मेरो परिवार मेरो कथा

चटपटे र पानीपुरी बेचेरै राजधानीमा घर ठड्याउँदै रामप्रवेश यादव

- शकुन्तला लोथ्याल

चटपटे र पानीपुरी बेचेरै राजधानीमा घर ठड्याउँदै रामप्रवेश यादव

काठमाडौं । आफ्नो देशमा सुन्दर भविष्यको अवसर नदेखेर कयौं युवा सुनौंला सपनासहित बर्सेनि विदेश पलायन हुने गर्छन् । छोरा कुन देशमा छभन्दा पनि छोरा कुन ‘कन्ट्री’ मा ? छोरी कुन ‘कन्ट्री’ मा ? भन्न रुचाउँने नेपाली अलि धनी, हुनेखाने वर्गका आमाबुबा गर्वले छाती चौडा पार्दै अस्ट्रेलिया, अमेरिका जस्ता धनी र विकसित देशका नाम लिने गर्छन् भने गरिखाने वर्ग त्यसैअनुसारका ‘कन्ट्री’ का नाम नहिच्किचाई लिने गर्छन् । किनभने आजभोलि विदेशी रूपैयाँको सामु नेपालीको सोच र स्वाभिमान सानो हुने गरेको छ । आफ्नो देशमा बसेर गरिखानुभन्दा विदेशिनुमा नै भविष्य देख्ने र गौरव गर्ने नेपाली प्रवृति नौलो हुन छोडिसक्यो ।

 

तर, यस्ता नेपाली पनि छन् जसले आफ्नै देशमा सुन्दर भविष्य देख्छन् र त्यसलाई पूरा पनि गर्छन् । ती व्यक्तिमध्ये एक हुन्, बारा जिल्लास्थित जितपुरका ३५ वर्षीय रामप्रवेश यादव । जो, इमाडोलको विनायक टोल प्रवेश गर्ने गेटममा बिहान ११ बजेदेखि राति ८ बजेसम्म जाडोयामको जाडो, गर्मीयामको गर्मी अनि वर्षातको पानी र हिलोलाई बेवास्ता गरी आफ्ना चटपटे–पानीपुरी ग्राहकलाई मिठो मुस्कानका साथ स्वागत गर्छन् । यसरी चटपटे–पानीपुरीको व्यापार गरी मासिक लाखौँको आम्दानी गर्दै आएका छन् ।

 

जीविकोपार्जनको लागि काठमाडौं आएका यादवले चटपटे–पानीपुरी नै आफ्नो व्यवसाय बनाएका छन् । हाल उनलाई उक्त पेसामा लागेको १० वर्षभएको छ ।

 

घरको कमजोर आर्थिक स्थितिका कारण यादवले पढाइलाई ५ कक्षा मै पूर्णविराम दिनुपरेको थियो । घरको जेठो छोरा, बुबा बिरामी नै भइराख्ने र १८ वर्षकै कलिलो उमेरमा वयिवाह बन्धनमा बाँधिएपछि घरपरिवार हेर्नुपर्ने पूरै जिम्मेवारी उनको काँधमा आयो । कृषि गरेर खानलाई पनि आफ्नो जग्गाले नपुग्ने भएपछि केही गरौं भन्ने उद्देश्यले काठमाडौं हिँडेका यादव आफ्ना ग्राहकका लागि चटपटे बनाउँदै आफ्नो विगतलाई यसरी सम्झन्छन् ।

 

‘शुरुवाति दिनमा धेरै गाह्रो थियो । घरको जिम्मेवारी पुरा गर्न काडमाडौं आएर होटलमा काम गरे त्यही पैसाले चटपटे व्यपार शुरु गरेँ', उनले विगत सम्झिँदै भने, 'शुरुमा प्राय जस्तो मानिस अपहेलित शब्दले बोलाउँने, हेप्ने जस्ता दुर्व्यवहार गर्थे । वर्षातको बेला गोदावरीबाट इमाडोल हुँदै बग्ने ‘कर्मनसा’ नदी वारपार आवतजावत गर्न समेत घन्टौं हिड्नुपर्ने बाध्यता थियो ।' अनेक समस्याहरुलाई छिचोल्दै आफ्नो व्यवसायलाई निरन्तरता दिँदै आएका यादवलाई पहिलेभन्दा आजकल धेरै सजिलो छ । कमाई पनि धेरै राम्रो छ, ग्राहक पनि प्राय सबै चिनेकै हुन्छन् ।

