बिचार

रेडियो फुटेपछि जब साङ्लाहरुको भागाभाग भयो...

रेडियो दिवस विशेष

मङ्गलबार, ०१ फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

रेडियो फुटेपछि जब साङ्लाहरुको भागाभाग भयो...

  • मकरराज धामी (सञ्चारकर्मी तथा पत्रकार) 

 

फागुन १ ।  आज विश्व रेडियो दिवस ! रेडियो दिवसको अवसरमा सम्पूर्ण रेडियो प्रेमी मनहरुमा शुभकामना !!

 

 समाजको विकास र रुपान्तरणमा योगदान तथा विश्वसनीय सञ्चार सामुदायिक रेडियोसँगको मेरो सम्बन्ध धेरै नजिक छ । रेडियोको सुरुवात कहाँबाट कहिले र कसरी भयो अनि यो विश्व रेडियो दिवस मनाउन सुरु कसरी गरियो भन्ने तिर म जान चाहँन्न । किनकी म मा त्यति धेरै कुराको ज्ञान र रेडियोको ईतिहास थाहा नहुन पनि सक्छ । 

 

तर पछिल्लो समयमा शत प्रतिशत जनताको पहुँचमा रेडियो मात्र एक सञ्चारको माध्यम बनेको छ । तर पछिल्लो समयमा सञ्चारमाध्यमहरु विभिन्न राजनीतिक पार्टीहरुको ओकालत र प्रचार प्रसार गर्ने प्रयोजनका रुपमा समेत प्रयोग गरिएको छ । अहिले त झन एउटा मोफसलको शहरमा दर्जनौ रेडियोहरु धमाधम खुल्ने क्रम छ र भनिन्छ फलानो एफ.एम फलानो पार्टीको ।  खैर छोडी दिउँ यी कुरा ।

 

म सानै थिय बुवाले त्यो बेला फिलिप्स रेडियो ल्याउनुभएको थियो । त्यो रेडियोलाई घरको भित्तामा झुन्डाएको हुन्थ्यो । बुवाले यो टेप हो यसमा रेडियो पनि सुनिन्छ भन्नु हुन्थ्यो । त्यसमा क्यासेट हालेर गीत पनि सुन्न गथ्र्यौं । बुवा राजनितिमा चासो राख्ने मान्छे जहिले पनि साँझ साढे सात बजेको घटना र विचार खुब सुन्नुहुन्थ्यो । 

 

शनिबारको दिन थियो स्कुल छुट्टी । हामीहरु टेपमा क्यासेट हालेर नाच्दै थियौ । कुन्नी कसरी रेडियो भित्ताबाट भुईमा खसेर दुई टुक्रा भयो । पहाडको घर रेडियो भित्र साङला पसेका रहेछन । रेडियो दुई टुक्रा भएपछि साङलाहरुको भागाभाग भयो । साङलाहरु भागेको देखेर रेडियोमा बोल्ने मान्छे भागे अब बुवाले मार्नु हुन्छ भन्ठानेर खुब रोएँ । तर आजकाल त्यस्तै रेडियोमा मेरो स्वर गुञ्जीन्छ । विगत सम्झेर हाँसो आउँछ । 

 

रेडियो नेपाल क्षेत्रीय प्रसाण केन्द्र सुर्खेतबाट बुधबार राती हजारी माला भन्ने कार्यक्रम प्रसारण हुन्थ्यो । त्यो कार्यक्रममा डेउडा गितहरु बाचन हुन्थे भने डेउडा गित नै बजाईन्थ्यो । यो कार्यक्रम मेरो सबै भन्दाबढी मनपर्ने कार्यक्रम थियो । 

 

२०६३ सालमा एसएलसी पास गरें र प्लस टु अध्ययन गर्न भनेर कैलालीतिर आए । त्यति बेला म १५ बर्षको थिएँ । सायद सानै भएकाले होला त्यो बेलामा म पनि बोल्न पाए हुन्थ्यो भन्ने सोचनै आएन तर रेडियो भने खुब सुनिन्थ्यो ।

 

म कैलाली आउँदा धनगढीमा खप्तड एफ.एम र दिनेश एफ.एम मात्रै थिए । बिहानै कलेज जान्थें दिउँसो भरि रेडियो सुन्दै बस्थें । ठुला बा त रेडियो सुन्न आएको की पढन भनेर कराउनु हुन्थ्यो तै पनि वास्ता गरिन्नथ्यो । अब भने म मा विस्तारै रेडियोमा बोल्न पाए हुन्थ्यो भन्ने सोच पलाउन थाल्यो । एफ.एम मा प्रसारण भएको कार्यक्रमहरु सुनेर त्यस्तै कार्यक्रमको ढाँचा बनाएर मोवाईलमा रेकर्ड गरेर आफै सुन्थें ।  

 

म सानै देखि मिडियाप्रेमी भएकाले होला रेडियोमा अरुले समाचार बाचन गरिरहँदा र कार्यक्रमहरु संचालन गरिरहँदा मलाई निकै आनन्द लागिरहन्थ्यो । मनमनै सोच्ने गर्थें मैले पनि रेडियोमा बोल्न पाए कस्तो होला ? 

