स्वास्थ्य

औषधि पसलमै लागूऔषध भेटियो !

मङ्गलबार, १८ मङि्सर २०७५ गते प्रकाशित
- नेपाल आज

औषधि पसलमै लागूऔषध भेटियो !

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रका औषधि पसलहरुमा प्रतिबन्धित तथा अवैध औषधि खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ ।

 

 

औषधि विभागमा दर्ता नै नभएका र लागुऔषधको रुपमा प्रयोग गर्ने गरेका ती औषधि खुलेआम रुपमा बिक्री वितरण भइरहेको भेटिएको हो ।

 

 

सोमबार अनुगमन टोलीले अनुगमन गर्ने क्रममा अर्जुनधारा नगरपालिका क्षेत्रका औषधि पसलमा मेडासलिक स्किन साइन, इलोसन इएचटी नामक नेपालमा प्रतिबन्धित औषधि भेटेको हो । त्यस्ता औषधि अनुगमन टोलीले जफत पनि गरेको छ ।

 

 

बिर्तामोड र भद्रपुरमा व्यवसाय गर्दै आएका धर्म साहबाट त्यस्ता औषधि आयात हुने गरेको अनुगमनको क्रममा खुलेको नगरपालिकाका स्वास्थ्य संयोजक मुकुन्द बस्नेतले बताए ।

 

 

नगरपालिकाले सोमबार अर्जुनधारा नगरपालिकाको खुदुनाबारी बजार क्षेत्रका औषधि पसल सहित विभिन्न ४२ वटा पसलमा अनुगमन गरेको थियो ।

 

 

चाडपर्वको समयमा मात्र अनुगमन गर्ने र अन्य समयमा छाडा छोडिदिँदा उपभोक्ता ठगिने गरेको गुनासो आएपछि नगरपालिकाको अनुगमन समितिले अनुगमन गरेको हो । यो समाचार अन्नपूर्ण पोस्टबाट लिइएको हो ।