कभर स्टोरी

भिडियो

‘विवाह, सहवास मनखुसीले गर्नूस्, सन्तान योजनाअनुसार जन्माउनूस्’ (भिडियोसहित)

सोमबार, १९ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

‘विवाह, सहवास मनखुसीले गर्नूस्, सन्तान योजनाअनुसार जन्माउनूस्’  (भिडियोसहित)

काठमाडौं । सन्तान जन्माउनु हरेक दम्पतीको सपना हो । सन्तानका सुखमा नै आमाबाबुको वास्तविक सुख रहेको हुन्छ । सन्तानको जन्म हुँदा घरमा खुसीयाली छाउँछ । बिस्तारै बिस्तारै जब उनीहरू हुर्किन्छन्, उनीहरू पहिलो पटक मम्मी या बाबा भनेर बोल्छन्, कति राम्रो लाग्छ त्यो टुटेफुटेको आवाज । हामी उनीहरुको भिडियो बनाउँछौ र अरुसँग पनि सेयर गर्छौं । बालापन उनीहरूको हुन्छ तर हामीले आफ्नो बचपन उनीहरूसँगै फेरि जिउने मौका पाउछौं । 

 

तर, बच्चा हुर्काउनु, उचित संस्कार दिनु र सहि मार्गनिर्देशन गर्नु केही छिनको खेलजस्तो हुँदैन । कतिपय सन्दर्भमा हाम्रो नियत सहि भए पनि प्रस्तुती गलत भइरहेको हुन्छ । आफ्ना सन्तानले प्रगति गरेको चाहना कुन आमाबाबुमा हुँदैन ? तर, सबैले त्यो सौभाग्य पाउँदैनन् । सौभाग्य तिनैले पाउँछन्, जसले सहि ढंगले सन्तान हुर्काएका हुन्छन् । डा.योगी विकशानन्दको शब्दमा भन्नुपर्दा, ‘सन्तान कस्तो हुन्छन् भन्ने कुरा हाम्रो कार्यको प्रतिफल हो । बच्चा बिग्रिए या सप्रिए भने बच्चालाई हैन, आफूलाई सुधार्ने हो । किनभने उनीहरूले गर्ने गतिविधि त मात्र हाम्रो कामको प्रतिफल हो ।’


हामीले उनीसँग जान्न खोज्यौं, आखिर नेपाली समाजले बच्चा हुर्काउने काममा अभिभावकले  गल्ति कहाँ गर्छन् ? कसैका छोराछोरी किन बिग्रिन्छन् ? यस कुरामा उनी स्पष्ट छन् । भन्छन्, ‘समय दिन नसक्नु अभिभावकको मूल गल्ति हो । अहिले त बच्चा हुर्काउन धन चाहिन्छ भन्ने मानसिकता बनेको छ । धन चाहिने होइन । धन त १० प्रतिशत भएपनि पुग्छ । केही नभएकाले पनि त बच्चा हुर्काएका छन् । बच्चा बिग्रिने मुख्य कारण नै अभिभावकले समय दिन नसक्नु हो ।’

 

मनोरञ्जनका लागि अहिले बच्चाहरूको हात हातमा मोबाइल, ट्याब र आइप्याड हुन्छ । जसले गर्दा एकआपसमा हुने अन्तरक्रिया साँघुरिएको छ । फाइदा भने केही छैन मात्र एकपछि अर्को समस्या निम्तिएको छ । यसमा पनि मूल रूपमा गल्ति अभिभावकको नै हुने उनको बुझाइ छ । उनी भन्छन्, ‘बच्चाले सधैं खुसी हुने वातावरण खोज्छ । त्यो खुसीको लागि ऊ मनोरञ्जनतिर लाग्छ । उसले मनोरञ्जन टिभी, मोबाइल या ट्याबमा पाउँछ । जुन समय दिन नसक्ने अभिभावकले सजिलै उपलब्ध गराइदिन्छन् । तर त्यो मात्र मनोरञ्जन उपलब्ध गराउने माध्यम होइन । समय निकालेर बच्चालाई कतै बाहिर लैजान पनि सकिन्छ । अन्य शारिरिक र मानसिक एक्सरसाइज हुने प्रकारका गेम खेलाउन पनि सकिन्छ । त्यसकारण अभिभावक सर्वप्रथम त आफ्नो कार्यमा सचेत रहनुपर्छ । तबमात्र नतिजा राम्रो आउँछ ।’