 

बोल्न सकुला की नसकुला ? केहि समय सोच्नमै बित्यो । सोच्दा सोच्दै प्लस टु पास भईयो । गर्मी धेरै हुने हुनाले तराई बस्न मन लागेन बि.एड पढ्न भनेर डडेल्धुरा शिक्षा क्याम्पसमा भर्ना भएँ । दिनमा कलेज जाने साँझ बिहानको साथी रेडियो नै बन्यो ।

 

 त्यो बेला डडेल्धुरामा आफ्नो एफ.एम मात्र थियो । २०६७ साल तिर डडेल्धुरामा दुई ओटा रेडियो स्थापना भए । रेडियो सुदुर आवाज र अमरगढी एफ.एम यी दुई रेडियो प्रसारणमा आए देखि म रेडियोकर्मी बन्ने अवसरको खोजीमा भौतारिँदै गएँ । 

 

रेडियो पत्रकार बन्ने तिब्र चाहाना केवल मन भित्र मात्रै सिमित रह्यो । म निरन्तर आफ्नो रेडियोकर्मी बन्ने चाहना पुरा गर्नको लागी अवसर खोजी रहेको थिएँ । तीनै रेडियोमा काम गर्ने चाहाना भएको भन्दै काम गर्ने अवषर दिन आग्रह गरेँ तर म सफल भएन । सबै जना भन्थे तिमी जस्तो मान्छेहरु धेरै आउँछन भाई कसलाई अवषर दिनुभयो भए विचार गराैंला बरु अरु नै काम खोज्नु भन्दा मन चसक्क दुख्थ्यो । तैपनि हार मानिनँ । 

 

२०६८ माघ तिरको हो फेरी रेडियो अमरगडिले समाचारवाचक, कार्यक्रम प्रस्तोता र बजार व्यवस्थापकका लागी कर्मचारी माग गरेको रहेछ । मेरो घरवबेटी दाई प्रकाश चन्द्र बुढा ऐर त्यति बेला सुदुर आवाजमा काम गर्नु हुन्थ्यो । 

 

अवसर छ राम्रो गरे भने अवसर दिईहाल्छन भन्नुभयो । काम गर्ने अवसर त पाईँदैन होला तै पनि आवेदन दिँदा के गयो र भन्ने मनसायले मन नलागी नलागी आवेदन दिएँ । 

 

सर्ट लिस्टमा परेकालाई मात्र बोलाईने भनियो । तेस्रो दिनमा रेडियो बाट फोन आयो र म हतार हतारमा रेडियोमा गएँ । त्यहाँ छत्र साँउद दाई र सुन्दर जैरु दाई दुबै जना बसिरहनु भएको थियो । दुबै जनाले प्रश्न गरे रेडियोमा के काम सक्छौ ? 

 

हजुरहरुले अवसर दिएमा समाचार पढने र कार्यक्रम चलाउने काम सक्छु होला मेरो छोटो जवाफ थियो । छत्र दाईले टेबुलमा भएको हिलटाईम्स पत्रिका हातमा दिएर यो समाचार पढ भन्नु भयो ।

 

 दुबै जनाले ल ठिकै छ काम गर्ने मनसायनै हो भने आजै देखि सुरु गर । सुरुमा एक्लै सक्दैनौ पहिले दुई तिन दिन लोकेन्द्रँंग कार्यक्रम चलाउ र राती दश बजेको दिनभर आज समाचार बुलेटिन पढ्नु भने । 

 

तालिमको नाममा त्यसै रेडियो बाट पाएको पाँच दिने तालिमले बिना नियुक्ति रेडियोबाट बोलेको दिन मेरो आवाज रेडियोबाट तरंगीत भएको दिन अहिले पनि मानस्पटलमा ताजै छ । 

 

मेरो आवाज पहिलो पटक रमाईलो दोहोरी साँझ बाट सुरु भएको थियो । त्यही दिन राती १० बजेकोे दिनभर आज समाचार बुलेटिन पनि पढियो । मनमा धेरै सपना बोकेर कामलाई निरन्तरता दिदै गएँ । आफुलाई स्थापित गर्न प्रेरणा र अवसर संगै चुनौतीहरु पनि थिए । रेडियोमा काम सुरु भएको एक हप्ता पछि मलाई कसैले पनि भर्खर आएको हो भनेर भन्न नसक्ने अवस्थामा पुगि सकेको थिएँ । सबैले एकदम राम्रो छ भन्दा औधी खुसी लाग्थ्यो । 

