बिचार

राजनीति

कस्तो हुनेछ ५ वर्षपछिको कांग्रेस ?

बिहिबार, २५ माघ २०७४ गते मा प्रकाशित

Singha-Durbar

  • रमन पौडेल


काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो आम निर्वाचनमा देशैभर अनपेक्षित नतिजा पाएपछि कांग्रेस भित्र र बाहिरबाट ब्यापक समीक्षा भयो । खासगरी कांग्रेसनिकटहरुले कांग्रेसको भविष्यबारे चिन्ता प्रकट गरिरहेका छन् । विश्लेषकहरु पनि कांग्रेस सुध्रिनुपर्ने टिप्पणी गर्छन् ।

 

यद्यपि, कांग्रेसको संस्थापन धार भने कांग्रेसको पराजय मान्न तयार छैन । वाम गठबन्धनको जित भएको तर कांग्रेस त आफ्नै लयमा रहेको उनीहरुको चित्तबुझाइ छ । तर यो नितान्त चित्त बुझाउने बाटो मात्रै हो ।

 

कांग्रेसले समानुपातिकतर्फ पाएको मतको मुल्यांकन गर्दै कांग्रेस अझै पनि बलियो रहेको बरु वाम गठबन्धनका कारण गणितीय हिसावले हारेको उनीहरुको तर्क छ ।

 

के त्यस्तै हो त ? कुनै बेला प्रष्ट बहुमत सहित सरकार बनाएको नेपाली कांग्रेसले अहिले प्रतिपक्षमा खुम्चिनुपर्ने भएको छ ।

 

२००७ साल, २०४६ सालको आन्दोलनको नेतृत्व गरेको कांग्रेसको बिगतमा भन्दा अहिले कति मत तल खस्किएको छ ? यसको तथ्यांक हेरे पनि पर्याप्त छ कि, कांग्रेस खुम्चिएको हो वा होइन भनेर बुझ्न ।

 

५ वर्षमा के गर्ला कांग्रेस

कांग्रेस कमजोर भयो वा भएन भन्ने बहस अब जरुरी पनि रहेन । बरु कांग्रेसले आगामी ५ वर्षमा कस्तो आकार र प्रभाव बनाउनेछ भन्ने चाहिँ चासो बनेको छ ।

 

कांग्रेसका युवा नेताहरु चुनावी परिणामपछि नै सुध्रिढिकरण गर्नुपर्छ भनिरहेका छन् । केहीले अर्ली महाधिवेशनको माग गर्दैआएका छन् । पछिल्लो समय तिनै युवा नेताहरुमध्ये नै केहीको बिद्रोही आवाज अति मलिनो भइसकेको छ । अर्थात्, संस्थापनको प्रभावमा परेर उनीहरु पनि मौन बनिसकेका छन् ।

 

युवा नेताहरुको आवाज जतिसुकै चर्को होस्, कांग्रेसमा उनीहरुको आवाजले बहुमत पाउने कुनै लक्षण छैन । महाधिवेशनमै पनि युवा नेताहरुको प्रभाव ह्वात्तै बढ्ने कुनै आधार बनेको देखिँदैन ।

 

यसर्थ फेरि पनि नेपाली कांग्रेसमा संस्थापन पक्षकै बाहुल्य बढ्दो छ । जतिसुकै आलोचना भए पनि कांग्रेसमा ठूलो समूह अझै संस्थापन धारलाई थप बलियो बनाउन अग्रसर देखिन्छ ।

 

सभापति शेरबहादुर देउवाका निकटस्थहरुले सभापतीय प्रणालीको अभ्यास गर्ने बहस सुरु गरेको कुरालाई पनि त्यसको बलियो शंकेत मान्न सकिन्छ ।

 

त्यसो त, सामुहिक नेतृत्व प्रणाली विधि विधानमा भए पनि हरेक निर्णय सभापतिको एकल ‘लहड’ बाटै निर्देशित हुँदैआएका छन् ।

 

इतिसम्म कि, कतिपय अति महत्वपूर्ण निर्णय समेत अरु थुप्रै नेताहरुलाई जानकारी नै हुँदैन । केही युवा नेताले त सार्वजनिक रुपमै र बैठकमा पनि भने कि, ‘पार्टीको निर्णय मिडियाबाट थाहा पाउनुपर्ने अवस्था भयो ।’ कांग्रेसभित्रको यस्तो प्रबृत्तिले आगामी ५ वर्षमा बलियो र प्रभावशाली प्रतिपक्षी बन्नेमा थुप्रै आशंका छन् ।

 

संसदको शौन्दर्य असल प्रतिपक्षी

संसदको शौन्दर्य भनेकै असल र प्रभावशाली प्रतिपक्षी हुनु हो । स्वभाविक रुपमा नेपाली कांग्रेससँग सबैले अपेक्षा गर्ने त्यस्तै प्रतिपक्षीको हो ।

