बिचार

प्रधानमन्त्रीप्रति जनआक्रोश चुलियो 

    पूर्ण ओली

मङ्गलबार, १८ मङि्सर २०७५ गते प्रकाशित
- नेपाल आज

प्रधानमन्त्रीप्रति जनआक्रोश चुलियो 

कुनै समयका लोकप्रिय प्रधानमन्त्री केपी ओली निर्मला हत्याकाण्डपछि क्रमशः अलोकप्रिय हुँदै गएका छन् । भर्खर समाप्त भएको  क्रिष्चियन  धर्म प्रचारक आइएनजिओले आयोजना गरेको बिवादास्पद एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री सक्रिय भएर लागेपछि अधिकांश नेपाली जनता झनै आक्रोसित भएका छन् । ८० प्रतिशतभन्दा बढि नेपाली जनताले नचाहँदा नचाहँदै  हिन्दु राष्ट्र हटाएर नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएपछि सरकार आफैं एउटा धर्मको पछि लागेको आभास पाइएको छ । परिवार दलका नेता एकनाथ ढकालको उक्साहटमा दल र सरकारकै बदनाम हुनेगरी आयोजना गरिएको आयोजनाबाट प्रधानमन्त्रीको सस्तो प्रचार गरिएको यस कार्यक्रमबाट नेपाली जनताले पाउनेभन्दा बढी गुमाउनु पर्नेछ । कुनै धर्मसँंग बैमनस्यता नभएका हिन्दु बौद्धधर्मालम्बीहरुलाई फुटाएर क्रिष्चियन धर्मालम्बीको संख्या बढाएर समाजभित्र आपसी द्वन्द्व निम्त्याउन यस समिटले मलजल अबश्य गर्नसक्छ । 

 

    सरकारका दलभित्रका प्रमुख नेता माधबकुमार नेपालसमेतको सक्रियतामा यो आयोजनालाई सफल पार्न कुनै कसर बाँकी राखिएन । यसमा नेपाल सरकारको सक्रिय सहभागिता, शुरक्षा निकायको व्यस्तता जनतालाई परेको सास्तीको बाबजुद पनि देशको लागि कुनै उपलब्धीमुलका यो कार्यक्रम भएन । अहिले सरकारबाट नेपाली जनताले यस्ता अनावश्यक कार्यक्रममा समय बर्बाद गरेर यति धेरै बिदेशीलाई नेपालमा स्वागत गर्न कुनै फलदायी देखेको छैन । प्रधानमन्त्रीलाई लिडरसिप र शुसासनको नाममा एक लाख डलर दिएर उक्त आयोजना नेपालमा गरी आतिथ्य सत्कार गरेकोमा सधन्यबाद दिएको देखिन्छ । अब कार्यक्रम सकिएको छ ।  सरकारबाट यस्को पुष्ट्याइँ बिस्तारै आउला र नेपाली जनताले पनि यस्लाई बिस्तारै भुल्दै जानेछन् तर बिरोधी दललाई भने यसले लामो समयसम्म मसला दिनेछ , जुन स्वभाविक पनि छ ।

 

    अहिले नेपाली जनता त्यस्ता बिदेशी अतिथिलाई स्वागत गर्न चाहन्छन् जसले नेपाली जनताको हित हेर्छन्  । जसले खुलामनले नेपालको बिकास गर्न चाहन्छन् । जस्ले नेपाली जनतालाई हार्दिकतापुर्बक माया गर्छन् अनि उनीहरुको दुःखसुखमा साथ दिन्छन् । लामो समयदेखि प्रतीक्षारत चिनियाँ राष्ट्रपति सि जिङपिङको भ्रमण अहिलेसम्म नेपाल सरकारले गराउन सकेको छैन । जसले गर्दा नेपाल–चीनबीच भएका धेरै सन्धि समझदारी  कार्यान्वयन हुन सकेका छैनन् । यदि हामीले बिदेशीको भेला गराउने हो भने हाम्रा देशका खानीहरु उत्खनन् गर्न, राजमार्गहरुमा बिजुली, टेलिफोन, फाइवर केवलका तारहरु बिछ्याउन सहयोग गर्नेगरी कार्यक्रमहरु ल्याइयोस् ।

 

 हाम्रा पहाडमा बगेर खेर गइरहेका नदी खोलाहरुको पानीलाई लिफ्टीङ मेथडबाट पानी माथि तानेर हाम्रा असंख्य बाँझा खेतबारीमा सिचाइं गर्ने कार्यक्रमहरुमा, तराईंका ठूला सिँचाई आयोजनाहरु, मल कारखानाजस्ता योजनाहरुमा सहयोग गर्नेगरी बिदेशी  भेला गराईयोस् । हाम्रा जलबिद्युत आयोजनाहरु शीघ्र निर्माणगरी देशको बिजुलीको माग शीघ्र पूरागरी बिदेश पनि निर्यात गर्ने गरी बिदेशी  दाता तथा सहयोगी पाहुनाहरु बोलाइयोस् । 

 

अनि नेपाली जनताले पनि पाहुनाहरुलाई हार्दिकतापुर्बक स्वागत गर्नेछन् । देशको आधारभुत बिकासका प्राथमिकता के मा दिन आबश्यक हुन्छ सरकारमा बस्नेहरुले सोच्नैपर्छ ।  

 

    अब पनि धर्म प्रचार गर्न, मानबअधिकारको नाममा होटलहरुमा कार्यक्रम, बिदेशी रोजगारमा पठाउनेजस्ता सेमिनार, गोष्ठी, भेला गरेर हामीले देशको  बिकास गर्न सक्दैनौं  । यसबाट केही ब्यक्तिलाई प्रसस्त डलर आउला नाम पनि चल्ला तर यसबाट गरीब नेपाली जनताले केहि पनि पाउने छैनन् । त्यसैले प्रधानमन्त्रीले अब पनि  गलत ब्यक्तिको सल्लाहमा नलागी नेपाली जनताको हितमामात्र ध्यान पुर्‍याइ नेपालको चाँडो बिकास गर्नमा समय लगाउं । किनकि अब प्रधानमन्त्री र जनता दुबैसंँग अत्यन्त कम समयमात्र बाँकी छ । हामी अझै पनि अहिले प्रधानमन्त्रीको बिरोधभन्दा देशको लागि केही होस भनि बारम्बार घचघच्याउन मात्र प्रयासरत रहेका छौं । यसलाई सकरात्मरुपमा लिएर जनताका निराशा हटाउने भरमग्दुर प्रयास होस् । यसमा सरकार र देश दुबैको भलो हुनेछ । 


– - [email protected] _

  चाबहिल सरस्वतीनगर काठमाण्डौ
    २०७५ मंसिर १८