स्वास्थ्य

घरमै सुत्केरी गराइए जन्मदर्ता नदिइने

सोमबार, २८ फागुन २०७४ गते प्रकाशित
- Dhiraj Devkota

घरमै सुत्केरी गराइए जन्मदर्ता नदिइने

असुरक्षित रुपमा घरमा नै सुत्केरी हुने क्रमको अन्त्य गर्न सल्यानमा अभियान सञ्चालन हुने भएको छ ।

 

सल्यानको साविकको कोटबारा गाविसबाट उक्त अभियानको सुरुवात गरिएको हो । क्षेत्रका धेरैजसो महिलाहरु सुत्केरी हुन स्वास्थ्य चौकीमा नआउने गरेकोले आउँदो २ वर्षभित्र कोटबाराका महिलाहरुको घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झारिने भएको हो ।

घरमा नै सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले यस दरलाई आउँदो २ वर्ष भित्रमा शून्यमा झारिने लक्ष्य लिइएको छ । करिब ३५ प्रतिशत महिलाहरु मात्रै स्वास्थ्य संस्थामा सुत्केरी गराउन जाने गरेका कोटबारा स्वास्थ्य चौकीका इन्चार्ज टेकबहादुर रावतले बताए।

‘अहिले यहाँका धेरै महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने थाहा हुदाँहुँदै पनि घरमै हुने गरेका छन् । कतिपय महिला बीच बाटोमै सुत्केरी हुने गरेका छन’, रावतले भने, ‘बीच बाटोमा सुत्केरी भएमा सुत्केरी आमा र बच्चालाई घरमा होइन, स्वास्थ्य संस्थ्यामा ल्याउन सचेतना जगाउनुपर्ने भएको छ ।’

इन्चार्ज रावतले आउँदो २ वर्ष भित्रमा कोटबाराले घरमा सुत्केरी हुने दर शून्यमा झार्ने लक्ष्य लिइएको जानकारी दिए । यस अभियानलाई सफल बनाउन स्थानीय निकाय पनि लागिपर्ने भएको छ । बच्चाहरुको जन्मदर्ता बनाउन त्यो बच्चा स्वास्थ्य संस्थामा नै जन्मिएको प्रमाण भएमा मात्रै जन्मदर्ता गरिने बागचौर नगरपालिका–७, का वडाध्यक्ष शेरबहादुर घर्तीले जानकारी दिए । 

‘हामीले घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्ने लक्ष्यका साथ यस्तो योजना ल्याएका छौं’, वडा अध्यक्ष घर्तीले भने, ‘यदि कोही महिला जानी–जानी घरमा नै सुत्केरी भएको पाइए वडा कार्यालयले बच्चाको जन्मदर्ता नगरी दिन सक्छ ।’

उनले सुत्केरी आमा र बच्चामा देखापर्ने सम्भावित खतराबाट बचाउन यस्तो काम गर्न लागेको जानकारी दिए।