राजनीति

वाम एकतामा 'अल्झन', कांग्रेस र मधेसीसँग मिलेर सरकार बनाउने सम्भावना बढ्याे

प्रचण्ड प्रधानमन्त्री, महन्थ ठाकुर राष्ट्रपति, मिनेन्द्र रिजाल सभामुख

सोमबार, २९ माघ २०७४ गते मा प्रकाशित

Deuba-Prachanda-Upendra-Mahanta

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले केही दिनअघि मात्रै ‘गम्भीर ऐतिहासिक निर्णय लिँदैछु’ भनी एउटा भाषण गरेका थिए ।

 

उनको यो अभिव्यक्तिलाई केही कोणबाट अचम्म मानिए पनि लगभग माओवादी र कांग्रेसबीच सरकार संचालनको कुरालाई लिएर अर्कै तालमेलको अभ्यास सुरु भएको बुझिएको छ ।

 

स्रोतका अनुसार माओवादी केन्द्रका नेता प्रचण्डले कांग्रेससँगै मिलेर नयाँ सरकार बनाउने तयारी सुरु गरेका छन् । यसका लागि मधेस केन्द्रित दलहरुले पनि साथ दिने बुझिएको छ ।

 

कांग्रेसकै आग्रह स्वीकार गरे उनी प्रधानमन्त्री बन्ने, राजपाका नेता महन्थ ठाकुर राष्ट्रपति, कांग्रेसका नेता केबी गुरुङ उपराष्ट्रपि, मिनेन्द्र रिजाल सभामुख बन्ने सम्भावना रहेकाे स्राेतले बताएकाे हाे ।

 

मधेसी फ्याक्टर

यदी नयाँ गठबन्धन बन्याे भने त्यसकाे फ्याक्टर मधेसी दलहरु हुनेछन् । फोरम र राजपाले चुनावपछि नै आफ्ना मुद्दा जसले सम्बोधन गर्छ उसैसँग सहकार्य हुने बताउँदैआएका थिए ।

 

नेकपा एमालेका नेताहरुले संविधान संशोधनको प्रस्तावप्रति कठोर बनेपछि पनि मधेसी दलहरु बरु कांग्रेससँग मिल्न तयार देखिएका हुन् । त्यसो त, संविधान संशोधनको पक्षमा कांग्रेस र माओवादी लचिलो बन्दैआएका थिए ।

 

अन्योल वाम एकता

पदीय भागबन्डाका कारण वाम एकता अन्योल भइरहँदा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र मधेसी दलहरुसँग नयाँ गठबन्धन थालेकाे स्राेतकाे भनाइ छ । माओवादी स्रोतका अनुसार एमाले नेताहरु पदीय भागबन्डालाई लिएर लचिलो बनेका थिएनन् ।

 

खासगरी दोस्रो तहका नेताहरुले पार्टी अध्यक्षलाई नै पदीय विषयलाई लिएर दबाब दिएपछि वाम एकता पनि अन्योल बन्दैआएको थियो । पार्टी एकतापछि आफूहरुको स्थान असुरक्षित हुने भएपछि उनीहरुले ओलीलाई दबाब दिँदैआएका थिए ।

 

सोही कारण पनि ओली आफ्ना अन्य नेताहरुलाई चिढाउन चाहँदैनथिए । ‘आफ्नै पार्टीका नेताहरुलाई चिढाएको खण्डमा एकतापछि उनीहरु प्रचण्डसँग मिल्ने खतरा देखिँदा ओली आफैँ वाम एकताप्रति शशंकित भएका हुन्,’ माओवादीका एक नेताले भने, ‘एकता हुनुअघि नै प्रचण्डले एमालेका नेताहरुसँगै नयाँ चलखेल सुरु गरेपछि ओली एकतादेखि तर्सिएका हुन् ।’