कभर स्टोरी

भिडियो

व्यापार

नेपालीहरु कफी पिउँछन् तर धेरै कुरा बुझ्दैै नबुझी (भिडियोसहित)

देवकाेटाकाे कफी यात्रा, स्टारबक्सदेखि हिमालयन जाभासम्म

बुधबार, १९ मङि्सर २०७५ गते प्रकाशित
- नेपाल आज

नेपालीहरु कफी पिउँछन् तर धेरै कुरा बुझ्दैै नबुझी (भिडियोसहित)

काठमाडौं । नेपालमा ‘फ्रेस कफी कल्चर’को शुरूवात भएको धेरै समय भएको छैन । सन् १९९९ मा स्थापना भएको हिमालयन जाभाले नेपालमा पहिलो पटक ‘कफी कल्चर’ भित्र्यायो । शुरूवाती दिनमा मानिसहरू बिरलै आउँथे । १० जना कफी खान आउँदा ५ जनाले पैसा नतिरी गाली गरेर हिँडेका यावत् कथा जाभासँग जोडिएका छन् । तर अंग्रेजीमा एउटा भनाइ नै छ ‘प्यासन ब्रिंग्स पर्फेक्सन’ । जाभाको हकमा पनि यस्तै भयो । हाल क्यानडाको टोरोन्टोदेखि अमेरिकाको न्यूयोर्कसम्म र नाम्चेदेखि जोमसोमसम्म हिमालयन जाभाको ब्राण्ड फैलिएका छन् । 

 

नेपाली कफीले विश्वस्तरमा नाम कमाएको छ । सन् २०१८ सम्म आउँदा हिमालयन जाभाले नेपालमा कफी कल्चरको विकासमात्र हैन, कफीसम्बन्धी ‘बारिस्टा’ (सामान्यतःकफी बनाउने तालिम)तालिम दिएर युवालाई स्वरोजगार बनाएको छ । यसका साथै विदेश जाने युवालाई पनि हातमा सीपसहित पठाउन मद्दत पुर्‍याएको छ । 

 

 

शुरूमा जाभाको कफी सपमै पनि सामान्य तालिम दिइन्थ्यो ।  यतिले नपुगेर हिमालयन जाभाका मुख्य संस्थापक गगन प्रधानले कफी स्कुल नै खोल्ने विचार गरे । गगनको यही सहकार्यमा जोडिए माधव देवकोटा । जसले दुबाइस्थित स्टारबक्समा आठवर्ष बारिस्टाको रूपमा काम गरेका छन् । ‘स्टारबक्स’ विश्वस्तरमा चर्चित कफी मानिन्छ ।  

 

सन् १९९९ मा हिमालयन जाभा भर्खरै सञ्चालनमा आएको थियो । त्यतिबेला देवकोटा लाजिम्पाटस्थित र्‍याडिसन होटलमा वेटरको रूपमा कार्यरत थिए । कामको शिलशिलामा एकदिन उनको भेट डायना नामका एक विदेशीसँग भयो । जसले उनलाई स्टारबक्समा काम गर्ने अफर गरे । बुझ्दै जाँदा त्यहाँ कामदारको तलब पनि आकर्षक रहेको  देवकोटाले थाहा पाए । त्यसपछि त उनलाई साथीहरूले पनि हौसला दिन थाले, ‘यो काम त जसरी पनि गर्नै पर्छ’ भनेर । उनले पनि स्वीकार गरे । 

 

स्टारबक्स काम गर्ने थलो भन्दा पनि यूनिभर्सिटिजस्तो भएको उनको अनुभव छ । आठ घण्टाको ड्यूटीबाहेक पनि त्यहाँ सिक्न पाइन्थ्यो । बिस्तारै उनी सुपरभाइजरसमेत भए । आठ वर्षपछि विदेश बसाइलाई छोडेर उनी नेपाल फर्किए । नेपाल आएको एक वर्षजति त उनलाई नेपाली वातावरणमा पूनः घुलमिल हुनै समय लाग्यो । त्यसपछि केही त गर्नुपर्छ भनेर ठमेलस्थित मनाङ होटलमा बारिस्टा ट्रेनिङ गराउन थाले । 

