बिचार

दश दिन हिरासत बसेर जसले नेपाली समाजलाई ओशो चिनाए 

बुधबार, २१ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

दश दिन हिरासत बसेर जसले नेपाली समाजलाई ओशो चिनाए 

जीवन र जगतको सत्य बोल्दा ओशो रजनीस त अमेरिकाको जेलमा १३   दिन बसेका थिए । नेपालमा पनि यसपटक त्यस्तै भयो, ‘ओशोको विचार र सिद्धान्तभन्दा फरक ढंगले ओशो तपोवन चलिरहेको छ’ भन्दा एक ओशो सन्यासी देवसुन्दर पक्राउ परे । १० दिन हिरासतमा बसे । मंगलबार अदालतले उनलाई रिहा गर्ने आदेश दियो । 

 

ओशो तपोवनका स्वामी आनन्द अरुणले एक महिलाबाट खुट्टा मसाज गराइरहेको तस्बीर देवसुन्दरले सार्वजनिक गरेका थिए । त्यो तस्बीर सार्वजनिक गर्दा ‘महिलाको चरित्र हत्या भयो’ भन्ने अभियोग देवसुन्दरमाथि लगाइयो । तर वास्ताविकता त उनले स्वामी आनन्द अरुणको आलोचना गर्नु मुख्य विषय थियो । एक नारीलाई आफ्नो खुट्टा मसाज गराएको तस्बीर सार्वजनिक भएपछि स्वामी आनन्द अरुण स्वतः नैतिकताको तराजुमा हल्का भइसकेका थिए । तर त्यो विषयलाई ‘एक नर्सले बिरामी स्वामीको सेवा गरेको’, ‘माताले पुत्रलाई प्रेम गरेको’ जस्ता शब्दजाल बुनेर ढाकछोप गर्ने प्रयास गरियो । अर्को महिलाबाट पनि खुट्टा मसाज गराएको तस्बीर हामीलाई प्राप्त भएपछि स्वामीजीको शब्दजालको अर्थ रहेनछ भन्ने प्रतित भयो ।  

 

एक स्वामीजीका लागि महिलाबाट यसरी सेवा लिनु शोभनीय थिएन । तर ओशो तपोवनले यो विषयलाई ढाकछोप मात्रै गर्ने प्रयास गरेन, विषय बाहिर ल्याउने स्वामी देवसुन्दरविरुद्ध बलियो लविङ गर्यो । तपोवनमा भिआइपीहरुलाई ल्याएर आरती उतारेको हिसाबका रुपमा नेपालको राज्यसंयन्त्र प्रयोग गरेर देवसुन्दरलाई हिरासतमा पुर्याउने काम गरियो ।  सन्यासी उत्पादन गर्ने तपोवनले कानुनी उपचार खोजेर ‘आफूहरु विधि र नियमभन्दा पर छैनौं’ भन्ने सन्देश दिन त खोज्यो तर दबाब र प्रभावका आधारमा देवसुन्दर पक्राउ परेको तथ्य लुक्न सकेन । 

 

तपोवनले कानुनी लडाई भन्दा पनि दम्भ प्रदर्शन गरेको रुपमा धेरैले बुझे । किनभने देवसुन्दरले बाहिर ल्याएका धेरै विषय सत्य प्रमाणित भए । शिवपुरी –नागार्जुन राष्ट्रिय निकुञ्जको जमिन १५ वर्षदेखि निशुल्क उपयोग गरेको साँचो ठहरीयो । सरकारी स्रोत तपोवनले प्रयोग गर्दा आम नेपालीले के पाए ? राज्यले के पायो ? 

 

सरकारी खर्चममा तपोवनमा बनेको सडकमा हिँड्नसमेत सर्वसाधारणले १५० रुपैयाँ तिर्नुपर्छ । यो नियमसंगत भयो त ?  

