समाचार

सडकका स्पिड ब्रेकर हटाउँदै महानगरपालिका

बिहिबार, ०३ फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

सडकका स्पिड ब्रेकर हटाउँदै महानगरपालिका

ललितपुर । सवारीसाधनको गति नियन्त्रणका लागि सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का कारण सडक दुर्घटना बढेपछि ललितपुर महानगरपालिकाले सो हटाउने निणर्य गरेकाे छ ।

 

स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिकजसो सडक दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताउँदै आएको छ । यसलाई हटाउनु भन्दै धेरै नगरवासी कार्यालयमा आइरहेका महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने दिनपहिले एकजना त भाँचिएको हात नै लिएर आएका बताए । महानगरका भित्री सडकमा छोटो दूरीमै धेरै स्पिड ब्रेकर छन् । यिनका कारण सडक दुर्घटना बढेकाे महानगरकाे ठम्याइ छ ।

 

आगामी दिनमा नयाँ स्पिड ब्रेकर बन्न नदिने योजना महानगरपालिकाको छ । प्रमुख महर्जनले नयाँ बन्न नदिने र भएका पनि विस्तारै भत्काउँदै जाने बताए । उनले भने, “हामीले कतिपय भत्काइसकेका छौँ र कति भत्काउने क्रममा छौँ ।”

 

महानगरवासीले सडक व्यवस्थापन नहुँदा हैरानी बेहोरेको गुनासो गरिरहेका छन् । स्थानीयको गुनासो सम्बोधन गर्दै महानगरपालिका ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक व्यवस्थापनमा लागेको छ । स्पिड ब्रेकर हटाउने, सडकबत्ती राख्ने, व्यस्त सडक ‘वान वे’ र पर्यटकीय स्थानमा सवारी आगमन रोक्ने काम महानगरले गर्दै छ ।

सडकमा सवारी व्यवस्थापनको काम ट्राफिक प्रहरीको भए पनि संरचना निर्माणको काम स्थानीय तहको हो ।
रासस