शेयर

माथिल्लो तामाकोशीको सेयर कम्तिमा ४० कित्ता सबैले पाउने

बिहिबार, २२ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

माथिल्लो तामाकोशीको सेयर कम्तिमा ४० कित्ता सबैले पाउने

काठमाडाै‌ ।   माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आर्इपिओ)  मा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन्। कम्पनीले उपलब्ध गराएको अन्तिम विवरणअनुसार तामाकोशीको आर्इपिओमा ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको छ ।

 

कम्पनीको आईपिओमा परेको आवेदन सबै सदर भएमा २ लाख २१ हजार ७५५ जना आवेदकले ४० कित्ता तथा १ लाख २४ हजार ४११ जना आवेदकले ५० कित्ताका दरले शेयर पाउने देखिएको छ ।

 

 

कम्पनीले एक करोड ५८ लाख कित्ता शेयर निष्काशन गरेकोमा सामुहिक लगानी कोषलाई छुयाएर बाँकी रहेको एक करोड ५० लाख ९० हजार ७५० सर्वसाधरण आवेदकलाई बाँडफाँड हुनेछ ।

 

नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट  नभएका शेयर आवेदन भने रद्द हुनेछ ।

 

कम्पनीले यही कात्तिक १५ गतेदेखि कूल पूँजीको १५ प्रतिशतले हुन आउने  एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । यही कात्तिक १९ गतेसम्म देशभरबाट आवेदन सङ्कलन गरेको थियो ।

 

 

कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका थिए ।

 

शेयर आवेदन गर्ने सबैलाई दश कित्ता न्यूनतम शेयर दिनुपर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार नै बाँडफाँड हुने अवस्था रहेको छ ।

 

कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । कम्पनीले आगामी दुई साताभित्र शेयर बाँडफाँड गर्ने तयारी गरेको छ ।

 

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।