 

विस्तारै पत्रकारितालाई पनि बुझ्न थाले । त्यस पछि २०७० सालमा बझाङ जिल्लाको बझाङ एफ.एममा काम सुरु गरे । त्यसको दुई बर्ष पछि त्यतैको अर्को रेडियो सेती एफ.एम मा काम गर्न थालेँ । सामुदायिक रेडियोमा काम गर्दै जाँदा मैले धेरै अनुभवहरु बटुलने अवषर पाएँ ।

 

विस्तारै राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनमा पनि बझाङबाट रिपोर्टिङ गर्न थालेँ । लामो समयको दौरानमा मैले सामुदायिक रेडियोमा काम गरेको आफ्नो अनुभवहरु साटने अवसर पाएँ । नर्वे सरकारको सहयोगमा विश्व सामुदायिक रेडियोको छाता संगठन अमार्क एसिया प्यास्याफिक र रुपान्तर बंगालदेशको समन्वयमा हाल बंगलादेशको सामुदायिक रेडियोमा काम गर्दैछु । 

 

हाम्रो समाजले पत्रकार भनेपछि धेरै पैसा कमाउने पेशा हो भन्ने सोच्नु अन्यथा होइन होला । तर, पत्रकारको कमाई कस्तो छ भनेर भनी साध्य छैन । बिहान पाँच बजेदेखि राती दश बजेसम्म खटेर काम गरे पनि सहजै तलब न दिँदाको पिडा कति हुन्छ त्यो भोग्ने लाई थाहा होला । 

 

चाडबाड आउँदा परिवारका सबै सदस्यलाई एकसरो लुगा र एकछाक मिठो मसिनो खाना पुर्या‍उन पनि धाैं–धाैं को अवस्था हुँदो रहेछ । साँच्चै भन्ने हो भने मैले यो पेशाबाट कमाउन सकेको छैन । रेडियोमा काम गर्दा को पिडा पोखेर पनि साध्य छैन । छोरो काम गर्दैछ अब आफुलाई अलि राहात हुन्छ भन्ने आमाबुवाको सोचाई र कयौं रातहरु भोकै बसेको अनुभव मसँग ताजै छ । महिना महिना भाडा दिन आफसँग पैसा हुँदैनथ्यो ।

 

६ महिनामा एक चोटी घर भाडा दिएको तीतो अनुभव पनि संगालेको छु । घरबेटी दाई सोही क्षेत्रमा काम गर्ने भएकाले सञ्चारकर्मी पिडा उहाँलाई राम्ररी थाहा थियो । सायद त्यसैले पनि होला उहाँ केही पनि भन्नु हुँदैनथ्यो । 

 

डडेल्धुरा छोडेर बझाङ आएको तीन महिना पछि डडेल्धुराको घरभाडा तिरेको त्यो क्षण हिजै हो जस्तो लाग्छ । अहिले पनि घर आउदा जाँदा श्रीमतीसँग पैसा माग्छु । उनी पनि हाँसेर भन्छिन श्रीमतीले पाल्नु पर्ने कस्तो श्रीमान हो तपाई ? पनि खैर छोडि दिउँ यो दुख र पिडाको कुरा । 

 

यो पेशामा हाम्रो भेट ग्रामिणवस्तिका विपन्न व्यक्ति देखी ठुला ठुला नेता भनाउँदाहरु, सरकारी कार्यालयका प्रमुखहरु, राम्रो मान्छेसँग नि बसिन्छ नराम्रोसँग नि बसिन्छ । जो सुकैँंग भनि सहजै उठबस हुन्छ । जे होस आफु पत्रकार हुँ भनेर भन्न पाँउदा आफुलाई भाग्यमानी नै सम्झन्छु । 

 

कुनै नेता, हाकिम, अथावा गन्यमान्य ठुला मान्छेलाई लाई भेट्न सर्वसाधारण जनताले लाईन लाग्नु पर्दछ तर पत्रकार हुँ भनेर भन्दा भेट्न लाईन लाग्नु पर्दैन । यो पेशा सम्मानित पेशा भएको महसुश गर्दछु । कमाई पो छैन केहि नभए पनि नाम र ईज्जत त कमाएको छु नि भन्ने सोच हुन्छ ।  यात्राको क्रममा गाडीमा भेटिनेहरु हामी सबैका लागी अपरिचित नै हुन तर सञ्चारकर्मीलाई सबैले चिन्दा रहेछन ।  दाई तपाईको टिकट दिन्छौ खाना नास्ताको पैसा हामी तिर्छौं, तपाई नतिर्नुस भन्दा मन भक्कानिएर आउँछ । 

 

