राजनीति प्रदेश ६

टुक्रे योजनामा गरिने लगानीले कर्णालीको समृद्धि हुँदैनः मुख्यमन्त्री शाही

टुक्रे योजनामा गरिने लगानीले कर्णालीको समृद्धि हुँदैनः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एसियाली विकास बैंक (एडिबी) को लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा हुनुपर्ने बताएका छन् ।

 

 

एसियाली विकास बैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति (२०२०–२०२४) का सन्दर्भमा वीरेन्द्रनगर, सुर्खेतमा सोमबार आयोजित ‘सङ्घीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालसँगको छलफल तथा परामर्श’ कार्यक्रममा मुख्यमन्त्री शाहीले विगतको जस्तो नभई हाल सरकारले लिएका प्राथमिकताका क्षेत्रमा लगानी हुनुपर्नेमा जोड दिए । 

 

‘कर्णाली प्रदेशमा सडक, विद्युत्, उद्योग, पर्यटन र कृषि क्षेत्रका बृहत परियोजनामा लगानीको आवश्यकता छ’ उनले भने, ‘एसियाली विकास बैंकको आगामी रणनीति यसतर्फ केन्द्रित हुनुपर्छ ।’

 

कार्यालयको कागजे कामले कर्णालीको विकास सम्भव नभएको उनको भनाई थियो । ‘तपाईंहरुले देखिने गरी पूर्वाधारका क्षेत्रमा लगानी गरिदिनोस्, तत्काल सम्भव भएसम्म कोहलपुर–सुर्खेत सडकलाई ६ लेनको बनाइदिनुस्’ उनले भने । 

 

एसियाली विकास बैंकले नेपालमा ठूलो मात्रामा लगानी गरेको भए पनि त्यसको परिणाम नदेखिएको भन्दै उनले नेता र पहुँचको आधारमा टुक्रे योजनामा गरिने लगानीले कर्णालीको समृद्धि नहुने तर्क राखे। 

 

एउटा मात्रै भए पनि पूर्वाधारको क्षेत्रमा लगानी भएमात्र त्यसको परिणाम देखिने उनको भनाई थियो । ‘कर्णालीको विकासका लागि द्रूतमार्ग अपरिहार्य छ’ उनले भने । 

 

कर्णालीको गरीबी र विकटता बेचेर व्यक्तिगत समृद्धि हासिल गर्ने प्रवृत्ति हावी भएकाले परिणाममुखी काममा मात्रै हात हाल्न दाताहरुलाई उनले आग्रह गरे । 

 

प्रदेश सरकारको तर्फबाट दाताहरुको लगानीको सदुपयोग गर्न र पारदर्शी कार्य गर्न आफू प्रतिबद्ध रहेको उनको धारणा थियो । 
 

मुख्यमन्त्री महेन्द्रबहादुर शाही टुक्रे योजना