बिचार

नेपालमा मानिसको 'भिजन' हैन, 'पोर्नस्टार' सन्नी लियोनको अर्धनग्न 'जवानी' बिक्छ

सर्वहारा शासन, गरिबको सत्ता र जनवाद पण्डित र धामीका मन्त्र जस्तै हुन्

शनिबार, १९ फागुन २०७४ गते प्रकाशित
- संकेत कोइराला

नेपालमा मानिसको 'भिजन' हैन, 'पोर्नस्टार' सन्नी लियोनको अर्धनग्न 'जवानी' बिक्छ

  • संकेत काेइराला

भँगेराले धान खाएर उत्पादन कम भएको कारण देखाई १८ मे १९५८ मा माओले ५ वर्षमाथिका सबैलाई देशभरबाट भँगेरा मारेर उन्मुलन गर्न उर्दी लगाए । माओको आदेश कसले उल्लंघन गर्ने ? आखिर सबै भँगेराको सत्यानास गरियो । किरा मार्ने भँगेरा नै नभएपछि त्यही वर्ष धानको उत्पादन स्वात्तै घट्यो ।


ऐतिहासिक निर्णयको कारण धान उत्पादन बढेको देखाएर आफूलाई सर्वज्ञानी प्रमाणित गर्ने योजना बोकेका माओको दिमागले किरा लाग्नुको कारण पत्ता लगाउन नसकेपछि रसियाबाट वैज्ञानिक झिकाइयो ।

 

वैज्ञानिकहरुले किरा मार्ने चरा मारिएका कारण धानको उत्पादन सखाप भएको तथ्य बाहिर ल्याएपछि माओको घैंटोमा घाम लाग्यो । त्यसपछि त गोप्य रुपमा रसियाबाट भँगेरा आयात थालियो । अचम्म त के भने माओको मृत्यु नहुन्जेल जनतालाई भँगेरा हानिकारक नभएको जानकारी दिइएन । माओको निर्णय गलत थियो भन्नु भनेको भगवानको सृष्टिमा खोट छ भन्नु जतिक्कै अपराध थियो ।

 

नेपालीको हालत पनि त्यस्तै छ । संघीयता नामको नौटंकी विरुद्ध बोल्यो कि जिब्रो काटिने भयले कुण्ठा पाल्नेको संख्या लाखौं छ । जताततै लथालिंग, भताभुङ्ग छ । सबैलाई चाहिएको छ तर के चाहिएको कसैलाई थाहा छैन । निर्धन त निर्धन नै भए, धनीमानीहरुमा पनि उत्तिक्कै चिडचिडाहट छ । चुनावमा हारेकाहरु हार मान्दैनन् । जितेकाहरुमा काम गर्ने अदम्य साहस छैन । सबै गुनासोको पहाड चुल्याएर बसेका छन् ।

 

बेथिति छ, स्वामित्व लिने कोही छैन । विकास ठेकेदारको हातमा छ । नियम कानुन अपराधी अनुकूल छन् । राजनीति अपराधको जगमा उभिएको छ । एउटाले बोलेको सत्य अर्कोलाई पच्दैन । आलु कोक्याउँछ, आलु चिप्स आकर्षक मेनु बन्छ । आमा सम्बन्ध बिझाउँछ, मामुले नजिक्याउँछ । खाए मकै, नखाए भोकैहरुको जिब्रो एकाएक पपकनमा अभ्यस्त हुन थालेको छ । यी सबै दृश्य हेर्दा लाग्छ– तिर्खा मेटाउने पानी आफैँ प्याकप्याक परेर बसेको छ ।

 

