कुरा: खस्रा मिठा

भिडियो

‘चीनको झण्डा जलाइएकै ठाउँ पुगेर मधेसी नेतासँग सुष्मा स्वराजको रहस्यमय भेट’ (भिडियो)

यो अपजशको घडा भारतको टाउकोमा फुट्नेवाला छ

मङ्गलबार, २३ माघ २०७४ गते मा प्रकाशित

arun-kumar-subedi-kp-oli-rajnitik-aukat

काठमाडौं । ‘भारतलाई गाली गर्नु नै राष्ट्रवाद’ को मान्यताले बेला बेला नेपाली समाजमा प्रभुत्व जमाउँदैआएको छ । यस्तो मान्यता राजनीतिक दलका नेताहरुले नै स्थापित गरिदिएका हुन्छन् ।

 

पछिल्लो समय नेकपा एमाले नेता तथा ‘वेटिङ प्राईम मिनिस्टर’ केपी ओलीलाई पनि त्यही रुपमा ब्याख्या गरियो । ओलीले पनि आफ्नो प्रधानमन्त्रीकालमा भारतप्रति आक्रोशित बने ।

 

उनको झैँ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भारतीय ‘दादागिरी’ को चर्को आलोचना गरेका थिए । प्रचण्ड, केपी ओली वा अन्य वामपन्थी दलका नेताहरुले जब भारतको चर्को आलोचना गर्छन् आम जनताले प्रशंसा गर्छन् ।

 

नेमकिपाका नेता नारायणमान बिजुक्छे, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी लगायत केही नेताहरुले त ‘भारतविरोधी’ छवि बनाइसकेका छन् ।

 

भारत, चीन, बेलायत वा जुनसुकै मुलुकसँगको सम्बन्ध र त्यसका आयामहरु नितान्त कुटनीतिक विषय हुन् । तर यस्ता विषय सडकमा चर्को भाषण गरेर समाधान हुने पनि त हैनन् ।

 

मुलुकको प्रधानमन्त्रीले छिमेकी मुलुकसँगको सम्बन्धबारे बोल्ने फोरम भनेको सडक होइन । उनले त कुटनीतिक पहलबाटै राष्ट्रिय सम्बन्ध स्थापित गर्न सक्छन् ।

 

कुटनीतिक मामिला जानकार तथा राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी यस्तै विषयमा आफ्नो गहन र फरक धारणा राख्दैआएका बुद्धिजीवी हुन् ।

 

दोस्रोपटक प्रधानमन्त्री पदको पर्खाइमा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीको भारतसँगको सम्बन्धलाई सुवेदीले भिन्न दृष्टिबाट हेरेका छन् ।

 

थाईल्याण्ड भिजिट

केपी ओलीको पछिल्लो थाईल्याण्ड भ्रमणलाई भारतसँग सम्बन्ध सुधार्ने प्रयासको रुपमा सुवेदीले ब्याख्या गरेका छन् । ओलीले त्यहाँ भारतीय र चिनियाँ पक्षसँग भेट गरेको प्रसंग निकाल्दै त्यसलाई ओली र भारतको संयुक्त प्रयास भएको उनले बताए ।

 

साथै केपी ओलीले बिगतमा जस्तो बोले पनि पछिल्लो समय भारतसँग सम्बन्ध सुधार्न तयार देख्छन् सुवेदी । जब कि, केही साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई टेलिफोन सम्पर्क गरेका थिए । र भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आइन् । तर यसबीचमा कुटनीतिक मर्यादा भने उल्लंघन भए ।

 

यद्यपि, छिमेकी मुलुक भारतसँग सम्बन्ध सुधार्नु नेपालको हितमा रहेको सुवेदीको बुझाइ छ । यही शिलशिलामा ओलीले भारतसँग सुधार्न खोजेको पछिल्लो सम्बन्ध राष्ट्रिय हितमा हुनसक्ने उनले बताएका छन् ।

 

सुष्मा स्वराजको नेपालयात्रा

सुष्माको नेपालयात्रालाई राजनीतिक रुपमा सम्बन्ध सुधारको पहलकदमीकै रुपमा बुझेका छन् सुवेदीले । साथै भारतीय नरेन्द्र मोदीले समेत पछिल्लो समय केपी ओलीसँग सम्बन्ध सुधार्न सुष्मालाई नेपाल भ्रमणमा पठाएको उनको बुझाइ छ ।

 

तर कुटनीतिक रुपमा भने स्वराजको भ्रमण गलत समयमा भएको उनले टिप्पणी गरे । ओली प्रधानमन्त्री भइनसकेको अवस्थामा नेपाल भ्रमणमा आउने गैरराजनीतिक प्रबृत्ति नकारात्मक भएको उनले बताए ।

 

ओलीका चुनौती

यद्यपि ओलीका लागि थुप्रै चुनौती रहेको सुवेदीले औँल्याएका छन् । प्रधानमन्त्री हुन नसक्ने सम्भावना पनि उत्तिकै रहेको भन्दै ओलीले थुप्रै चुनौती सामना गर्नुपर्ने उनको बुझाइ छ ।

 

एकातिर वाम एकता र अर्कोतिर राष्ट्रिय जिम्मेवारी । यसबीचमा पछिल्लो समय प्रचण्डको राजनीतिक चलखेल पनि ओलीका लागि प्रतियुत्पादक हुनसक्ने सुवेदी बताउँछन् ।

 

‘ओली यति जटिल परिस्थितिमा छन् कि यही परिवेशसँगै उनको राजनीतिक औकात मेटिनसक्छ,’ सुवेदीले भने । यतिबेला ओलीको एउटा काँधमा वाम एकताको भारी छ भने अर्को काँधमा छिमेकी भारतलाई रिझाउँदै राष्ट्रलाई सन्तुलित रुपमा हाँक्ने जिम्मेवारी ।

 

‘मुद्धाको हिसावले प्रचण्ड मात्रै एक्लो नेता भएको’ ठान्छन् सुवेदी । उनको मुद्धामा केपी ओली, शेरबहादुर देउवालगायत नेता जबर्जस्त आएको उनको ब्याख्या छ ।

 

‘बरु वाम एकता अभ्यासमा लागेका माधव नेपाल मुद्धाका हिसावले प्रचण्डसँग निकट छन्,’ सुवेदीले भने, ‘यसैले पनि भोलिका दिनमा प्रचण्ड र माधव नेपाल एकै कित्तामा उभिन सक्छन् ।’ वाम एकतासँगै माधव नेपाल र प्रचण्डको ‘केमेष्ट्री’ मिल्ने भन्दै यही प्रक्रियाले केपी ओलीको राजनीतिक प्रभाव सिद्धिनसक्ने अनुमान सुवेदीको छ ।