 

त्यहाँको कन्ट्राक्ट सकिएपछि हिमालयन जाभामा पनि पनि बारिस्टा ट्रेनिङ गराउने प्रस्ताव उनले गगन प्रधानलाई राखे । शुरूमा तीन चारजनाबाट तालिम दिने काम शुरु भयो । एकले अर्कोलाई भन्ने क्रमले बढ्दै गयो र विद्यार्थी बढ्दै गए । आजसम्म त्यही क्रम जारी नै छ । हाल उनले तालिम दिएका विद्यार्थी कोही विदेशमा छन् त कोही स्वदेशमै आफैं कफी सपको व्यापार गरेर बसेका छन् । 

 

विदेशमा भएका विद्यार्थीसँग पनि उनी बेलाबेलामा कुराकानी गरिरहन्छन् । कुन कुरामा सुधार ल्याउने भन्नेबारे सल्लाह सुझाव लिन्छन् र त्यसलाई व्यवहारमा उतार्छन् । 

 

त्यसो त देवकोटाले र्‍याडिसन काम गर्दा पनि त्यतिबेला क्याफे लाटे, क्यापुचिनो बनाउने गर्थे । कफी बनाउने अत्याधुनिक मेसिन पनि थिए र्याडिसनमा । तर ती मेसिनको उचित प्रयोग भने हुन्थेन । मेसिनबारे विस्तृत रूपमा उनले दुबाई गएर नै सिके । नेपालमा हुँदा मेसिन सफा गर्न दश मिनेट पनि खर्च गदैन थिए । जबकि त्यो मेसिन सफा गर्न कम्तिमा २ घण्टा लाग्थ्यो । त्यो कुरा उनले दुबई  पुगेर  थाहा पाए ।    

 

उनले धेरै नेपाली हतारमा विदेश जाने उता गएर दुुःख पाएको देखेका थिए । विदेशमा हुँदा एकदम थोरै नेपालीले पाउने काम पाएका थिए उनले । जसकारण उनले सिक्ने अवसर पनि धेरै पाए । नेपाल आएर कहीँं न कहींँ ती कुराहरू लागू गर्ने उनको सोच थियो । त्यस्तैगरी नेपालमा जागिर पाइएन भन्दै गुनासो गर्नेहरू पनि धेरै देखे उनले । यत्तिकैमा बारिस्टा ट्रेनिङ त्यसको माध्यम बन्यो । जसले उनका इच्छा र अनुभव दुवैलाई परिमार्जित गरेर अघि बढायो । 

 

">

 

अहिले हिमालयन जाभा बारिस्टा कफी स्कुलले अन्तर्राष्ट्रिय स्तरको तालिम दिने गरेको उनको भनाइ छ । ‘यहाँ सिक्ने विद्यार्थी जहाँ पनि फिट हुन्छन् । हिमालयन जाभाले गुणस्तरलाई अपनाउँछ । हामी गुणस्तरमा सम्झौता नै गर्दैनौं । हामी कतै पनि विज्ञापन गर्दैंनौं । किनभने मानिसले गरेको रिकमेन्ड नै ठूलो कुरा हो । विद्यार्थीले नै अरूलाई रिफर गर्छन्’, उनले भने ।  

 

सामान्यतः बारिस्टा भनेको  कफी बनाउनेमात्र होइन । सामान्य बरिस्टाले सिक्नुपर्ने ड्रिंक बनाउनेमात्र होइन त्यहाँको सरसफाइ गर्ने, मार्केटबाट अर्डर गर्ने, स्टकलाई व्यवस्थापन गर्ने, सर्भ गर्ने, नयाँ आउने स्टाफलाई तालिम दिने, कफीबारे ज्ञान राख्ने सबै जान्नुपर्छ । यसका साथै मेसिनमा आउने सामान्य समस्या हल गर्ने, मेसिनको सफा गर्ने, मेसिनलाई माया गर्ने सबै बारिस्टाको काम हो ।   