 

नेपालको सन्दर्भमा अझै पनि बच्चा जन्माउँदा उचित योजना नबन्ने कुरामा उनले दुःख व्यक्त गरे । छोरा क्वान्टमको जन्मअघिको योजना र हुर्काइले राम्रो प्रतिफल पाएको भन्दै आफ्ना अनुभव सुनाउँदै उनले भने, ‘मैले सुरुमा नै बलियो बच्चा जन्माउन बलियो बाबुआमा चाहिन्छ भन्नेबारे जानेकोे थिएँ । मेरो विवाह नै ३८ वर्षको उमेरमा भयो । क्वान्टमलाई जन्माउँदा पहिला योजना बनायौं । त्यसै अनुरुप शारिरिक व्यायाम र स्वस्थ खानालाई जोड दियौं । हामीलाई कृष्ण भगवान जस्तो सर्वगुण सम्पन्न छोरा होस् भन्ने चाहना थियो । श्रीमती कमलेश्वरीले सुत्नुअघि कृष्णको फोटो हेर्ने गरिन् । पछि परिणाम पनि त्यस्तै भएको जस्तो लाग्यो । परिवारमा म कालो छैन, बाबुबाजे कालो छैनन् तर छोरा कालो जन्मिए किनकी कृष्ण कालो हुन्छन् । प्रायः बच्चा जन्मदाँ रून्छन् । तर मेरो छोरा रोएनन् । सुतेर उठ्छन् र आफैं खेल्न थाल्छन् । यसमा पनि फरकपना देखयो । उमेर बढ्दै गएपछि उनलाई आफैं ध्यान लाग्न थाल्यो ।

 


‘सामान्यतः ३, ४ वर्षको बच्चालाई ध्यान लाग्नु चानचुने कुरा होइन । अलि ठूलो हुँदै गएपछि उनी आध्यात्मिक हुन थाले । हामी गोदावारीमा हुँदा उनी साधकका प्रश्नको सटिक जवाफ दिन्थे । यो सबै हामीले योजना गरेर बच्चा जन्माउनु र हुर्काउनुको परिणाम हो ।’

 

कतिपय बाबुआमाले आफ्ना सपना सन्तानमाथि लत्याउँछन् । कुटेर र थर्काएर बच्चा हुर्काउँछन् । यस्ता अभिाभवकलाई इंगित गर्दै उनले भने, ‘यस्ता अभिभावकलाई मैले केही भन्नै पर्दैन । उनीहरूका छोराछोरी खत्तम भइसकेका हुन्छन् । तिनै बच्चाले पछि बाबुआमालाई वृद्धाश्रममा लगेर फाल्न बेर लगाउँदैनन् । कति बाबुआमाले वृद्धाश्रममा जाने बाटो पनि त्यसैगरि तय गर्छन् ।’
बाबुआमाले छोराछोरीमा आफ्नो सन्तुष्टि र खुसी खोज्नु गलत भएको भन्दै उनले थपे, ‘बच्चाले यो गरोस् भन्ने चाहना गर्ने होइन, उसलाई प्रेम गर्ने हो । हरेक मान्छे आफैंमा पूर्ण हुन्छ, शान्ति र सन्तुष्टि आफूमा खोज्ने हो, छोराछोरीमा खोज्ने होइन । साधना, अनुभव र अध्ययनमार्फत लिनु जति आफैंबाट लिने हो । त्यसकारण मैले छोरा या छोरीबाट आशा गर्ने होइन । आफैंबाट गर्ने हो । आफूसँग लिन नसक्ने र नजान्ने आमाबाबुले त्यसो गर्छन् । त्यस्तो आमाबाबु हामी होइनौं ।’ 

 

