मुख्य समाचार

कालोबजारी नगरेको भन्दै नाडाले निकाल्यो विज्ञप्ति

सरकारको अनुगमनमाथि आशंका

बुधबार, २४ माघ २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

कालोबजारी नगरेको भन्दै नाडाले निकाल्यो विज्ञप्ति

काठमाडौं । आपूर्ति मन्त्रालय अन्तरगत आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अटोमोबाइल्स कम्पनीहरुमाथि गरिरहेको कामप्रति नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आपत्ति जनाएको छ ।

 

प्रेस विज्ञप्ति जारी गर्दै नाडाले प्रत्येक नेपाली नागरिकले स्वतन्त्रतापूर्वक व्यवसाथ गर्न पाउने हक संरक्षण गर्नुपर्ने भन्दै कम्पनीहरुमाथि नाजायज रुपमा अनुगमन गर्न नहुने जनाएको छ ।

 

साथै मिडियाहरुले भ्रमपूर्वक रुपमा अटोमोबाइल्स कम्पनीहरुको बारेमा समाचार सम्प्रेषण गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।

 

अटोमोइल्स कम्प्नीहरुले कानुन सम्मत हिसावले नै गाडी खरिद र बिक्री गर्दैआएकोले आफूहरुबारे आएको भ्रमले व्यवसायमा हानी पुग्ने भन्दै नाडाले विरोध जनाएको हो ।

 

नाडाले कालोबजारी वा ठगी नगरेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘कालोबजारी’, ‘ठगी’ जस्ता कुराहरुले व्यवसायीलाई निरुत्साही बनाउने भएकाले त्यस्ता भ्रमपूर्ण कुरा उल्लेख नगर्न पनि आग्रह गरिएको छ ।

 

नेपालआजसँग कुरा गर्दै नाडाका महासचिव कृष्णप्रसाद दुलालले सरकारले व्यवसायीलाई दुख दिने मनशायले अनुगमन गरेको बताए ।

 

‘अनुगमनको विरोध हामीले गरेका हैनौँ । हामी त अनुगमनको पक्षमा नै छौँ । तर एउटा कानुन समातेर दुख दिने मनशाय सरकारको देखियो,’ उनले भने, ‘हाम्रो भ्याट बील, कर लगायत कुनै पनि कानुनी प्रक्रियामा कमजोरी छैन । यसमा सम्बन्धित निकायबाट पनि पारदर्शी तरिकाले बुझ्नुपर्छ ।’

 

यद्यपि नेपालआजले नियमित रुपमा अटोमोबाइल्स कम्पनीहरुले अत्याधिक मूल्यमा चर्को नाफा सहित गाडी बिक्री गरिरहेको प्रमाण सहित समाचार सम्प्रेषण गर्दैआएको छ ।

 

यसमा हून्डाई, निसान, रेनल्ट, बजाज, यमाहा, हिरो, होन्डा लगायत दुई पांग्रे तथा चार पांग्रे गाडी बिक्रेता कम्पनीहरु अगाडि छन् ।

 

नाडाले अनुगमनमाथि नै आशंका गर्नेगरी विज्ञप्ति निकालेको प्रति आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले भने व्यवसायीले लोकतान्त्रिक अभ्यास गरेको टिप्पणी गरेका छन् ।

 

‘लोकतन्त्रमा सबैको अधिकार हुन्छ । विज्ञप्ति निकाल्ने उहाँहरुको अधिकार हो । यसलाई अन्यथा लिनु हुँदैन,’ दाहालले भने, ‘म आफ्नो काम गरिरहेको छु । उहाँहरुले विज्ञप्ति निकाल्न सक्नुहुन्छ । यसलाई नकारात्मक रुपमा लिएको छैन ।’

 

नाडाले बिज्ञप्ति निकाल्दै अनुगमनप्रति आपत्ति जनाएको घटनाबारे हामीले केही उपभोक्ता अधिकारकर्मीहरुसँग राय लिएका थियौँ । तिमध्ये धेरैजसो अधिकारकर्मीहरुले नाडाले ‘कालोबजारी गर्न पाउने आशयले यस्तो विज्ञप्ति निकालेको’ बताएका छन् । ‘अटोमोबाइल्स कम्पनीले ठगी गरिरहेका छन् ।

 

अनुगमन गर्दा उल्टै विरोध जनाउनु भनेको कालोबजारी गर्न पाउनुपर्यो भन्ने आशय नै हो,’ उपभोक्ता अधिकारवादी माधव तिमिल्सिनाले भने, ‘उपभोक्ता ठग्ने, कालोबजारी गर्नेलाई कुनै पनि हालतमा छोड्नु हुँदैन ।’

 

उपभोक्ता अधिकारवादी ज्योती बानियाले पनि अटोमोबाइल्स कम्पनीले उपभोक्तामाथि निरन्तर गरिरहेको ठगीलाई संरक्षण गर्न नहुने बताएका छन् ।

 

यसबाहेक, नागरिक अभियन्ता हरिराम रिमालले भने उपभोक्तालाई चर्को मुल्यमा सामान बिक्री गरी ठगी गरिरहने क्रम रोकिएन भने आफूहरुले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

यस्तो अभियानमा उपभोक्ता अधिकारकर्मीहरु समेत सामेल हुने उनको विश्वास छ । उनले भने, ‘अटोमोबाइल्स कम्पनीहरुले उपभोक्तालाई ठगिरहने हो भने हामी सडकमा आउछौँ । यसमा राजनीतिक दल र उपभोक्ता अधिकारकर्मीले पनि साथ दिनेछन् ।’

 

 र याे पनि,

गाडी बिक्रेतालाई मस्ती, उपभोक्तालाई सास्ती 

* निसान गाडीमा निरन्तर ठगी

* उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य

*  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले ९भिडियोसहित०

*  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)

*  कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)

‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो

 ‘रेनल्ड’ गाडी र सुजुकी बाईकुमा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख १

रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी 

(नोटः नेपालआजले केही समययता नियमित रुपमा उपभोक्ता हितको क्षेत्रमा समाचार सम्प्रेषण गर्दैआएको छ । तपाईँको परिवारका सदस्य, छिमेकी वा आफन्तजनमा पनि कुनै कम्पनीले केही सामान बिक्री गर्दा बील नदेखाउने वा अत्याधिक महंगो मुल्य तोकेको पाउनुभयो भने नेपालआजको कार्यालयमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ । हामी त्यसलाई समाचार बनाएर प्रशारण गर्नेछौँ । जसले गर्दा कालोबजारी गर्ने कम्पनीलाई कानुनी दबाब हुनेछ । सम्पर्कका लागि ९८५११२०८४४/०१४४८२९५१/०१४४८२४७६/०१४४८२४७७ नम्बर ।)