बिचार

आफ्नो गाउँको खबर सरकारलाई सुनाउन मन लाग्यो

मङ्गलबार, २० कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

आफ्नो गाउँको खबर सरकारलाई सुनाउन मन लाग्यो

चार दिनको कार्यक्रम बनाएर   यहि कार्तिक ११ गते काठमाडांैबाट झाँपा हुंदै आफ्नो  तेह्रथुम जिल्लाको साविक आठराई सक्रान्ति गाबिसको छातेढुङगातर्फ प्रस्थान गरियो । आफ्ना मान्यजन र दाजुभाईहरुको टिम इलाम, पाँचथर हुँदै सोहि दिन आफ्नो गाउँ पुगियो । तमोर नदिसम्म सडक पिच र त्यसपछि मध्य पहाडी राजमार्गको फराकिलो सडकले यात्रा सुबिधाजनक नै थियो । गाउँमा पुगिसकेपछि आफन्तजनको आतिथ्य अत्यन्तै हार्दिकतापूर्बक थियो । गाउँघरमा पनि सोलर जडान गरि बत्ती बालेको तर मोबाइल चार्ज गर्न भने स्कुल र वडा कार्यलयमै जान बाध्य भइयो शायद शहरमा बढि बिद्युत शक्तिमा मोवाइल चार्ज गर्नेकोलागि क्षमता कम भएको हुनसक्छ । दाजुभाईहरुका घर, आफ्नो जन्मघर हेर्दै आफु पढेको स्कुल होडा गाउँको सरस्वती आधारभूत बिद्यालयमा पुग्दा निकै भावुक भइयो ।

 

 पुरानो पिपलको ठुलो रुख ढालेर नयाँ बर पिपल पनि ठुला भइसके छन् । साना साना खोल्सालाई पनि सम्याएर खेल्ने ग्राउण्ड बनाइएछ ।  स्कुल राम्रो बनेछ तर बिद्यार्थी सारै कम पाइयो । कारण जनसंख्या नै कम भएको बुझियो । सोही अबसरमा उक्त स्कुललाई आफुले सकेको सानो सहयोग पनि गरियो ।
 

 

प्राय सबैतिर गाडी जान सक्ने भए पनि सडकको स्तरोन्नति  गर्न बाँकी रहेछ । त्यो पनि केहि बर्ष भित्रमा पुरा हुने वडा अध्यक्षबाट बुझियो । वस्ती पातलिँदै गएकोले जंगल र झाडस् अत्यन्त बढेछ । तर सबभन्दा दुःखको कुरा पानीको अत्यन्त अभाव देखियो । पहिलाका धेरै धारा र कुवा सुकिसकेछन् । तर केही मेहनती किसानले बर्षाको पानी उपयोग गर्दै प्रशस्त टमाटर खेती गरेका रहेछन् ।  हिंउद लागेपछि पानीको आपुर्ति नहुने रहेछ । तल हरियो तमोर नदी सुसाइरहेछ माथि सल्लाको स्वस्थ हावा सिरिरि बहिरहेछ तर ठूलाठूला टारबारी र खेतबारी बाँझै देखेर मन बैरागिन्छ । पिउने पानी अलिक परैबाट बोकेर ल्याउनु पर्ने अनि गाईबस्तुलाई पानी पियाउन झनै समस्या देखियो । माथि लेकतिर उत्तीसका रुखहरु प्रसस्तै भएर होला रुख ढालेर काठ दाउरा बेच्ने प्रसस्तै देखियो । काट्नेहरु कम भएर होला सबैतिर जंगल बढेको देखियो । 
 

 

    स्थानीय सरकारले आफ्नो क्षमताले भ्याएसम्म वरपरबाट पानी जम्मा गरेर गाउँगाउँमा पु¥याउने प्रयास गरेको छ । तर पानी पर्याप्त हुनसके र प्राबिधिक सहयोग पाएमा गरिब किसानले ब्यावसायिक कृषि खेती गरेर पनि राम्रो आय आर्जन गर्न  सक्ने थिए । त्यसैले केन्द्र सरकारले जतिसक्दो छिटो तमोर नदीमा जलाशययुक्त जलबिद्युत उत्पादनको कार्यक्रम अघि बढाउने र त्यसको पानी गाउँगाउँसम्म तानेर ल्याउने प्रविधि प्रयोग हुन नितान्त आबश्यक देखिन्छ । अन्यथा गाउँमा प्रशस्तै खेतबारी भएर पनि  बाँकी रहेका केही गरीब परिवारले  पनि गरिखानको लागि  तराइ झर्न बाध्य हुनेछन् । अहिले केही घरहरु बाहेक प्रायः सबै घरहरुमा कुरुवा राखेर घरको संरक्षण गर्ने प्रयासमात्र भएका छन् ।

 

 तैपनि कतिपय घर, मचान, गोठ भत्किसकेका  र कुनै भत्किने क्रममा देखिए ।  यो स्तम्भकारलाई केही घर कुरुवाहरुले ‘हाम्रो गोठ लड्न लागिसक्यो बस्तु बारीमा बाँध्नु परेको छ साहुलाई खबर गरिदिनू’ भन्दै थिए ।  
 

    गाउँ छोडेर जाने हुनेखाने शहरमा पुगेपछि त्यहीँको सुबिधामा रमाउने अनि नेता पनि शहर आएपछि फेरि फेरि सुबिधायुक्त गाडी चढ्नमात्र खोज्ने तर फर्केर गाउँका निमुखा जनता, आफ्नो गाउँ, स्कुललाई चटक्के बिर्षने प्रबृति बढेको छ । यसतर्फ कस्ले ख्याल गर्ने ? सरकार र आफ्नो थातथलो छोडेर जाने हुने खानेहरु पनि तात्नै पर्छ । स्थानीय निकायलाई मात्र छोड्ने हो भने गाउँको बिकास कहिले हुंँदैन अनि युवाहरु गाउँ छोडेर शहर तथा बिदेश जान कसरी रोकिन्छ ?
 

चाबहिल सरस्वतीनगर काठमाण्डौ
२०७५ कार्तिक १९