समाचार

अर्थ

शेयर

अर्थमन्त्रीको यस्ताे अभिव्यक्तिले अत्तालिए लगानीकर्ता, नेप्से साढे घट्यो ४१ अंकले

आइतबार, २० फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

अर्थमन्त्रीको यस्ताे अभिव्यक्तिले अत्तालिए लगानीकर्ता, नेप्से साढे घट्यो ४१ अंकले

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । पछिल्लो पल्ट शेयर बजार खुलेको दिन गत बुधबार १८ दशमलव ८२ अंकले घटेको नेप्से आइतबार भने ४१ दशमलव ५६ अंकले घटेर १३ सय ४ दशमलव ४३ अंकमा पुगेको छ ।

 


२ बजेतिर शेयर बजार १३ सयको बिन्दुबाट पनि तल झरेर १२ सय ९१ मा पुगेको थियो । तर बजार बन्द हुने बेलामा भने १३ सयमाथि उक्लिएको हो । १ सय ५१ वटा कम्पनीको शेयर किनबेच भएको दिन आज २ वटा कम्पनी बाहेक अरु सबै कम्पनीको शेयरको मुल्य घटेपछि नेप्से परिसुचक घटेको हो । सूर्योदय लघुवित्त संस्थाको शेयर मुल्य ४ प्रतिशत र स्वदेशी लघुवित्तको शेयर मुल्य २ प्रतिशत बढेको छ ।

 


गत बुधबारको तुलनामा आइतबार कारोबार रकम पनि ६ करोडले घटेको छ । आइतबार ४८ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आइतबार हिमालयन डिस्टिलरी र बिशाल बजार कम्पनीका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् ।

 


अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै अनुत्पादक क्षेत्रको लगानीलाई सरकारले नियन्त्रण गर्ने अभिव्यक्ति दिएपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको हो । नयाँ अर्थमन्त्री बनेपछि शेयर बजार सुधारका कार्यक्रम आउने अपेक्षा गरेका लगानीकर्ताले अर्थमन्त्रीको अभिव्यक्तिपछि शेयर बेच्न लागेपछि बजार घटेको हो । माग र आपूर्तिले असर गर्ने शेयर बजारमा किन्नेभन्दा बेच्ने लगानीकर्ता धेरै भएपछि शेयरको मुल्य घट्ने गर्छ ।

 


पछिल्ला दिनदेखि घटिरहेको शेयर बजारलाई तल झार्न अर्थमन्त्रीको अभिव्यक्तिले पनि काम गरेको विश्लेषकहरुको बुझाई छ । यसअघि २०६५ सालमा तत्कालीन अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले शेयर बजारलाई जुवा घर भनेपछि नेप्से परिसुचक ११ सय ७५ बाट घटेर २ सय ९२ मा पुगेको थियो ।

 


कुनै पनि मन्त्री वा नेताको भाषणलाई सुनेर नभई दीर्घकालिन रुपमा नाफामा जान सक्ने कम्पनीको शेयरमा लगानी गर्ने हो भने प्रतिफल पाउन सकिने विश्लेषकहरुले बताउँदै आएका छन् ।