विगतमा आफ्नो आमाबाबुबाट पनि बच्चालाई कसरी हुर्काउनु हुँदैन भन्नेबारे पाठ सिकेका छन् उनले । माया गर्ने तर मायाको बदलामा सम्पूर्ण काम आफूले भनेअनुसार हुनुपर्ने अवस्था हुँदा छोराछोरीले जे गर्नुहुँदैन त्यही गर्ने र नियम तोड्ने उनले बताए । जसकारण आमाबाबु एकातिर र छोरा छोरी अर्कातिर हुने र यसो हुँदा मायाजस्तो चिज पनि देखावटी बन्ने उनको बुझाइ छ । 

 

उनले थपे, ‘सबैकुरा गुमेपनि परिवारमा बचाउनुपर्ने चिज प्रेम हो । तर हामी सबै कमाएर प्रेम गुमाउँछौं । त्यसकारण यो गल्ती गर्नुहुँदैन । जसको परिणाम मानसिक रुपमा पिडा र दर्द बन्छ र मानिस शारिरिक रुपमा पनि अस्वस्थ बन्दै जान्छ ।’ 

त्यसकारण उनी आफैं पनि भन्छन्, ‘बच्चा हुर्काउने काम धरहरा या ताज महल बनाउनु भन्दा पनि गाह्रो हो ।’ यसैकारण सरकारले पनि अब बच्चा जन्माउन लाइसेन्स दिनुपर्ने उनी बताउँछन् । ‘यसो गर्दा निर्णय र योजनाबद्ध रूपमा बच्चा जन्मन्छन् । योजना नबुनेर जन्माइएका र हुर्काइएका बच्चा गतिला हुँदैनन्’,उनले बताए । 

 

योगी विकाशानन्द यी सबै कुरा आफ्नो घरमा पनि पालन गर्दै आएका छन् । यसकालागि उनका छोरा क्वान्टमसँग कुराकानी गर्दा सबै कुरा खुलस्त भयो । 

 

यस्तो हुन्छ दैनिक पारिवारिक जमघट
छोरा क्वान्टमका अनुसार, दिउँसभरिको थकान पछि दैनिक साँझ पारिवारिक जमघट हुन्छ । जसलाई उनीहरूले नाम दिएका छन्, ‘सोसियलाइजेसन’ । यस जमघटमा दिनमा भएका घटनाबारे कुराकानी हुन्छ । भएका गल्ति र सुधानुपर्ने चिजमा बाबुआमाले सम्झाउने र बुझाउने गरेको क्वान्टमले बताए । 

 

आमाबाबुसँग कुरा साट्न हिच्किचाउँदैनन् छोराछोरी
सामान्यतः धेरैजसो परिवारमा बच्चाले अभिभावकसँग खुलेर कुरा साटेको पाइदैंन । त्यसो त अहिले स्मार्टफोनको दुनियाँमा अन्तरक्रिया गर्ने माहोल साँघुरिएको अवस्था छ । तर,  विकाशानन्दको घरमा यस्तो माहोल छैन । आफूहरूलाई बाबुआमासँग जीवनमा घटिरहेका घटनाबारे कुुरा सेयर गर्न कुनै हिच्किचावट नभएको भन्दै क्वान्टमले भने, ‘वास्तवमा कुुरा बोझ जस्तै हो, जति राख्यो त्यति गा¥हो हुन्छ । त्यसकारण कुराहरू सक्दो सेयर गर्नुपर्छ जस्तो लाग्छ । जे भएपनि बाबाममीलाई सेयर गर्ने बानी हुनाले स्कुलमा मलाई धेरैले कुरौटे भन्छन् । बाबासँग समय बिताउन एकदम मन पर्छ । सक्दो समय दिनुहुन्छ ।’ 

 

बाबुको अघि चुरोटको कुुरा गर्दा
क्वान्टमले सुनाए, ‘एकपटक बाबासँग कुरा गर्ने क्रममा चुरोटको कुरा आयो । साथीले क्लासमा चुरोट ल्याउनेबारे मैले उहाँलाई भनेको थिएँ । उत्तरमा बाबाले भन्नुभयो, तिमीलाई चुरोट खानु मन लाग्यो भने मेरो अघि खाऊ तर मेरो ढाडको पछि नखाउ । यो कुराले मलाई भित्रैबाट छोयो । यसले मलाई बाबाप्रतिको सम्मान झनै बढेर गयो । मेरो बाबा यति भिन्न हुनुहुन्छ भनेर गर्भ गर्न थालें ।’ 

