विदेश

मुख्य समाचार

चीनको पहलमा उत्तर कोरिया–अमेरिका वार्ताको तयारी

चीनले अमेरिका र उत्तर कोरियाको वार्ता आयोजना गर्न तयार रहेको संकेत दियो

मङ्गलबार, २९ फागुन २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

चीनको पहलमा उत्तर कोरिया–अमेरिका वार्ताको तयारी

काठमाडौं । लामो समयदेखि तिक्तता साँधिरहेका उत्तर कोरिया र अमेरिकाबीच वार्ताको सम्भावना बढेको छ । जसलाई विश्वले नै चासोको साथ हेरिरहेको छ ।

 

उत्तर कोरियाले निरन्तर परमाणु बम परिक्ष्ण गर्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका अभिव्यक्ति युद्धउन्मुख नै थिए । ट्रम्पका आक्रामक भाषणको जवाफ उत्तर कोरियाली नेता किम जोन उनले झन चर्को रुपमा दिँदैआएका थिए ।

 

केही सातायता भने यी दुई देशबीचको राजनीतिक द्धन्द्ध बदलिने वातावरण देखिएको छ । उत्तर कोरियाली नेता किमले आफ्ना विशेष दूतलाई अमेरिका पठाएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताको संकेत दिएका छन् ।

 

ट्रम्पले उत्तर कोरियासँग अमेरिका वार्ताको लागि तयार रहेको भनी सार्वजनिक रुपमै भनिसके । उत्तर कोरियाले जवाफ नदिए पनि वार्ताको लागि वातावरण बनाउनकै लागि किमले आफ्ना प्रतिनिधि अमेरिका पठाएका हुन् ।

 

अहिलेसम्मको अवस्थालाई नियाल्दा वाकयुद्धमा रहेका दुई मुलुक वार्ताको लागि तयार छन् । समय र स्थान भने टुंगो लागेको छैन ।

 

चीनकाे पहल
मित्रराष्ट्रको रुपमा उत्तर कोरियालाई सघाउँदैआएको विश्वशक्ति चीनले दुई देशको वार्ताको लागि शिखर सम्मेलन गर्न आफू तयार रहेको संकेत दिइसकेको छ ।

 

त्यसो त, लामो समयदेखि दुश्मनी साँध्दैआएका उत्तर कोरिया र अमेरिका अचानक वार्तामा बस्न तयार रहनुको पछाडि चीनकै हात हुनसक्ने केही विश्लेषकको अनुमान छ ।

 

अमेरिकी केही राजनीतिक विश्लेषकका अनुसार चीनले आफ्नो आर्थिक उन्नतीका लागि पनि अमेरिका र उत्तर कोरिया दुबै देशलाई रिझाउन लागिपरेको छ ।

 

आर्थिक रुपमा विश्वकै शक्तिशाली बन्न प्रयासरत चीन पछिल्लो समय अमेरिकासँग पनि विभिन्न आर्थिक सम्झौता गरेको छ । यस्तो अवस्थामा उत्तर कोरिया र अमेरिका आमने–सामने भए भने चीनका लागि प्रतिउत्पादक हुनसक्ने टिप्पणी हुँदैआएको थियो ।

 

यही कारण पनि उत्तर कोरिया र अमेरिकालाई मिलाउन चीनले पहल गरेको विश्लेषण हुन थालेको छ ।