 

शुरु–शुरुमा दैनिक १ हजार देखि १५ सय सम्म कमाउँदै गरेका उनले हाल दैनिक ३ हजार देखि ३५ सय सम्म र राम्रो व्यापार भएको दिन ४ हजार सम्म कमाउँने गरेका छन् । मासिक १ लाख ‘क्रस’ आम्दानीको  ५० हजार चटपटे–पानीपुरीको सामान किन्दा लगभग ५०–६० हजार बचत हुने यादव बताउँछन् ।

 

त्यसपछि चटपटेबाट राम्रो आम्दानी देखेर यादवले वैदेशिक रोजगारका लागि मलेसिया गएका भाइ दिपेन्द्र यादवलाई समेत त्यहाँबाट बोलाएर चटपटे व्यवसायमा नै आबद्ध गराए । चटपटे–पानीपुरीबाट सरकारी जागिरेहरुले भन्दा धेरै आम्दानी गर्छन् ।  

अहिले दुवै दाजुभाइले चटपटे व्यवसायबाटै मासिक लाखौं आमदानी गर्छन् । चटपटे–पानीपुरीकबाट सरकारी जागिरेहरु भन्दा धेरै आम्दानी गर्दै छोराछोरीको पठनपाटन राम्रो स्कुलमा गराइराखेका, नयाँ घर निर्माण गरी घरव्यवहार राम्ररी चलाइरहेका यादव दाजुभाइ विस्तारै काठमाडौंमा समेत जग्गा किन्ने विचारमा छन् ।

 

हाल यादव ललितपुरको साद्दोबाटो क्षेत्रमा एउटा छाप्रो भाडामा लिएर  भाइ दीपेन्द्र र बारा जिल्लाकै विभिन्न स्थानका चटपटे व्यवसायी साथीभाइहरू (२० जना) सँगै मिलेर बस्दै आएका छन् । सँगै बस्ने साथीभाइ पनि ललितपुरका विभिन्न ठाउँमा उक्त व्यापार गरी राम्रो आम्दानी कमाइरहेका छन् ।

 

उनीहरू टिमले बनाएको उक्त छाप्रोमा गर्मीका समय गर्मी, वर्षातको बेला डुबानको समस्या र जाडोयाममा धेरै जाडो सहेर बस्छन् । उक्त छाप्रोको २० जना मिलेर मासिक १८ हजार बहाल तिर्ने गरेका छन् । काठमाडौंको बसाइँ वर्षैपिच्छेको बढ्दो महँगीले गर्दा आम्दानीलाई बचाउँन परिवार आफूसँगै नल्याएर छाप्रोमा बस्ने गरेका उनले बताए ।

 

यो शुरु गर्न सजिलो र आमदानी पनि राम्रो हुने व्यवसाय हो । शुरुमा  आवश्यक सामग्रीमा एउटा ठेलागाडी, चटपटे–पानीपुरी बनाउँने सामान अनि केही भाँडा, गरी जम्मा १० हजार देखि २० हजारसम्मको लागतमा यो व्यवसाय शुरु गर्न सकिने यादव बताउँछन् । चटपटे–पानीपुरीकबाट सरकारी जागिरेहरु भन्दा धेरै आम्दानी गर्छन् ।  

 

‘आफ्नो देशमा आफ्नै व्यवसाय गरी खानु जतिको आनन्द अरू के मा छर ?’ उनी प्रश्न गर्छन्, फेरि प्रश्नको जवाफमा आफैँ भन्छन्, ‘अर्काको देशमा गएर बेपर्वाह पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा यसरी परिश्रम गर्दा न कसैको डर न त्रास ।’ पैसाको लागि दिनानुदिन विदेशिने युवा जमातका लागि उदाहरण हुन् यादव दाजुभाइ ।

चटपटे व्यापार