 


ओशोका ६५०  पुस्तक छन् भन्ने गरिन्छ । ओशोको पुस्तक, नामको वैधानिक कपिराइट उपभोग गर्ने भारतको पुनास्थित ओशो फाउन्डेसनले नै आनन्द अरुणले अवैधरुपमा ओशोका किताब छापेर बेचेको आरोप लगाएको छ । ट्रेडमार्क रहेको र कपिराइटको अवधि पनि समाप्त भइ नसकेको अवस्थामा अरुको कृति छाप्न र बेच्न हुँदैन । ओशो फाउन्डेसनले नै आनन्द अरुणमाथि यस्तो आरोप लगाएपछि उनले जवाफ दिनु पर्ने थियो । पहिले देवसुन्दरले यसबारे बोले । पछि ओशो फाउन्नडेसनले नै आरोप लगायो । कपिराइट, ट्रेडमार्क आदिबारे सामान्य जानकारी राख्नेहरुका लागि यो विषय गम्भीर लागिहाल्छ । तर ओशोको शिद्धान्तविपरीत स्वामीको आरती उतार्ने अन्धभक्त वा भनौं हनुमानहरु अर्थहीन बुर्कुसी मार्छन् । 

 

स्वामी आनन्द अरुणप्रति व्यक्तिगत रुपमा मेरो सम्मान छ । उहाँ नम्र र शालीन व्यक्ति हुनुहुन्छ । उहाँसँग केही समय कुरा गर्ने अवसर मैले पनि पाएको छु । तर आफ्ना आलोचकलाई ‘तह लगाउने’ खालको शैली यो पटक प्रकट भयो । देवसुन्दर प्रकरणमा उजुरीकर्ता तपोवन होइन । स्वामी आनन्द अरुण पनि होइन । उहाँहरुले आफ्नो कुनै भूमिका छैन भन्ने गर्नुहुन्छ । यहाँ एक नैतिक प्रश्न उब्जिन्छ, ‘के खुट्टा मसाज गर्ने महिलाको मात्रै शक्तिले स्वामी देवसुन्दर हिरासतमा बस्नु परेको हो त ?’ कानुनी र संसारिक विधि र प्रक्रियामा स्वामीजी चुक्नु भएको छैन होला । तर एक स्वामीको स्थानमा रहेको व्यक्ति नैतिक हिसाबले चुक्नु भयो । १० दिन हिरासत बसेर स्वामी देवसुन्दरले सत्यको पक्षमा आफूलाई उभ्याउनु भयो । सम्भवतः सत्य  ओशो विचार आपसमा मेल खान्छन् । 

 


साँचो बोल्दा प्रहरी हिरासतमा पुग्न स्वामी देवसुुन्दर तयार नै भएर प्रहरी भएठाउँ जानु भएको थियो । प्रहरी उहाँलाई पक्रन आएको थिएन । साँचो अर्थमा एक स्वामीमा हुने गुण देवसुन्दरले प्रदर्शन गर्नुभयो । हिरासतमा रहेर पनि देवसुन्दरको कद अग्लो भयो भने आरती र आफूलाई देवत्वकरण गरको प्रकरणले स्वामी आनन्दअरुण उठ्नै नसक्ने गरी विवादको दलदलमा फस्नु भयो ।

 

 
ओशोले आफूलाई कहिले पनि गुरु बताउनु भएन । गुरु र चेलाको पद्धतीले वर्गको जन्म हुन्छ । जुन कम्युनको अवधारणा विपरीत हुन्छ । ओशोका कम्युनमा कोही पनि गुरु चेला हुँदैनन् सबै बराबर हुन्छन् । तर ओशो तपोवनमा गुरु–चेला पद्धती छ ।  पुजा, आरती आदिलाई ओशोले कर्मकाण्ड भन्नु भएको थियो । तर अहिले ओशोलाई नै ओशो तपोवनले भगवान बनाइदियो । उहाँको मूर्ति बनाएर तपोवनमा पुजा हुन्छ भन्ने गरिन्छ । पोखरामा त स्वामी आनन्द अरुणकै मूर्ति रहेको एक सन्यासीले बताएका छन् । मान्छेलाई भगवान बनाउने र पैसा कमाउने धन्दामा रुपान्तरण गर्ने विषय ‘ओ माइ गड’ नामक हिन्दी फिल्ममा थियो । त्यस्तै दृश्य नेपालमा पनि देखा पर्न थालेका छन् । 
(यो टिप्पणी हो । –ध्रुव रिजाल)