बिचार

कति बेच्छौ युवा आफ्नो जवानी परदेशीलाई ?

केदारनाथ नेपाल (निश्चल)  

बिहिबार, १८ माघ २०७४ गते प्रकाशित
- नेपाल आज (TK)

कति बेच्छौ युवा आफ्नो जवानी परदेशीलाई ?

 

 

पछिल्लो समय बैदेशिक रोजगारीमा जाने युवाहरुको सङ्ख्या दैनिक सरदर १२००-१५०० को हाराहारीमा रहेको छ । २०५० सालबाट क्रमिक रुपमा उकालो लागेको बैदेशिक रोजगारमा जाने युवाहरुको सङ्ख्या २०६५ सम्म निरन्तर उकालो लागिरह्यो २०६६ मा केहि ओरालो लागेपनि फेरी अर्को बर्ष नलाग्दै निरन्तर उकालो लागिरह्यो । आखिर किन बैदेशिक रोजगारीमा जाने युवाहरुको सङ्ख्या बढिरहेको छ त ? यस आलेखमा त्यसै बिषयमा चर्चा गर्ने प्रयास गरिएको छ ।

कतिपय युवाहरु स्वदेशमा रहेर काम गरेर हातमुख जोड्न समस्या भएर बिदेशिएका छन् । तिनीहरुको समस्या र यथार्थतालाई पनि भुल्न मिल्दैन । उनिहरु बाध्यताले विदेशिएका हुन् । तर, केही युवा युवतीहरु देखासेखी र बिलासी जीवन जिउने लोभमा विदेशिएका छन्, फरक यत्ति हो खाडी गएका युवा केही समय बसेर फर्कन्छन् । युरोप, अमेरिका लगायत अन्य देशमा गएका नेपाली नागरिकता र पासपोर्टलाई डलरसँग साटेर उतैको नागरिक भएर जीवन बिताउँछन् ।

युवाहरू विदेशिनुको एउटा कारण यहाँको राजनीतिक अवस्था पनि हो । अस्थिर राजनीतिक अवस्थाबाट वाक्क–दिक्क भएर विदेशिने युवाको सङ्ख्या पनि कम छैन हामीकहाँ । केही युवा आफ्नो शैक्षिक योग्यता अनुसारको काम स्वदेशमा नपाएको कारण देखाउँदै विदेशिएका छन्, केही उतैको पीआर पाएर विदेशिन्छन् । आखिर कहिलेसम्म यो क्रम चलिरहन्छ ? युवाहरूले आफ्नो जीवनको ऊर्जावान समयमा विदेशमा पसिना बगाउने हो भने देश कसले बनाउँछ ? हिजो कि सरकारी जागिर छोड कि पीआर छोडभन्दा किन जागिर छाडेर पीआर रोज्ने धेरै देखिए ? किन जन्मभूमि भन्दा विदेशीभूमि प्यारो लाग्दै छ हामीलाई ? देशमा अवसर नभएको खण्डमा कामको खोजीमा युवाहरू विदेशिनु ठीकै हो तर देशमा स्रोत र साधनको सम्भावना हुँदाहुँदै त्यसलाई बेवास्ता गर्दै विदेशिनु कत्तिको जायज होला रु युवाहरू भनेका देशको मेरुदण्ड हुन्, देशलाई विकासको बाटोमा अघि बढाउनुपर्ने ऊर्जावान समयमा युवाहरू विदेशिनुले देशको भविष्य कता जाला ?

केही युवाहरू जसको आर्थिक स्थिति एकदमै कमजोर छ र बिहान बेलुका छाक टार्न नै धौ–धौ छ, उनीहरू बाध्यताले विदेशिएका हुन् । जो युवाहरूलाई दुईछाक खान र एकसरो लाउन दुःख छैन, उनीहरू विदेशिनु उनीहरुको कमजोरी मात्र होईन जीवनकै महाभुल हो । अर्कोतर्क देशमा अथाह सम्भावना हुँदाहुँदै युवाहरूलाई रोजगारी दिन नसक्नु र सरकारसँग भएका कलकारखाना पनि बन्द गर्नु र भएको रोजगारी पनि बन्द गर्नु सरकारको निरीहता हो । युवा पलायनले देश बन्दैन ।