समाजले जसरी सञ्चार क्षेत्रलाई सम्मान गर्छ ठिक त्यसरी नै सञ्चारकर्मीहको राम्रो कमाई छ भन्ने पनि ठानेको छ । हुन पनि असार मसान्तमा सरकारी कार्यालयहरुमा धाउने, पैसाको लागी समाचारको बिषयलाई लिएर मोलमोहलाई गर्र्नेहरु पनि छन् ।

 

समाचारको बिषयलाई लिएर सडकमै, भट्टीमा, कार्यालयमा, सार्वजनिक स्थलहरुमा गाली गर्दैछन, ज्यान मार्ने धम्की दिन्छन, हातपात पनि गर्न पनि पछि पर्दैनन् । 

 

हामी सञ्चारकर्मीहरुले सञ्चारकर्मीहरुका स्थायी मित्र र स्थायी शत्रु कोही हुँदैन, सवालगत रुपमा शत्रु र मित्र बन्दै र फेरिदै जान्छन् । तर मैले चलाएको कलमले कोरिएका दुई अक्षरले धेरै मान्छेलाई खुशी बनाउदा म सन्तुष्ट हुन्छु । अरुको तुलनामा आर्थिक उपार्जन बाहेक अरु कुरामा सन्तुष्टि गर्ने ठाउँ छ । श्रीमतीको कमाई खाएर भएपनि यो पेशामा रहि रहेको छु ।

 

धेरै साथीहरु रेडियोमा बोल्न पाउने वित्तिकै आफुलाई रेडियोको बादशाहा नै सम्झन्छन् । समाचार लेखनको सिप छैन । कथा, कविता, चुटकिला, जीवनी के लेखेको हो थाहा हुदैन ? पत्रिका बेच्नेले पनि पत्रकार हुँ भन्दै थर्काएर हिँड्छन् । बोल्नु पर्ने कुरा बोलेका छन्, नबोल्नु पर्ने कुरा पनि बोलेका छन । सञ्चार आचार संहिताको पालनाको कुरा छैन । आज सम्मको अनुभवले मलाई धेरै सिकाएको छ । मैले त जति सिकें त्यो भन्दा दोब्बर त सिक्नु पर्ने उस्तै रहेछ । 

 

 

बेला बेलामा पत्रकारिता गर्ने साथीहरुले लेखेका यस्तै लेखहरु पढ्दा साँच्चै मलाई हेरेर मेरा कुराहरु लेखेको त हैन ? भन्ने जस्तो लाग्छ । एक खालको पहिचान, अनुभव, अनुभुति सवै कुरा यसै पेशामा भइयो । यो मिडियाको नसा पनि अचम्मको लागे पछि छुटयाउनै गाह्रो ! लत बसेपछि अरु पेशामा पनि मन नजाने । 

 

पत्रकार भएर समाजलाई बदल्ने आशमा आफ्नो स्वर सुकाउन  र कलम चलाउँन थालेको अहिले ६ वर्ष बितेको पत्तै भएन । अब एउटै धोको छ टेलिभिजनको पर्दामा देखिने । यो अवधिमा पाठकवर्ग र स्रोताको धेरै माया पाइयो । लाखौँ संघर्ष, हजारौँ  दुःख र केही मात्रामा सफलता मिलेको यो अवधिमा धेरै कुरा सिकियो ।

 

 

मलाई यो क्षेत्रमा प्रवेश गर्ने अवषर प्रदान गर्ने रेडियो अमरगढी एफ.एम ९७.४ मेघाहर्जप्रति सदैव सम्मान रहनेछ । मेरा अग्रज पत्रकार दाजुहरु जसले मलाई पत्रकारिताको आधारभुत ज्ञान दिनुभयो उहाँहरुलाई पनि विशेष आभार प्रकट गर्न चाहान्छु । विभिन्न सामुदायिक रेडियोमा काम गर्दै गर्दा सहयात्रामा रहनु भएका रेडियो अमरगढी एफ.एम ९७.४ मेघाहर्ज, रेडियो बझाङ एफ.एम ९१ मेघाहर्ज र रेडियो सेती एफ.एम ९३.६ मेघाहर्जका सम्पुर्ण सहकर्मी मित्रहरुलाई पनि विशेष धन्यवाद । आगामी दिनहरुमा पनि अग्रज दाईहरु र स्रोता दर्शक अनि पाठककोे सुझाव सल्लाह र सहयोगको अपेक्षा गर्दछु । 

 

(मकरराज धामी रेडियो सेती सामुदायिक एफ.एम बझाङका समाचार प्रमुख तथा कारोवार आर्थिक दैनिक र न्युज २४ टेलिभिजनका बझाङ सम्वादाता हुन । हाल उनी Experience Exchange  कार्यक्रम अन्र्तगत बंगलादेशको बर्गुना जिल्ला स्थित सामुदायिक रेडियो लोकोबेटार एफ.एम मा काम गर्छन ।)