मुख्य समाचार

निर्मला हत्या प्रकरण : शंकाको घेरामा रहेको भन्दै काठमाडौंबाट एक युवक पक्राउ 

पक्राउ परेका युवकको डीएनए परिक्षणका गरिने

बुधबार, १९ मङि्सर २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

निर्मला हत्या प्रकरण : शंकाको घेरामा रहेको भन्दै काठमाडौंबाट एक युवक पक्राउ 

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला पन्तलाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले काठमाडौंबाट एक युवालाई पक्राउ गरेको छ।

 

 

पक्राउ पर्ने कञ्चनपुरकै २२ बर्षीय युवक रहेको  प्रहरी स्रोतले जानकारी दिएको छ । उनको नाम भने सार्वजनिक गरिएको छैन । घटनामाथि अनुसन्धान गर्ने क्रममा उनलाई पनि शंकास्पदको सूचीमा राखेको थियो । 

 

 

 

उनी घटनाका बेला गाउँमा नै थिए। घटनापश्चात काठमाडौंमा रहेको देखिन्छ ।  उनको गतिविधिका आधारमा संलग्न छन् कि भन्ने शंका लागेर  पक्राउ गरेको स्रोतले बताएको छ ।  पक्राउ गरेका युवकका परिवारले भने उनी भारत गएको भन्दै आएका थिए । तर ,सीआईवीको टोलीले उनलाई मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो ।

 

प्रहरी स्रोतका अनुसार ती युवकको डीएनए परिक्षणका लागि नमुना समेत संकलन गरी विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । डीएनए रिपोर्ट नआएसम्म युवक हिरासतमा रहने प्रहरीले जनाएको छ ।

४ महिना पुग्दा पनि निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा को संलग्न थिए भन्ने पत्ता लगाउन प्रहरीले सकेको छैन।

 

 

निर्मला बलात्कार र हत्या घटनाको छानबिनमा सरकार र प्रहरीले गरी आधादर्जन समिति गठन गरे। ती समितिले उक्त घटनाको अनुसन्धानमा प्रहरी लापरबाही भएको मात्र निष्कर्ष निकाल्दै आएको छ ।