एकातिर कतिपय युवा अवसर नपाएको कारण विदेशिनु परेको बाध्यता सुनाउँछन् । विडम्बना भन्नुपर्छ अर्कोतिर जनशक्तिको अभावमा खेतीयोग्य जमिनसमेत बाँझो छ बैदेशिक रोजगारीको मोहमा परेर कुलामुनिको खेत बाँझो राखेर युवाहरु बिदेशिने क्रम निरन्तर जारी छ । भुकम्प गएको दुई बर्ष बित्यो सरकारको आशमा बस्ने पिडितहरुले त घर बनाएका छैनन् । तर, आफुसँग पैसा हुनेहरुले समेत जनशक्तिको अभावमा घर बनाउन सकेका छैनन् । अचेल गाउँमा गएर हेर्ने हो भने अधिकांश घर बनाउने मजदुर भारतिय छन् । किनकि नेपालीहरु त्यसलाई तल्लो स्तरको काम सोच्छन् । त्यस्तै सोचाइका कारण उनिहरु बिदेशिन पुगेका हुन् । हामि आफ्नो देशमा श्रमलाई उच्च र तल्लो स्तरको ब्यक्तिले गर्ने काम भनेर बर्गिकरण गर्छौ । तर बिदेशमा गएर स्वदेशमा तल्लोस्तरको भनिएको काम गर्न पछि पर्दैनौ । त्यसैले समस्या श्रममा होईन हाम्रो सोच्ने क्षमतामा छ त्यसैे कारण हामी बिकासमा पनि पछि परेका हौ ।

पछिल्लो अर्थतन्त्र रेमिट्यान्स मा निर्भर छ भन्दा फरक नपर्ला । तर, रेमिट्यान्सको नाममा भित्रिएको रकम पनि बिलासिताको सामान र दैनिक उपभोग्य वस्तु खरिदमै सक्कयाईएको अवस्था छ । रेमिट्यान्सको रकम सही काममा सदुपयोग गर्न सकिएको छैन । देशमा सम्भावना नभएको होइन, यहाँको राजनीतिक अवस्थाको कारण देशमा भएको स्रोत साधनको उपयोग गर्न सकिएको छैन । फेरि हामी युवाहरू नै राजनीतिबाट वाक्क भएर विदेशिने हो भने यहाँको अवस्थामा परिवर्तन कसले ल्याउने ? आखिर देश बनाउने ठेक्का त कसैले लिएको छैन नि ? देश बनाउने जिम्मेवारीबाट हामी युवाहरू नै पछाडि हटे देश कसले बनाउँछ ? एक पटक सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । हुन त राज्यको उपल्लो निकायमा रहेका राजनीतिकर्मी र कर्मचारी खल्तीमा पीआर बोकेर देश चलाइरहेछन् ।

केहिदिन अघि मात्र एकजना बिद्यार्थी नेताले फेसबुकमा लेखे । स्वभियू निर्वाचनमा अध्यक्षको रुपमा निर्वाचनमा होमिएका उनि कुनै देशको भिषा त्यागेर निर्वाचन लडेका रहेछन् । तर त्यसमा उनि सफल भएनन् त्यसपछि बिदेशको लागि कोषिस गरेछन् यसपटक भिषा लागेछ उनि बिदेश जाने तयारीमा रहेछन् त्यस्तै आशयको स्ट्याटस लेखेका थिए, उनको स्ट्याट्याटसको आशय बुझ्दा अब उनि बिदेशिने तयारीमा रहेछन् । सकेसम्म बिदेशिन खोज्ने नसके नेपालमै बसेर राजनीति गर्नेहरुबाट अब हामीले के आश राख्ने रु उनीहरू त आफ्नो स्वार्थ पूरा नहुन्जेल यता बस्छन्, पूरा भएपछि उतै जान्छन् । त्यसैले अब देश बनाउन हामी युवाहरू नै जाग्नुपर्ने बेला आइसकेको छ ।

राष्ट्रवादको नाममा खोक्रा नारा होइन काम गरेर देखाउनुपर्ने बेला आएको छ । प्रत्येक युवामा राष्ट्रबादी भावना जगाउनुपर्ने समय समेत युवाहरुकै काँधमा आएको छ । सकेसम्म बिदेशमा होईन नेपालमै पसिना बगाउनुपर्छ । हाम्रा देशका युवाले पसिना बगाउँदा खाडिका मरुभूमिमा आज सयौ तलका महल ठडिएका छन् । तर, तिनै मरुभूमिमा पसिना बगाउने यूवाहरुको देशको अवस्था । प्रत्येक युवाले अब गहिरिएर देशको लागि सोचौ ? देश बिकासको मेरुदण्ड भनेका नागरिकतावाला युवा हुन् पिआर वाला होईनन्। त्यसैले हामी युवाहरू अवसरवादी होइन, राष्ट्रवादी भएर देश निर्माणको बाटोमा अघि बढौ ।