करोड र ललितपुर महानगरपालिकाले रु एक करोडको साझा यातायातको शेयर किनेका छन् । यी दुवै महानगरपालिकासँग मिलेर नीति निर्माण हुने पाण्डेय बताउनुहुन्छ । दुई महानगरपालिकासहित अरु सरकारी निकाय गरेर ९७ प्रतिशत सरकारी लगानीमा साझा यातायात सञ्चालनमा छ । साझा यातायातले नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमसँगको सहकार्यमा विद्युतीय टिकट प्रणाली (इटिकेटिङ) समेत शुरु गर्ने तयारी गरेको छ ।