मुख्य समाचार

राजनीति

पुल्चोकमा रहेको मन्त्री निवास भैंसेपाटीमा सार्ने 

बिहिबार, २० मङि्सर २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

पुल्चोकमा रहेको मन्त्री निवास भैंसेपाटीमा सार्ने 

काठमाडौं । सरकारले ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवासलाई भैंसेपाटीमा सार्ने भएको छ ।

 

मन्त्रिपरिषद्को पछिल्लो बैठले  ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवासलाई भैंसेपाटीमा सार्ने तथा पुल्चोकमा भने विशिष्ट व्यक्तिहरुको आवासका भवन बनाउने निर्णय गरेको छ । गत १७ गते मन्त्रिपरिषद्को बैठक बसेको थियो । 

 

 

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन्।

 

 

मन्त्री बाँस्कोटाका अनुसार बैठकले राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा भवन निर्माणको निर्णय गरेको हो । यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि १४ वटा अवास तथा सम्पर्क कार्यालय बनाइनेछ ।


हाल पुल्चोकमा रहेका मन्त्री निवासका १० वटा भवन भने राजकीय अतिथि भवन बनाइनेछ । यसका लागि जग्गा अभाव भएमा राष्ट्रिय पुस्तकालय छेवैमा रहेको सरकारी जग्गा समेत उपयोग गर्न सकिने सरकारको निर्णय छ ।

 

 

बैठकले नेपाल भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको स्थापना गर्दा विस्थापित भएर घरबारविहीन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रुपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

 

 

 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय पनि बैठकले गरेको छ । देवकोटाको जन्म जयन्तीका दिन प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देवकोटाको घरलाई संग्रहालय बनाउने घोषणा गरेका थिए।

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको घोषणालाई अनुमोदन गरेको हो।

नेपाल र श्रीलंकाबीच संयुक्त हुलाक टिकट प्रकाशन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ। त्यस्तै, मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा विराटनगरका रमेशकुमार पोखरेललाई नियुक्त गरेको छ।