राजनीति

ढिलो चाँडो सबै राजनीतिक दलहरु राप्रपाको एजेण्डामा समाहित हुनेछन्: अध्यक्ष थापा

सोमबार, १९ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

ढिलो चाँडो सबै राजनीतिक दलहरु राप्रपाको एजेण्डामा समाहित हुनेछन्: अध्यक्ष थापा

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र रासंस्था स्थापनाका बारेमा पुनर्विचार गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । 
 

पाँचथरको सदरमुकाम फिदिममा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले ढिलो चाँडो सबै राजनीतिक दलहरुले राप्रपाले अंगीकार गरेको एजेण्डाका समाहित हुनुको विकल्प नरहेको ठोकुवा गरे ।  विदेशबाट ऋण लिएर जबर्जस्ती चलाउन खोजिएको संघीयता दिगो नहुने धारणा राख्दै अध्यक्ष थापाले राप्रपाले अघि सारेका एजेण्डा हिन्दु राष्ट्र, राजा सहितको प्रजातन्त्र तथा जनताको प्रत्यक्ष स्वशासनको आवश्यकता अझ बलीयो भएर गएको बताए ।  
 

 

विखण्डनकारी तत्वहरुको क्रियाशीलता र जबर्जस्ती धर्म परिवर्तनको लहर यही अनुपातमा बढेर जाने हो भने मुलुकमा अर्को युद्ध निम्तिने खतरा रहेकोले यसलाई रोक्न समयमै कदम चाल्न आवश्यक भैसकेको बताउँदै उनले विचार मिल्ने पार्टीहरुसँग एकताको पहल भैरहेको प्रष्ट पारे ।  थप उत्साहका साथ संगठन विस्तारमा जुट्न र पार्टीका एजेण्डाहरुलाई तल्लो तहसम्म पु¥याउन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिंदै थापाले परिवर्तनकारी हौं भन्ने दलहरुको व्यवहारबाट जनता रुष्ट भएकोले अबको विकल्प राप्रपा नै भएको बताए । 
 

 

सम्बोधनकै क्रममा राप्रपाका नेता तथा प्रतिनिधीसभाका सांसद राजेन्द्र लिङदेनले संघीयता कार्यान्वयन को सुरुमै देशमा विखण्डनको आवाज उठ्नु दुःखद भएको बताउँदै सचेतना अपनाएर पुनर्विचार गर्नुपर्ने समय आईसकेको बताए ।  हिन्दु राष्ट्रको कुरा गर्दा कुनै जनजातिहरु डराउनुपर्ने अवस्था नभएको भन्दै उनले  किराँत र हिन्दुहरुले मान्ने देवता एउटै भएको स्पष्ट पारे । 

 

सनातनदेखि चलिआएको नेपालको पहिचान हिन्दुराष्ट्र कायम गर्न, संवैधानीक राजसंस्था पुनस्र्थापना गर्न राप्रपाको अभियानमा साथ र सहयोग गर्न सबैमा आग्रह गर्दै लिङदेनले अगुवा कार्यकर्ताहरुले पार्टीको यो सन्देश गाउँगाउँमा पुर्‍याउनुपर्नेमा जोड दिए । 
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति पाँचथरका अध्यक्ष जगत थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भक्ति सिटौला, मान बहादुर जवेगु, छविरमण सुवेदी, राजाराम बर्तौला, सुनिता कुरुम्वाङ, १ नं. प्रदेशका उपाध्यक्ष तेजकुमार कुरुम्वाङ, सचिब बासुदेव भट्टराई, पाँचथरका पूर्व जिल्ला अध्यक्ष कृष्ण प्रसाद योङया, विष्णुकुमारी राई लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला नेतृ कमला केरुङले राखेका थिए । 

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्नुहुने नव प्रवेशीहरुलाई अध्यक्ष कमल थापाले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरे ।