समाज

बिचार

अचेलका युवालाई 'गर्लफ्रेन्ड' भन्दा धुवाँ प्यारो !

बुधबार, २४ माघ २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

अचेलका युवालाई 'गर्लफ्रेन्ड' भन्दा धुवाँ प्यारो !

  • प्रताप ओली


काठमाडौं । तपाईँलाई कस्तो लाग्छ धुुवाँ ? धुवाँ उडिरहेको देख्नुभएकै होला । कुुनै बस्तीबाट एक्कासी धुवाँ उडिरहेको देख्नुभयो भने पक्कै झसंग भइन्छ । लाग्छ, ‘समथिङ ईज रङ देयर !’

 

तर अचेल युवाहरुलाई धुवाँ प्रिय लाग्दोरहेछ ! उनीहरुको साथी जस्तै रहेछ यो त । एक्लो हुँदा वा समूहमा जहिले पनि युवाहरु धुवाँलाई साथी ठान्दा रहेछन् । नयाँ पुस्तामाझ त यो फेशन नै बनेछ ।

 

एक बिहान नयाँ बानेश्वरको एक कलेजछेउमा कफि शपमा बसिरहेका युवाहरु गफिरहेका थिए । भीडमा कपाल पालेको एक युवा भन्दैथियो, ‘बरु गर्लफ्रेन्ड छोडिन्छ । यो छोड्न सकिन्न ।’

 

सोचौँ त ! चुरोट, सुर्ति, बिँडी जस्ता सुर्तिजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सधैँका लागि बन्द नै गरियो भने युवाहरुले आन्दोलन नै नगर्लान् त ? बिडम्वना, सुर्तिजन्य पदार्थको प्याकेटमै क्यान्सर खतराको तस्वीर देखिंदा पनि मृत्युदेखि निडर देखिन्छन् मानिसहरु ।

 

सबै पुस्ताका मानिसहरु धूमपानमा लिप्त छन् तर युवापुस्ता सबैभन्दा बढी फसेका छन् । प्रायः देखासिकीबाटै आर्कर्षित देखिने मानिसहरु दैनिक औषत ६ पटकसम्म धूमपानको प्रयोग गरिरहेका छन् ।

 

नेपालमा मात्रै सुर्तिजन्य पदार्थको सेवन अर्थात धूमपानका कारण उत्पन्न हुने विभिन्न रोगबाट वर्षेनी १५ हजार जना भन्दा बढीको ज्यान जाने गर्छ । विश्व स्वाथ्य संगठनको प्रतिवेदन अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सर, हृदयरोग लगायतका स्वास्थ्य समस्याहरुबाट विश्वमा बर्षेनी ५४ लाख मानिसको ज्यान जाने गर्छ र यही अवस्था रहिरहने हो भने सन् २०३० सम्ममा धुमपानको कारण मर्नेहरुको संख्या वर्षेनी ८० करोड नाघ्नेछ ।

 

विश्व स्वास्थ्य संगठनले सुर्तिजन्य पदार्थको सेवनबाट २० औं शताब्दीमा विश्वभर १० करोड मानिसको ज्यान गएको तथा सुर्तिजन्य पदार्थको प्रयोग घटाउन विश्वका सरकारहरुले तत्काल प्रभावकारी कदम नचालेमा सुर्तिको महामारीबाट २१ आंै शताब्दीमा १ अर्व मानिसको ज्यान जाने खतरा रहेको यसअघि नै चेतावनी दिइसकेको छ ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार निम्न आय भएका मुलुकहरुको सुर्तिजन्य पदार्थको प्रयोग तिब्र रुपमा बढिरहेको छ र सन् २०३० सम्म सुर्तिसेवनको कारण मर्नेमध्ये करीब ८० प्रतिशत निम्न र मध्यम वर्गका जनता हुने छन् । संगठनका अनुसार धुमपानका प्रयोगकर्तामध्ये ३० प्रतिशत चिनमा, १० प्रतिशत भारतमा र बाकी अन्य देशमा रहेका छन् । दक्षिण एसियाका विकाशोन्मुख देशहरु सुर्तिको महामारीबाट सबैभन्दा बढि पीडित रहेका छन् । वर्तमान विश्वमा धूमपानले हरेक ८ सेकेण्डमा एक जना मानिसको ज्यान लिइरहेको छ ।

 

तर बिडम्वना, यस्तो भयानक यथार्थ हामीसामु हुँदा पनि सुर्तिजन्य पदार्थको महामारीप्रति विश्व समुदाय त्यति सचेत बनेको पाइँदैन । सुर्तिजन्य पदार्थको प्रयोग विश्वमा दिनप्रतिदिन बढिरहेको छ, नेपाल पनि सुर्तिजन्य पदार्थको अत्यधिक सेवनको खतराबाट मुक्त हुन सकेको छैन । नेपालमा कुल जनसंख्याको करीब ३४ प्रतिशतले सुर्तिजन्य पदार्थ प्रयोग गर्नेगरेको बताइन्छ ।

 

जनसंख्या र धूमपान प्रयोगको दरलाई हेर्दा नेपाली महिलाहरु धुम्रपानको अम्मलीमा चौँथो स्थानमा पर्छन् । जसमा पनि विपन्न ग्रामिण परिवारका महिला तथा पुरुषहरुमा धूमपानको लत धेरै रहेको पाइएको छ । नेपालमा खासगरी युवाहरु समेत सुर्तिजन्य पदार्थको प्रमुख प्रयोगकर्ताको रुपमा रहेका छन् । ग्रामिण क्षेत्रमा अज्ञानताको कारण सुर्तिजन्य पदार्थको सेवन बढिरहेको छ भने सहरी क्षेत्रमा धुम्रपान र मध्यपान फेसनको रुपमा विकास भइरहेको छ । सहरी क्षेत्रका हरेक समारोह, पार्टी, जमघटहरुमा धूमपान तथा मध्यपानको उपस्थिति अनिवार्य जस्तो भैसकेको छ ।

 


धुमपान र स्वास्थ्य समस्या


सुर्तिजन्य पदार्थहरु क्यान्सर लगायतका प्राणघातक रोगक कारक हुन् । सुर्तिजन्य पदार्थमा निकोटिन नामक मन्द विष हुने गर्छ जसले स्वास्थ्यमा प्रतिकुुल असर पार्दछ । सुर्तिजन्य पदार्थको सेवनको कारण फोक्सो, मुख तथा स्वास नलीको क्यान्सर उच्च रक्तचाप, हृदयाघात, कलेजोको सिरोसिस, ब्रोन्काइटिस लगायतका स्वास्थ्य समस्या पनि देखिने गर्छन् । साथै स्नायुसम्बन्धी विभिन्न रोग गर्भ तुहिने तथा श्वासप्रश्वास सम्बन्धि विभिन्न समस्याहरु समेत धुमपान कर्तामा देखिने गर्छन् ।

 

सुर्तिमा रहेको निकोटिन नामक रसायनको कारण नै सुर्तिजन्य पदार्थको प्रयोगकर्तालाई यसको तलतली लाग्ने र धुमपानको लत लाग्ने गर्छ । साथी भाईको लहलहैमा लागेको धूमपानको लतका कारण पनि अधिकांश युवा मृत्युको नजिक पुगिरहेका छन् । एक अनुसन्धानका अनुसार सुर्तिमा ४० वटा भन्दा बढि क्यान्सरजन्य तत्वहरु कार्सिनोजेन हुन्छन् । त्यसकारण पनि धुमपानका अम्मलीलाई स्वस्थ व्यक्तिलाई भन्दा २२ गुणा बढी फोक्सोको क्यान्सर हुने सम्भावना रहन्छ ।

 


सुर्तिसेवन कर्तामा घाँटीको क्यान्सरको खतरा १२ गुणा बढि, मुखको क्यान्सर २७ गुणा बढी तथा स्वास नलीको क्यान्सर १५ प्रतिशत बढि रहने गर्छ । धुमपान प्रयोगकर्ता महिलालाई स्तन क्यान्सर हुने सम्भावना रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।

 


यतिमात्र होइन संसारमा हुने कुल रोगजन्य मृत्युमध्ये एक तिहाइ हिस्सा ओगट्ने मुटु रोगको मुख्य कारक समेत धूमपान हो । धूमपानबाट श्रीजित मुटुजन्य रोगका कारण विकाशोन्मुख मुलुकहरुमा वर्षेनी १० लाख तथा विकसित मुलुकहरुमा वर्षेनी ६ लाख व्यक्तिले ज्यान गुमाउने गरेका छन् । धूमपानको कारण मुटुको धड्कन बढ्ने तथा असन्तुलित हुने, तथा उच्च रक्तचाप हुने गर्छ । धूमपानले अन्तत रक्तनलीहरुलाई अवरुद्ध पार्दै हृदयाघाट समेत गराउन सक्छ । चुरोटको धुवामा हुने कार्वन मोनोअक्साइड ग्याँसको कारण रगतमा नकारात्मक असर पर्छ । कार्वन मोनोअक्साइड रगतको हेमोग्लोविनसँग मिलेर कार्वोक्सिहेमोग्लोविन भन्ने पदार्थ बनाउँछ जसले अक्सिजनको सञ्चार गर्न सक्दैन र रगतमा विषको रुपमा रहन्छ ।

 

एक अध्ययनले के देखाएको छ भने किशोरावस्थाटै धुमपान गर्न थालेकाहरु धुमपान नगर्नेहरुको तुलनामा २० देखि २५ वर्ष छिटो मर्ने गर्छन् । भनिन्छ चुरोट तानिरहेको व्यक्तिले चुरोटको खिल्लीको लम्बाइसँगै आफ्नो आयु पनि घटाइरहेको हुन्छ, धुवाँसगै आफ्नो जिवन उडाइरहेको हुन्छ अनि चुरोटजस्तै जीवन खरानी बनाइरहेको हुन्छ । धूमपानको कारण आँखाको मोतियाबिन्दु, छालाको क्यान्सर, दाँत तथा हाड सम्बन्धि समस्या, श्रवण शक्तिमा ह्रास आउने लगायतका स्वास्थ्य समस्या देखा पर्छन् । यसको साथै दम खोकी, स्नायु तथा रक्तनली सम्बन्धी रोग, मुत्रथैलीको क्यान्सर तथा छालासम्बन्धी विभिन्न रोगहरुकोे कारकको रुपमा पनि सुर्ति रहेको हुन्छ ।

 

अर्को डरलाग्दो पक्ष के छ भने धुमपान गर्ने मात्र होइन धुमपानकर्ताको संगत गर्नेहरुलाई पनि यसले धेरै असर पारेको हुन्छ । एउटा तथ्य के छ भने चुरोट खाने व्यक्तिले २५ प्रतिशत धुवाँ आफुले तान्छ र बाँकी ७५ प्रतिशत धुवाँ अरुलाई खुवाउँछ । धुमपानको असरबाट बच्न धूमपानका अम्मलीको सङ्गत छाड्नुपर्ने मात्र होइन धुमपान गर्ने आफ्नै घरका सदस्यबाटै सजग रहनुपर्ने देखिन्छ ।


नेपालमा अहिले वाषिर्क ६ हजार मेट्रिक टन भन्दा बढी सुर्ति तथा करिब ६ अर्ब साठी करोड खिल्ली चरोट उत्पादन हुन्छ । विगत २ दशक यता नेपालमा सुर्तिजन्य पदार्थको उत्पादनमा १२ सय गुणाले वृद्धि भएको छ भने धुमपान र मध्यपानजन्य पदार्थको आयात पनि ह्वात्तै बढेको छ । बिगतमा सरकारले नै नेपालमा चुरोट कारखाना सञ्चालन गरिरहेको थियो, यद्यपि त्यो अहिले टाट पल्टिएको छ । नेपालमा चुरोट, सुर्ति, खैनी, बिँडी, गुट्खा, पान तथा तमाखु लगायतका सुर्तिजन्य पदार्थहरु प्रचलनमा रहेका छन् । त्यसमध्ये सबैभन्दा बढि अर्थात् ४० प्रतिशत चुरोटको प्रयोग हुन्छ । खैनीले कुल सुर्तिजन्य पदार्थको ३० प्रतिशत हिस्सा ओगटेको छ भने तमाखु तथा कक्कडले करिब ५ प्रतिशत । बिडी, गुट्खा, पान लगायतका सुर्तिजन्य पदार्थले कुल खपतको २५ प्रतिशत भाग ओगटेका छन् ।


विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वका ७४ वटा मुलुकले अझैपनि स्वास्थ्य तथा शिक्षण सस्थामा धुमपानमा प्रतिबन्ध लगाउन सकेका छैनन् । भुटान मात्र यस्तो देश बनेको छ जसले देशभरीनै सुर्तिजन्य पदार्थको सेवनमा रोक लगाएको छ ।

 


विश्वका सरकारहरुले सुर्तिजन्य पदार्थबाट वर्षेनी २ सय अर्व अमेरिकी डलर राजस्व संकलन गर्ने गर्छन् । तर सुर्तिजन्य पदार्थको सेवन घटाउने र यससम्बन्धि जनचेतना जगाउने कार्यमा संकलित रकमको एक प्रतिशतको एक चौथाइ पनि प्रयोग गरेका छैनन् । जनताको जिवन जोखिममा पारेर गैरजिम्मेवार रुपमा पैसा कमाउन राज्य उद्यत भएको देखिन्छ । यसरी धुमपानको भयानकता तर्फ विश्व समुदाय त्यति जागरुक बनेको देखिदैन ।

 


अबको आवश्यकता


आउँदो सय वर्षमा एक अरब मानिसको ज्यान लिने सुर्तिको सेवन रोक्न जनचेतना र प्रतिवद्धताको खाँचो रहेको छ । सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण सम्बन्धि सुर्तिविरोधी महासन्धि (एफसिटिसी) सन् २००३ मै पारित भएपनि त्यो प्रभावकारी बन्न सकिरहेको छैन । सुर्तिबाट आउने धनमा र्‍याल चुहाएर जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने राज्यको प्रवृत्तिको कारण विश्वका अधिकांस देशहरुले अझैपनि यो महासन्धीमा हस्ताक्षर गर्न अनकनाइरहेका छन् र नेपाल पनि यसमा अछुतो छैन । सुर्तिजन्य पदार्थको कारण विश्वमा गरिबी झनै बढिरहेको छ ।

 

गरीबहरुमा सुर्ति सेवनको दर बढि रहेको छ जसको कारण विभिन्न स्वास्थ्य समस्याहरुबाट गरिबहरुनै प्रताडित हुनु परेको छ । धुमपानको लतका कारण गरिबहरु आफ्नो गास काटेर भएपनि धुमपानजन्य वस्तुहरु किन्न बाध्य छन् । सुर्तिजन्य पदार्थको खरिदमा वर्षेनी करोडौ रुपैया स्वाहा हुने गर्छ भने सुर्तिसेवनबाट उत्पन्न रोगहरुको उपचारको लागि उत्तिनै पैसा खर्च भएको हुन्छ । यसकारण पनि विश्वका सरकारले आफ्ना जनतालाई सुर्ति श्रीजित मृत्युबाट बचाउन प्रभावकारी कदम चाल्नु आवश्यक छ । यसको लागि सम्भव भए सुर्तिजन्य पदार्थको उत्पादन र प्रयोगमा निषेध गरिनुपर्छ ।

 

त्यो तत्काल सम्भव नभए सुुर्तिको करमा वृद्धि गरी उपभोक्तालाई निरुत्साहित गर्ने , सुर्तिजन्य पदार्थको मुल्य वृद्धि गर्ने, विज्ञापन, प्रचारप्रसार र प्रयोजनमा प्रतिवन्ध लगाउने लगायतका कदम चालिनुपर्छ । यसको साथै धुमपानको लत लागेका र लत छोड्न चाहनेहरुलाई पुनस्र्थापनाको लागि सघाउ गर्ने लगायतका काम तत्काल प्रभावकारी रुपमा गर्न सके सुर्तिजन्य पदार्थको खतराबाट विश्व समुदायलाई बचाउन सकिन्छ ।