 

छोराको धेरै गेम खेल्ने बानी कम गर्ने विकाशानन्दाको तरिका
विकाशानन्द भन्छन्, ‘राम्रै कुुरा पनि धेरै गर्दा नराम्रो हुन्छ ।’ उनी छोराछोरीलाई भन्ने गर्छन्, ‘गीत जति सुने पनि हुन्छ, तर गाउने कोशिश गर, नृत्य जति हेरे पनि हुन्छ तर नाच्ने कोशिश गर । युटुबमा भिडियो जति हेरेपनि हुन्छ तर त्यस्तै बनाउने कोशिश गर । हेर्नलाई भाव भए पुग्छ तर, बनाउनलाई बुद्धि र सिर्जना चाहिन्छ ।’ 

 

व्यवहारमा यो कसरी लागू भइरहेको छ भन्नेबारे छोरा क्वान्टमसँग जान्न खोज्दा उनले भने, ‘मैले धेरै गेम खेलें भने बाबाले त्यो समयलाई अलि कम गरेर साइक्लिङ गर भन्नुहुन्छ । यसले मलाई शारिरिक रुपमा स्फूर्त बनाउँछ । युटुबमा धेरै भिडियो हेर्ने बानीलाई सुधार्न भिडियो बनाऊ भन्नुहुन्छ । त्यो पनि म गर्छु । सानोतिनो भिडियो र एनिमेसन गरिरहेको हुन्छु ।’ 


गल्फ्रेण्ड बनाउनेबारे क्वान्टमको भनाइ
विद्यालयमा आफ्नो गल्फ्रेण्ड र क्रस कोही नभएको भन्दै क्वान्टमले भने, ‘अहिले मलाई त्यतातिर ध्यान नै छैन । किनभने मेरो एउटा लक्ष्य छ । त्यो लक्ष्य पूरा नगरेसम्म म यस्तो कुराले आफूलाई डिस्ट्राक्ट गर्न दिन्न ।’ 

 

क्वान्टमको लक्ष्य
आठ कक्षामा अध्ययनरत क्वान्टमका धेरैै लक्ष्य छन् । उनको पहिलो लक्ष्य हो, मनोक्रान्तिको कामलाई धेरै भन्दा धेरै ठाउँमा फलौउने । मनोक्रान्तिमा हुने कार्यक्रममा कहीलेकाहीं भाग लिने क्रममा उनले मानव मष्तिष्कको शक्तिको बारेमा जान्ने र बुझ्ने मौका पाए । यसबाट प्रभावित भएपछि मनोक्रान्तिबाट हुने जति पनि कार्य काठमाडौंबाहेक धेरै ठाउँमा खोल्नुपर्ने र त्यसबाट धेरै भन्दा धेरै व्यक्तिले सेवा पाउनुपर्ने उनले बुझे । बिस्तारै मनोक्रान्तिलाई विश्वव्यापी रूपमा फैलाउने आफ्नो लक्ष्य भएको र यो लक्ष्यमा अडिग रहने उनले बताए । 

 

डा.योगी विकाशानन्दका छोराछोेरी अहिले ठूला भइसके । छोरा क्वान्टम आठ कक्षामा पढ्छन् र छोरी निरभानाले प्लस टुको अध्ययन पूरा गरिसकिन् । आफ्नो हुर्काइको परिणाम राम्रो पाएकोमा उनी सन्तुष्ट छन् । अन्य आमाबाबुलाई पनि सन्तान हुर्काउने विधिबारे उनको एकमात्र मुख्य सन्देश छ, ‘संसारमा सबै कुराको केन्द्रबिन्दू आफैं हो । आफू गतिलो भएमा सन्तान स्वतः गतिला हुन्छन् ।’