३ करोड जनसंख्या, एउटा रात्रिबसले एकरातमा पुरै छिचोल्ने भूगोल भएको देशमा एउटा दल चलाउन जम्बो केन्द्रीय कमिटी, लाखौं सरकारी फौज,७० हजार कर्मचारी, सिंहदरबारदेखि ब्रम्हनालसम्म लाखौं झण्डे अखडामा लाखौं मानिसको तलबी संलग्नता छ । जंगलका जनावर र घरपालुवा पशुपन्छी अपवाद छोडेर बाँकी सबैलाई राजनीतिक दलको दास बनाइएको छ । यदि हावा किनेर बाँच्नुपर्ने भएको भए यो देशमा झण्डा र जीवन एउटा रोज्नुपर्ने हुन्थ्यो ।

 

देशका हरेक तह तप्काका मानिसमा व्यस्तता छ । प्रधानमन्त्री हेर्नुस् भालेको डाँकदेखि नै साइरन गाडी अघिपछि लगाएर कुदेका कुदै छन् । मन्त्रिपरिषद्को बैठक अनगिन्ती बस्छ । मन्त्रीहरु चारैतिर दौडाहामा छन् । अहिले अमिबासरिका हजारौं जनप्रतिनिधिलाई भ्याइनभ्याइ छ । बैठकमाथि बैठक हेर्दा लाग्छ– कोही कसैलाई सास फेर्ने फुर्सद छैन । मन्त्रालयका मुख्यसचिवदेखि सचिवहरु बिहानदेखि बेलुकासम्म विभागीय प्रमुखहरुको भेला गरेर गाँठो फुकाउन व्यस्त छन् । हिमालमा यत्ति भेटिएला तर तिनलाई मन्त्रालयमा भेट्नुभयो भने त्यसदिन आफ्नो भाग्यलाई सलाम ठोके हुन्छ ।

 

फौजका प्रमुख जर्नेलहरुको बैठकमा रातदिन शान्तिसुरक्षा पेचिलो बनाउन लागेकै छन् । दलका माथिदेखि गाउँ इकाइसम्मका नेतालाई नयाँ नेपालको सपनाबाट ब्यूँझिने एकछिन फुर्सद छैन । केन्द्रमा यसखाले पानी परेपछि त प्रदेश, क्षेत्र, जिल्लाले त सक्कलबमाेजिम नक्कलअनुसारको छाता ओढ्न परिहाल्यो । मुख्यमन्त्री, उपमुख्यमन्त्री, मन्त्री, प्रदेश प्रमुख, सभामुख मुख्यसचिव, सचिव, सेना प्रहरीका प्रमुखहरुजस्ता ठूला मानिसको प्रवेशले राजधानीबाहिर आकर्षण हैन, आतंक थपेको छ । अदालत, अख्तियार, वित्त व्यवस्थापन हेर्ने निकायको भूमिकाको विषयमा बोल्नु त व्यर्थ भइहाल्यो ।

 

सञ्चारक्षेत्रमा सूचनाको भल बाढी त कुरै गर्नु परेन, युधिष्ठिरलाई जस्तै इच्छा मरणको उपहार समाचार शिल्पीहरुबाट प्राप्त हुनेछ । कुर्सीमा बसेका त व्यस्त भए नै, भूतपूर्वहरुमा पनि माटोसँगको उभार यसरी आयो कि उनीहरु पनि भूमिका खोज्न तल्लिन छन् । दर्जनौं पूर्व भीभीआईपी, हजारमाथि पूर्वमन्त्री, निजामती, जंगी, न्यायका पूर्व बर्दीधारीसमेत जुँगाअनुसारको भाग खोज्न लालायित देखिन्छन् । यायाति ऋषि यति विलासी थिए, आफ्नो छोरा पुरुको जवानी पैंचो लिएर भोगविलासमा आफूलाई रित्याए । यायातिलाई टक्कर दिने पुस्ता अझ उम्दा भएर उपस्थित छ ।

 

