राजनीति

भिडियो

'वाम एकताले कैयौं भारतीय लालु यादवहरु जन्माउनेछ' (भिडियो)

हाम्रो क्रान्तिमा साथ दिन अरबका लाखौं नेपाली युवा फर्किनेछन्

मङ्गलबार, ०१ फागुन २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

'वाम एकताले कैयौं भारतीय लालु यादवहरु जन्माउनेछ' (भिडियो)

काठमाडौं । माक्र्सवादी शौन्दर्यशास्त्री तथा लेखक हस्तबहादुर केसी मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा आवद्ध छन् । माओवादी केन्द्रले क्रान्तिलाई बिर्सेको भन्दै उनीहरु अबको क्रान्तिको जिम्मेवारी आफ्नै दायित्व भएको बताउँदैआएका छन् ।

 

यद्यपि पछिल्लो निर्वाचनमा वैद्य नेतृत्वको माओवादीले ‘निर्वाचनलाई उपयोग गर्ने’ भन्दै एउटा मोर्चा बनाएको थियो । तर उक्त मोर्चाको गतिविधिको गुन्जायस सायदै भयो ।

 

यस पार्टीले संसदीय व्यवस्थाको विरोध गर्छ । जनवादी क्रान्तिबाट मात्रै श्रमजीवी जनताको सत्ता सम्भव भएको बताउँदैआएको छ । यद्यपि जनयुद्धले स्थापित गरेका कतिपय उपलब्धि असल रुपमा कार्यन्वयन नभएको दाबी उनीहरुको छ ।

 

तर यस पार्टीको संगठन चलायमान छैन । नेताहरु पनि निस्क्रिय छन् । यस्तो पार्टीले निरन्तर क्रान्तिको कुरा गर्न गरिरहेको छ । तर यो सम्भव छ त ?

 

यही सन्दर्भमा यस पार्टीका नेता तथा माक्र्सवादी शौन्दर्यशास्त्री हस्तबहादुर केसीसँग नेपालआजको अन्तरवार्ता भएको छ । स्टुडियोमा आएर केसीले लामो बहस गरेका छन् ।

 

अहिलेको संविधान पनि भारतीय ईशारामा बनेको दाबी गर्दै उनले यो व्यवस्था नै आफूहरुका लागि अस्विकार्य रहेको बताए । आफ्नो पार्टीले लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रणाली र धर्म निरपेक्षता मात्रै मान्ने उनको भनाइ थियो ।

 

तर जात, भाषा, धर्म आदि पहिचानसहित र अग्राधिकार सहितको संघीयता आफ्नो माग रहेकाले त्यसो नहुँदा अहिलेको ७ प्रदेशको खाका मान्य नहुने उनले बताए ।

 

बलिया विप्लव

नेत्रविक्रम चन्द विप्लव केही वर्षअघि वैद्य समूह छोडेर फुटेका थिए । केसीका अनुसार वैद्यले त्यसबेला विप्लवले क्रान्ति गर्ने भए आफूहरु उनको पछि लाग्न तयार रहेको बताएका थिए ।

 

अन्तरवार्ताको क्रममा केसीले पनि विप्लवले क्रान्ति गर्ने भए आफूहरु उनको पछि लाग्न तयार रहेको बताए । ‘विप्लवसँग हाम्रो कित्ता एउटै देखिन्छ तर हामी विप्लवसँग बैचारिक हिसाबले धेरै फरक छौँ,’ उनले भने ।

 

यसबाहेक पछिल्लो चुनावको बेला विप्लव समूहले सफल रुपमा निर्वाचनको विरोध गरेको कुराबाट प्रभावित भएको केसीले बताए ।

 

‘तपाईँहरुको पार्टी बूढाहरुको पार्टी भएको छ । संगठन पनि कमजोर, नेता पनि निस्क्रिय, कसरी गर्नुहुन्छ क्रान्ति ?’ भनेर सोध्दा उनले उमेरमा युवा भएर मात्रै क्रान्ति नहुने जवाफ दिए ।