अर्थ

रसुवामा निर्माणाधिन जलविद्युत आयोजनाकाे ७० प्रतिशत काम पूरा

बिहिबार, २५ माघ २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

रसुवामा निर्माणाधिन जलविद्युत आयोजनाकाे ७० प्रतिशत काम पूरा

 

रसुवा। रसुवामा पछिल्लो समय जलविद्युत आयोजना निर्माणले गति लिएको छ । २०६० सालमा चिलिमे जलविद्युत आयोजनाको निर्माण गरेर जलविद्युत उत्पादन सुरु भएको जिल्लामा अहिले एक दर्जन आयोजना निर्माण भइरहेका छन् ।

 

 

विद्युत विकास विभागबाट अनुमति पाएका २६ वटा आयोजनामध्ये १२ वटा आयोजनाले निर्माणको प्रक्रिया सुरु गरेका हुन् । जिल्लाको कालिका, उत्तरगया, पार्वतीकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा आयोजना निर्माण सुरु भएको बताइएको छ । जिल्लाको टिमुरे, चिलिमे, हाकु, सरमथली, स्याफ्रु र भोर्लेमा आयोजना निर्माण सुरु भएको विभागले जनाएको छ ।

 

 

१२ वटा आयोजनामध्ये ६० मेगावटको माथिल्लो त्रिशुली थ्रीए नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको छ । यो आयोजनाको काम करिब ७० प्रतिशत पूरा भएको छ । २०७६ सालसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताए । जोशीका अनुसार हेडवर्क, पानी थिग्राउने पोखरी, टनेल, टेलरेस, पेनस्टक, हेडपोण्ड लगायत स्थानमा काम भैरहेको छ । पावर हाउस बाहिरको पानी छिर्न नदिन ग्राउण्डिङको काम भैरहेको उनको भनाई थियो ।

 

 

जिल्लामा अहिले न्युनतम ५ मेगावटदेखि २१६ मेगावट क्षमताको आयोजना निर्माण भइरहेको छ । नुवाकोट र रसुवाको सीमा क्षेत्रमा निर्माण भइरहेका आयोजना बाहेक जिल्लाभित्रै निर्माण हुन लागेको आयोजनाबाट ५८८.७२ मेगावट विद्युत उत्पादन हुने बताइएको छ ।

 

 

इजाजत लिएर निर्माण प्रक्रिया सुरु गरिसकेका आयोजनामध्ये २१६ मेगावट क्षमताको माथिल्लो त्रिशुली एक , १११ मेगावटको रसुवागढी, ७८ मेगावटको सान्जेन खोला, ६० मेगावटको माथिल्लो त्रिशुली थ्रिए, ४२.५ मेगावटको सान्जेन, २० मेगावटको लाङटाङखोला रहेका छन् ।

 

 

त्यसैगरी १४.८ मेगावटको माथिल्लो सान्जेन, १४.७ मेगावटको फलाखुखोला, १४.३ मेगावटको माथिल्लो मैलुङखोला, ६.४२ मेगावटको माथिल्लो मैलुङ ए, ६ मेगावटको न्यामन्याम र ५ मेगावटको फलाखु खोला रहेका छन् ।

 

 

रसुवागढीको ५५ प्रतिशत, सान्जेनको ५०, माथिल्लो सान्जेनको ६५, माथिल्लो त्रिशुली थ्रिएको ७० प्रतिशत काम सम्पन्न भएको आयोजनाहरुले जनाएका छन् ।

 


माथिल्लो सान्जेन जलविद्युत आयोजनाको हेडवर्कसकोतर्फ ८० प्रतिशत काम सकिएको छ । अहिले बालुवा थिङ्ग्रयाउने र पानी बग्ने क्यानल निर्माणमा काम भइरहेको आयोजनाका प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताए ।

 

माथिल्लो त्रिशुली एक को निर्माण कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनी बीच विद्युत खरिद बिक्री सम्झौता पीपीएमा हस्ताक्षर भएर प्रक्रिया अघि बढेको छ । अन्य आयोजनाले पनि निर्माणका लागि प्रक्रिया अघि बढाएका आयोजनाहरुले जानकारी दिएका छन् ।

 

जिल्लामा अहिले २७ मेगावट क्षमताका दुई वटा जलविद्युत आयोजना सञ्चालनमा रहेका छन् । जिल्लाको स्याफ्रुमा २२ मेगावट क्षमताको चिलिमे जलविद्युत आयोजना र मैलुङमा ५ मेगावट क्षमताको मैलुङ जलविद्युत आयोजना सञ्चालन भइरहेको छ ।