मस्त सुतेका नेपोलियनले युद्धको त्यत्रो जहाज हाँक्न सक्छन् भने चौबीसै घण्टा जाँगरिला देखिने लाखौं नेपालीले यति सानो भूगोल र एक गाउँ अटाउने परिवार भएको देश किन व्यवस्थापन गर्न नसकेका हौंला ? सडकमा हेर्नुस– एम्बुलेन्स जत्तिक्कै शवबाहनलाई हतारो छ । राजनीतिका नाममा जन्ती र मलामी हिँड्न अलग अलग बाटो खोज्ने प्रतिस्पर्धा छ । कसैलाई झुन्ड्याउन ठिक पार्नुस्, छिचोली नसक्नु मानिसको भीड लाग्छ ।

 


फूलमाला, खादा, अभिनन्दनको कुरै छाडौं, आधा क्वीन्टलको माला धारण नगर्ने कुन ठूलो मान्छे होला ? कुर्सी पाएका मानिसको आधा कार्यकाल खादा, माला र अविर लगाएरै सकिन्छ । नेपालमा पहिला पहिला मानिसहरु पशुपन्छी चराएर दूध, अन्न, फलफूल उब्जाउँथे । बाउबाट छोराले सुनसरी फल्ने नासो स्वरुप सुन्तलाको बगैंचा र टारीखेत उपहार पाउँथ्यो । अहिले मान्छेले भैंसी हैन, मान्छे चराउँछ । मान्छे जब मान्छे चराउन पल्किन्छ, उ अरु भाव हराउँछ ।

 

एम्बुस थापेर मान्छे ढाल्नमा जस्तो आनन्द र आम्दानीको रस उसले केहीमा भेट्दैन । यही प्रतापले नै त अमेरिकामा बसेको नेपाली अमेरिकीसँग हैन आफ्नै वंशसँग डराउँछ । अरबी मालिकको जासुस भएर नेपालीले नेपालीकै घर खरानी बनाउँछ । भलिभाँती नेपाली नारीको संस्कार र अनुशासन बुझेकी केटी डिपेन्डेन्ट भिसामा लगिएको केटालाई विदेशी भूमिमा अलपत्र पार्छे । शास्त्रले व्यापार उत्तम, खेती मध्यम र नोकरीलाई अधम परिभाषित गरे पनि कलियुगमा भने पेशा जुनसुकै होस न, ठगी किस्मतको सूचीमा बढुवा भएको छ ।

 

सम्भवतः यही प्रवृत्ति सलहझैं बढेका कारण कुअन्न मानिने कोदो, फापर, दाँत कोट्याउने बाँसको सिन्को समेत बाहिरबाट भित्र्याउनुपर्ने अवस्था आइपरेको हुनुपर्छ । महात्मा गान्धी, नेल्शन मण्डेला, देड सियाओ पिङ, मुहम्मद महाथिर, बिल गेट्स, मार्क जुकरवर्ग, डोनाल्ड ट्रम्प प्रकृतिले दिएको त्यही चौबीस घण्टा उपयोग गरेर पूज्य हुँदा हामी समयको कुन ‘सुपर मुन’ कुर्दैछौं ? जसका घरमा अन्न छैन, उसैलाई बढी भोक लाग्छ रे ! समयले देश बनाउने होइन । मानिसले सुकर्मको रंग छर्‍याे भने समय आफैँ इन्द्रेणी बनेर उपस्थित हुने हो ।

 

हलेदो रोपेर, उखुको अपेक्षा गरियो भने त्यो आफूमाथिको अन्तरघात हो । ईश्वरको संरचनामा कतै खोट छैन । मन्दिर, चर्च, मस्जिदलाई रोमनमा उल्था गरेर हेर्नुस्, सबै ६ वटा अंग्रेजी अक्षरले बनेका छन् । गीता, बाइबल, चर्च अनुवाद गर्नुस्, अक्षरका पाँच गेडा पाउनु हुनेछ । डाक्टरहरु कलपूर्जा सफा गरेजस्तै गरी मानव शरीरको शल्यक्रिया गर्छन् । विभिन्न रोगको नाममा उब्जिएका ट्यूमर काटेर मिल्काउँछन् । मस्तिष्क, मुटु, फोक्सो, मृगौलाका जटिल उपचार गर्छन् ।

