खेल

ए डिभिजन लिग  : थ्रीस्टार र च्यासल विजयी 

बुधबार, १९ मङि्सर २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

ए डिभिजन लिग  : थ्रीस्टार र च्यासल विजयी 

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्र्तगत बुधबार भएको खेलमा थ्रीस्टार क्लब र च्यासल युथ क्लब विजयी भएको छ । 

 

 

हलचोकस्थित एपीएफको खेल मैदानमा भएको खेलमा थ्रीस्टार क्लबले सरस्वती युथ क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको छ । दोस्रो स्थानमा लैजाने क्रममा थ्रीस्टारका लागि  रञ्जित धिमाल र निराजन खड्काले गोल गरे । यता सरस्वतीका लागि भने एकमात्र गोल भिक्टोर अमोभीले गोल गरेका थिए ।

 

 

 

खेलमा सुरुवाती अग्रता भने सरस्वतीले लिएको थियो । उसका लागि खेलको तेस्रो मिनेटमा भिक्टोरले गोल गरे । तर उक्त अग्रता धेरैबेर टिक्न सकेन । 

खेलको १६औं मिनेटमा रञ्जितले बराबरी गोल गरे । खेलको ३६औं मिनेटमा निराजनले गोल गर्दै थ्रीस्टारलाई २-१ गोलको अग्रता दिलाएका थिए ।दोस्रो हाफमा भने दुवै पक्षबाट कुनै गोल हुन सकेन । 

जितसँगै दोस्रो स्थानमा उक्लिएको थ्रीस्टारले उक्लिदा मनाङसँग अंक दूरी घटाएको छ । ६ खेलबाट थ्रीस्टारको १५ अंक भएको छ भने सबै खेल जितेको मनाङ १८ अंकसहित शीर्ष स्थानमा छ । पराजित सरस्वतीको भने ६ खेलबाट ६ अंक मात्रै छ ।

 

 

यस्तै बुधबार नै भएको अर्को खेलमा च्यासल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा च्यासलका लािग सन्तोष साहुखल र सुनिल खड्काले गोल गरे । हिमालयन शेर्पाका लागि भने त्रिदेव गुरुङले गोल गरेका थिए ।

 

 

खेलमा सुरुवाती अग्रता हिमालयन शेर्पाले लिएको थियो । उसका लागि खेलको १५ औं मिनेटमा गुरुङले गोल गरेका थिए । 
 च्यासलले खेलको दोस्रो हाफमा दुबै गोल गरेको हो । च्यासलका लागि खेलको ५६ औँ मिनेटमा  साहुखलले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि ७३ औँ मिनेटमा सब्स्टिच्यूट खेलाडी सुनिल खड्काले च्यासलका लागि गोल गर्दै खेल दुई–एकको अवस्थामा पुर्याए ।