स्वास्थ्य प्रदेश ७

खोरेत रोग फैलियो, किसान चिन्तित

खोरेत रोग फैलियो, किसान चिन्तित

डोटी । जाडो मौसम सुरु भएसँगै जिल्लामा पशुमा लाग्ने खोरेत रोगको महामारी फैलिन थालेको छ । 

 

जिल्लाको दीपायल सिलगढी नगरपालिकाका केही वडासहित ग्रामीण क्षेत्रमा एक दुई हप्ता यतादेखि खोरेत रोगको महामारी फैलिन सुरु भएको स्थानीयवासी कैलाश विकले बताए ।

 

उनले भने, ‘गाई, गोरुमा एकाएक खोरेत रोग देखियो, जति औषधि गरे पनि निको हुँदैन हामी त चिन्तित छौँ ।’ 

 

यो रोग जाडो मौसममा भने महामारीका रुपमा नै फैलिने गरेको पशुसेवा डिभिजन कार्यालयका पशु चिकित्सक महानन्द साउँदले बताए ।

 

उनले भने, ‘यो सरुवा रोग हो, रोग लाग्नुभन्दा पहिले नै सजग भए राम्रो, यस्को खासै उपचार हुँदैन ।’

 

खास गरेर खुर भएका पशुको मुख र खुट्टामा खोरेतको सङ्क्रमण देखिने गरेको छ भने संक्रमण फैलिँदै जाँदा खुरको छाला कुहिने र किरा पर्ने समस्या हुन्छ । 

 

सुरुको अवस्थामा पशुको मुखबाट र्याल आउने तथा मुखभित्रको जिब्रोमा घाउसमेत हुने गरेको पशु चिकित्सक महानन्द साउँदले बताए ।

 

यो रोग गाई, भैंसी, भेडा, बाख्रा र बङ्गुरमा लाग्ने गरेको छ । यो रोग लागेपछि शुरुमा पशुलाई जरो आउने, मुखबाट र्याल आउने, खुट्टामा घाउ भएर हिँड्न नसक्ने, खान छोड्ने गर्छ । 

डोटी खोरेत रोग