 

खै, तिनीहरुले मानिसभित्रको लोभ,र्इर्ष्या, रिस, प्रतिशोधचाहिँ किन मिल्काउन नसकेका होलान् ? ती वस्तु हुन्छनचाहिँ कहाँ ? यी वस्तु मिल्कायो भने डाक्टरको व्यापार ओइल्याउने भएर पो हो कि त्यसको निदान नभएको ? अब बेथितिको उपचार शल्यक्रियाबाट खोज्नुपर्ने अवस्था आएको छ । हामी पछि परेको नजानेर, नबुझेर, नदेखेर नभई नियत नै खोटो भएर हो ।

 

नेपालमा मानिसको भिजन हैन, पोर्नस्टार सन्नी लियोनको अर्धनग्न जवानी बिक्छ । बब मार्लिनको लट्टे कपाल बिक्छ । राखी सावन्तको छिल्लिएको मादक नखरा विक्छ । अझ विश्वबाट काम नलाग्ने भनी मिल्काइएको माओ डक्टिन भित्तामा पुर्‍याइँदा पनि अझै टालाटुली बटुलीका शैलीमा तानतुन पारेर राजनीतिक भोटो सिउने प्रयास गरिन्छ । विकास वादले नभई इच्छाशक्तिले हुन्छ भन्ने नर्सरी बालकले बुझेको सत्य तिनका हजुरबा पुस्ताको मथिंगलमा पसेको छैन् । जीवनको पूर्वाद्धलाई उपेक्षा गरियो भने  उत्तरार्द्धमा पुगेर बुझेको सत्य काम लाग्दैन् ।

 

भूपि शेरचनको कविताले अरुलाई मिठास दियो । तर जीवनको  उत्तरार्द्धमा उनले निष्कर्ष निकाले– आफूलाई दुईवटा क ले बिगारे । जसको अर्थ थियो– कविता र कम्युनिष्ट । जीवनभर नास्तिकवादमा कलम चलाउने लक्ष्मीप्रसाद देवकोटाले ब्रम्हनालमा पुगेपछि भने– ‘आखिर श्रीकृष्ण रहेछ एक ।’ विश्व राजनीतिमा निरंकुशताको सजीव पात्र संझिइने हिटलर कालिदासको शाकुन्तल महाकाव्यका प्रशंसक मात्र भएनन्, आर्य संस्कृतिको प्रतिरक्षा गरे ।

 

त्यसैले राजनीतिका नाममा मनमा एकथोक, बोलाइ अर्को र गराइ तेस्रो खाले संस्कृति नत्यागेसम्म हाम्रा लागि राजनीति सेवा हैन, धोकाको अर्को नाम हुने निश्चित छ । राजनीतिका महारथी कुम्भमेलामा हराएको बालकजस्तै जो अगाडि देखापर्छ उसकै हात समाउने अवस्थामा पुग्नुको परिणाम पनि यही नै हो । बुद्ध, एरिस्टोटल प्लेटो कसैको वाद थिएन, समूह थिएन, झण्डा थिएन ।

 

तर विचारका लागि सधैं सधैं बाँचेका छन् । पूज्य छन् । धृतराष्ट्रले दुर्योधनको दुर्गुण, अहंकार र स्वार्थबारे पूर्ण जानकारी राख्दा राख्दै पनि मोह त्याग्न नसक्दा महाभारतको युद्ध भई सुखद् सपना दुखद् घटनामा अवसान भयो । महाभारत सकिए पनि आखिर आँसुको कथा सकिएन् । पाण्डवहरु जितेर पनि हारे । राजनीतिमा नैतिक बल गुमेपछि नेताको अवस्था भनेको रोबर्ट मान्छेको बचाई मात्र हो । सर्वहाराको शासन, गरिबको सत्ता, जनवाद यी सबै पण्डित र धामीका मन्त्रजस्तै हुन् ।

sanketkoira[email protected]