राजनीति

भिडियो

कुरा: खस्रा मिठा

कभर स्टोरी

अरुणकुमारको सुझावः उत्तरकोरिया र अमेरिकाबाट नेपालले के सिक्ने ? (भिडियो)

प्राकृतिक स्रोधसाधनकै कारण नेपाललाई यस्तो खतरा !

बिहिबार, ०१ चैत २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

अरुणकुमारको सुझावः उत्तरकोरिया र अमेरिकाबाट नेपालले के सिक्ने ? (भिडियो)

काठमाडौं । लामो वाकयुद्धमा रहेका अमेरिका र उत्तर कोरियाबीच अनौठो तरिकाले वार्ताको तयारी भइरहेको छ । यसका लागि हालै मात्र उत्तर कोरियाली प्रतिनिधि अमेरिका नै पुगे ।

 

अमेरिकाको सकारात्मक जवाफ आएपछि वार्ताको वातावरण थप सहज बन्ने देखिएको छ । त्यसो त, उत्तर कोरियाको छिमेकी मित्रराष्ट्र चीनले यसको लागि सहजीकरण गर्ने संकेत पहिलेदेखि नै देखाएको हो ।

 

रहस्यमयी मुलुक उत्तर कोरियासँग अमेरिकाको वार्ता भयो भने पक्कै पनि विश्वका धेरै मुलुकका लागि अचम्म लाग्नेछ । र त्यसको लाभ चीनले समेत पाउने पक्का छ ।

 

राजनीतिक विश्लेषक तथा लेखक अरुणकुमार सुवेदीको नियमित भिडियो ब्लग ‘कुरा खस्रा मिठा’ यही विषयमा केन्द्रित छ । सुवेदीले नेपालआजसँग दिएको अन्तरवार्ताको क्रममा उत्तर कोरिया र अमेरिकाबीच वार्तासँगै चीनको स्वार्थ जोडिएको बताएका छन् ।

 

चीनकै पहल

उत्तर कोरियाको छिमेकी मित्रराष्ट्र चीन विश्वभर शक्तिशाली मुलुक बन्ने तयारीमा छ । अमेरिकासँग उसले पक्कै पनि आर्थिक सम्झौतासँगै प्रतिष्पर्धा गर्नुपर्ने छ । कुनै बेला युद्धको संकेत दिइरहेका अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध बिग्रिनु भनेको चीनको आर्थिक उन्नतिमा ठूलो धक्का भएको ठान्छन् विश्लेषक सुवेदी ।

 

त्यसो त, पहिलेदेखि नै उत्तर कोरिया र अमेरिकाबीच वार्ताको पहल चीनले नै गर्दैआएको उनले बताए । चीनले अमेरिकालाई रिझाएरै उत्तर कोरियासँग समझदारी गरेको अवस्थामा त्यो तीनै मुलुकका लागि लाभदायक हुने सुवेदीले बताए ।

 

यूरेनियममा अमेरिकी आँखा

दुई विश्वशक्ति चीन र अमेरिका आर्थिक उन्नति सँगै प्राकृतिक स्रोतसाधनको भरपूर प्रयोग गर्न पनि होडवाजी गरिरहेको बताउँछन् सुवेदी । जसरी सिरियामा युद्ध भयो त्यसै गरी उत्तर कोरियामा पनि अन्ततः युद्ध हुनसक्ने संकेत उनले दिएका छन् ।

 

उत्तर कोरियामा भएको यूरेरियमकै कारण त्यसमाथि चीन र अमेरिकाको आँखा परेको सुवेदीको तर्क छ । तत्कालका लागि चीन र अमेरिकाबीच आर्थिक सम्झौताहरु भए पनि अन्ततः उत्तर कोरियामाथि नजिकिनुको कारण प्राकृतिक स्रोतसाधन नै भएको उनले बताए ।

 

नेपालले के सिक्ने ?

नेपालका विभिन्न स्थानमा यूरेनियम भेटिएको भन्दै सरकारले नै सार्वजनिक गरेको थियो । तर यसरी ‘हल्ला’ गर्नु सरकारको अपरिपक्वता भएको ठान्छन् सुवेदी । नेपालमा रहेका स्रोतसाधनलाई पहिचान, संरक्षण र प्रयोग गर्न सक्नु नै हाम्रो बुद्धिमानी भएको उनले बताए ।

 

सिरिया लगायत मुलुकका उदाहरण दिँदै कुनै पनि मुलुकमा भएका स्रोधसाधनको प्रयोगकै कारण युद्ध हुनसक्ने उनले बताए । जसले गर्दा नेपाल जस्ता मुलुक भने चनाखो रहेर रहनुपर्ने उनको सुझाव छ ।

 

त्यसो त नेपालबाटै पानी युद्ध सुरु हुन्छ कि ? भन्ने जिज्ञासामा उनले त्यसको सम्भावना नभए पनि अन्य स्रोतसाधन उपभोगको विषयलाई लिएर जुनसुकै बेला शक्तिशाली मुलुकले आँखा लगाउनसक्ने खतरा उनले औंल्याए ।