राजनीति

राष्ट्रपतिमा दोस्रो इनिङ् सुरू गर्ने विद्यादेवी भण्डारी

मङ्गलबार, २९ फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

राष्ट्रपतिमा दोस्रो इनिङ् सुरू गर्ने विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपतिमा विद्यादेवी भण्डारी विजयी भएकी छन्। मंगलबार भएको राष्ट्रपति निर्वाचनमा विजयी भण्डारीको पक्षमा संघीय संसदको १९ हजार ३५५ मतभार परेको थियो। त्यस्तै उनको पक्षमा प्रदेशबाट १९ हजार ९२० मतभार परेको थियो।

 

समग्रमा भण्डारीलाई ३९ हजार २७५ मतभार प्राप्त भयो र राष्ट्रपतिमा निर्वाचित भइन्। उनी निर्वाचित भएको राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले घोषणा गरेका हुन्। भण्डारीकी प्रतिस्पर्धी नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनेकी कुमारी लक्ष्मी राईको पक्षमा संघीय संसदको ६ हजार १६२ मतभार परेको थियो भने प्रदेशबाट ५ हजार ५६८ मतभार पर्‍यो।

 

उनको पक्षमा कूल ११ हजर ७३० मतभार परेको थियो। श्रेष्ठले राष्ट्रपति निर्वाचनको मतपरिणाम आजै निर्वाचन आयोगलाई बुझाउने जानकारी दिए। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा अपरान्ह ४ बजेबाट मतगणना सुरु भएर डेढ घण्टाभित्र नै मतपरिणाम आएको हो।

 

सपथ भोलि ४ बजे

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिने भएकी छन् । सपथको समय बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने प्रचलन छ ।

 

यस्तो छ भण्डारीको विगत

आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेकी सुपुत्रीका रूपमा २०१८ असार ५ गते भोजपुरमा जन्मिएकी भण्डारी २०३७ सालमा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरको स्ववियु कोषाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनले वि. सं. २०३९ मा तत्कालीन नेकपा मालेका नेता मदन भण्डारीसित भूमिगत रूपमा विवाह गरेकी थिइन्।

 

विद्याका पति मदन भण्डारीको २०५० जेठ ३ मा रहस्यमय दासढुंगा जीप दुर्घटनामा मृत्यु भएको थियो। त्यसपछि विद्या राजनीतिमा पुनः सक्रिय भइन्। मदन भण्डारीको निधनपछि रिक्त काठमाडौं क्षेत्र नम्बर- १ मा २०५० सालमै भएको उपनिर्वाचनमा विद्याले सत्तारुढ नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरिन्। पटक पटक मन्त्री हुने मौका पाएकी विद्यालाई विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले वर्ष २०१६ का शक्तिशाली महिलाहरूमध्ये ५२औँ स्थानमा सूचीकृत गरेको थियो।

 

आइएसम्मको अध्ययन भोजपुर क्याम्पसमा गरेकी विद्या वि. सं. २०३५ देखि नेकपा मालेको युवा लिगमा संगठित भएर राजनीतिक जीवनको थालनी गरेकी थिइन्। उनले वि. सं. २०५४ मा नेपालगन्जमा भएको एमालेको छैटौँ महाधिवेशनपपछि एमालेको केन्द्रीय तहमा आएकी भण्डारीले करिब दुई दशकदेखि पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष रहेर काम गरिन्।

 

२०६५ सालमा बुटवलमा भएको आठौँ र २०७२ मा काठमाडौंमा भएको नवौँ महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। महिला बालबालिका तथा समाज कल्याणमन्त्री बनेकी विद्याले रक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हालेकी थिइन्।

 

भण्डारीका चुनौती?

राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पछिल्लो समय निष्पक्ष रहेर काम नगरेको आरोप लागेको छ। खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा मनोनीतका लागि सिफारिस गरेका तीन जनाको नाम स्वीकृत नगरेपछि राष्ट्रपति एकपक्षीय भएको भनेर नेपाली कांग्रेसले संसदमा समेत कुरा उठायो। यस्तो अवस्थामा दोस्रो पटक राष्ट्रपति निर्वाचित भएकी भण्डारीका आगामी चुनौती के हुन सक्छन्?


यसरी भएको थियो मदनसँग विवाह

पार्टीका सहकर्मी नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा पहिलो पटक मदन भण्डारी र विद्यादेवीको भेट भोजपुरमा भएको थियो। केही समयपछि विद्या उच्च शिक्षा अध्ययनका लागि विराटनगर झरिन्। तत्कालीन समयमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस राजनीतिको एउटा केन्द्र थियो। मदन भण्डारी भूमिगत राजनीति गर्थे।

 

त्यही भूमिगत राजनीतिकै सिलसिलामा विद्या र मदनबीचको प्रेम गहिरिएको थियो। कठोर भूमिगतकालमै विद्या र मदनले वि. सं. २०३९ मा वैवाहिक जीवन सुरु गरे। बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको सुरुवात गरेकी विद्याले विद्योदय व्यावसायिक सेकेन्डरी स्कुल, भोजपुरबाटै प्रवेशिका उत्तीर्ण गरेकी थिइन्।

 

भोजपुर क्याम्पस, भोजपुरबाट आइएसम्मको अध्ययन पूरा गरी महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा विद्याले बीएसम्म अध्ययन गरेकी उनले। मदन र विद्याका दुई छोरी उषाकिरण र निशाकुसुम छन्। मदन भण्डारीको निधनपछि दुई छोरीको जिम्मेवारीसँगै राजनीतिमा सक्रिय रहेकी विद्या वाम गठबन्धनको समर्थनमा यस पटक दोस्रो पटक राष्ट्रपति बनेकी हुन्।