 

नेपालमा अहिले पनि धेरैजसोले कफी ‘फेसन’ को रूपमा पिउने गरेको उनको बुझाइ छ । भन्छन्, ‘अहिले धेरैले यसको स्वाद थाहा पाइसके । तर अधिकांशले त फेसनले नै कफी खाइरहेका हुन्छन् । सामान्य फोटोमात्र खिच्न पनि स्टारबक्समा धेरैजना पुगेका हुन्छन् । त्यस्तै अहिले हिमालयन जाभामा पनि छ ।’ 

 

मानिसले घर र कार्यालय पछि साथीहरूसँग समय बिताउँछ र साथीहरूसँग समय बिताउनको लागि अब विस्तारै कफी सप मानिसको रोजाइमा पर्ने संस्कृतिको विकास भइरहेको उनको बुझाइ छ । 

 

अन्तर्राष्ट्रिय बजारमा नेपालको कफी ‘प्रिमियम’ मानिन्छ । विश्वस्तरमा हेर्दा नेपालको कफीलाई कोस्टारिकन कफीजँग दाँजिन्छ जुन विश्वकै टप १० कफीमध्येमा पर्छ । त्यसमाथि पनि हिमालयन जावाको प्रभावका कारण पनि नेपाली कफी अन्य भन्दा धेरै फरक छ । देवकोटाको अनुसार नेपालको कफीमा ९०० प्रकार चाहीं ‘रिफाइन फ्लेभर्ड’ मानिन्छ । जुन भनेको मगमग बास्ना आउने कफी हो । 

 

तर त्यही कफीलाई बजारमा लैजादाँसम्म धेरै समस्या छ । यहाँका प्रविधि र किसानको काम गर्ने तरिका फरक छ । नेपालमा अहिले पनि ११ लाख हेक्टर जमिन कफी लगाउन योग्य छ जसमा मात्र २ हजार प्रयोगमा छन् । नेपाली कफीको माग अन्तर्राष्ट्रिय बजारमा एकदमै धेरै छ तर आपुर्ति एकदम न्यून । 

 

विशेषगरी राज्यको नीति पनि मुख्य समस्या बनेको छ । यो  वाहेक किसानलाई हौसला र ज्ञान दिने कुराको कमी, कफीमा आउने रोगका कारण पनि नेपालमा कफीको आपुर्ति कम छ ।   

 

बारिस्टा तालिम दिन चाहने व्यक्तिहरूलाई इंगित गर्दै उनले भने, ‘बारिस्टा तालिम लिन चाहनेहरूले कति घण्टा सिकाइन्छ र त्यसको करिकुलमबारे बुझ्नुपर्छ । कति दिनसम्म होइन कहाँदेखि कहाँसम्म सिकाउनुहुन्छ भनेर हेर्नुपर्छ । त्यसपछि इन्टर्न पाइन्छ कि पाईंदैन भन्नेबारे थाहा पाउनुपर्छ । इन्टर्न गरिएन भने वास्तविक सिनारियो थाहा हुँदैन । ग्राहकले सबै कफीको नाम थाहा हुन्छ भन्ने छैन । त्यसकारण मैदानमा गएर काम तालिममा सिकेको कुरा उतार्न सक्नुपर्छ ।’

 

अहिले पनि नेपालमा धेरै युवा देशमा केही छैन भनेर बसेको देख्दा देवकोटालाई दिक्क लाग्छ । सीप सिक्यो भने केही खेर नजाने र कुनै पनि सिप सिक्दा नेपालमा गर्न सकिने ठाउँ धेरै भएको उनको बुझाइ छ । भन्छन्, ‘सबभन्दा पहिला ह्यान्ड्स अन स्किल सिक्नुस् । सीप एकदम महत्वपूर्ण हुन्छ ।’