 

तर कांग्रेसले संसदको त्यो शौन्दर्य जोगाइराख्ला त ? यसको प्रश्न कांग्रेसकै युवा नेताहरु स्वयंले दिन सकिरहेका छैनन् । उनीहरु आफैँलाई आफ्नो पार्टीको भुमिकाप्रति आशंका छ ।

 

‘प्रमुख प्रतिपक्षीको रुपमा रहनुपर्छ’ त भनिरहेका छन् । संसदको गरिमा जोगाउने र शौन्दर्य स्थापित गर्नेतर्फ कांग्रेस अग्रसर हुनेमा आशंका नै छ ।

 

यस्तो किन पनि भनिएको हो भने, वाम गठबन्धनको सरकारप्रति कांग्रेसका रिजर्भेशन रहने नै छन् । र ति रिजर्भेशन पक्कै पनि राजनीतिक ‘ईगो’ बाट निर्देशित हुनेछन् ।

 

बिगतका अभ्यासले पनि के पुष्टि गरेका छन् भने कांग्रेस नेतृत्वको सरकारले एमाले र माओवादीसँग ईगोकै आधारमा अनियमित तरिकाले निर्णय गर्दैआएको छ । भलै त्यो एमाले र माअ‍ोवादीको हकमा पनि लागु हुन्छ ।

 

यसरी कांग्रेसले आफूलाई असल प्रतिपक्षीको रुपमा उभ्याउन सक्नेमा थुप्रै आशंका छन् । त्यसका लागि पार्टी सभापतिको ‘लहडी’ निर्णयशैलीले पनि धेरै असर पुर्याउनेछ ।

 

चुनौती नयाँ पार्टी 

कांग्रेस प्रमुख प्रतिपक्षी भइरहँदा विवेकशील साझा जस्ता नयाँ पार्टी र ‘नागरिक समाज’हरुले सडकबाटै सरकारलाई दबाब दिनसक्ने मार्ग प्रसस्त रहनेछ ।

 

संसदबाट कांग्रेसले जे मुद्धा उठाउनुपर्ने हो त्यस्ता मुद्धा सडकबाटै विवेकशील साझा जस्ता पार्टी र युवाहरुले सामाजिक संजालबाटै चर्को स्वरमा उठाउनेछन् ।

 

जसले गर्दा संसदमा रहेको कांग्रेसलाई नैतिक दबाब पर्नेछ । संसदबाट कांग्रेसले जायज मुद्धा उठाउन सक्दैन भनिएको होइन कि, ति मुद्धा ‘जेन्युन’ नभएर ‘ईगो’मा आधारित हुने खतरा धेरै छ ।

 

तर विवेकशील साझा जस्ता दललाई भने सरकारका दलहरुप्रति ईगो साँध्नु अहिले जरुरी छैन । अन्ततः नेपाली कांग्रेसका लागि आगामी ५ वर्ष इतिहासमै कठिन र चुनौतीपूर्ण अवधि रहनेछ ।

 

पार्टी सभापतिको शैली र गलत निर्णय प्रक्रिया, कमजोर र भद्रगोल संगठन भएको कांग्रेसलाई संसदका ५ वर्ष पक्कै चुनौतीपूर्ण रहनेछन् । यस्तो अवस्थामा युवा नेताहरुको स्वर कमजोर हुँदै जानु, विद्यार्थी संगठनहरु छिन्नभिन्न हुँदै जानु पनि कांग्रेसका लागि घातक हुनेछ ।

 

अर्कोतर्फ महाधिवेशन भए नै पनि नेतृत्व र शैलीमा तात्विक भिन्नता आउने कुनै सम्भावना छैन । बरु असन्तुष्ट समूह बढाउने अर्को बाटो मात्रै हुनेछ ।

 

यी जटिल चुनौतीका कारण आगामी ५ वर्षपछि कांग्रेसको आकार अहिलेको भन्दा थप कमजोर हुनेछ । त्यसो हुनुको कारक वाम गठबन्धन होला वा नहोला अर्को पाटो भयो । तर कांग्रेस आफैँ कमजोर हुने पक्का छ ।

 

बरु, यस्तै अनियमितताबीच नयाँ पार्टी, नागरिक समाजहरुको जन्म हुने शंकेत देखिन्छ । कांग्रेसमै रहेका असन्तुष्टहरु नयाँ बाटो खोज्लान्, तर ५ वर्षपछिको कांग्रेस अर्को पटक प्रमुख प्रतिपक्षीको बेन्चबाट पनि तल झर्ने शंकेत अहिले नै देखिएका छन् ।