अन्तरवार्ता

स्ट्रेट फरवार्ड

ओशो तपोवनबारे राज्यले विश्लेषण गर्नुपर्छ (भिडियोसहित)

शनिबार, १७ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

ओशो तपोवनबारे राज्यले विश्लेषण गर्नुपर्छ (भिडियोसहित)

डा. प्रेमसिंह बस्न्यात, नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी हुनुहुन्छ । विभिन्न चार  विषयमा स्नातकोत्तर गर्नुभएका डा. बस्न्यातले सैन्य इतिहासमा विद्यावारिधि गर्नु भएको छ । उहाँ नेपाली समाज, धर्म र राजनीतिबारे पनि तीखो टिप्पणी गर्नुहुन्छ । प्रस्तुत छ उहाँसँग भएको कुराकानीको मुख्य अंशहरुः 

 

समसामयिक राजनीति र सरकारको कामकारबाहीलाई कसरी नियालिरहनु भएको छ ? 

– अहिले सरकारको काम गराई त लाजमर्दो नै छ । दुईतिहाईको सरकार भनिएको छ । तर व्यवहारमा साह्रै लुरेपन देखिएको छ । हाम्रो पुर्खाले ज्यान जाओस तर बोलेको वचन खेर नजाओस भन्ने सिद्धान्त आत्मसात गरेर जोडेको देश हो यो । यो सरकारमा जवाफदेहीता भएन । प्रधानमन्त्रीले मन्त्रीलाई  देखाउने, मन्त्रीले कर्मचारीलाई देखाउने र कर्मचारीले ठेकेदारलाई देखाएर उम्किने प्रयास भइरहेको छ । एक हजार मिटरको डोरी भए पनि एउटा गाँठो पार्नै पर्छ । यो सरकारको कुनै गाँठो छैन । म उत्साही छैन । गर्छु भनेपछि गर्नु पर्छ । प्रधानमन्त्रीले खाल्डा पुर्न सचिव नै बोलाउनु पर्छ । मन्त्रीलाई संयन्त्रले टेर्दैन । कानुनी राज्य भन्ने नै भएन । ओली सरकारले यो, त्यो गरेको छ भन्न पाइयोस न । ओली सरकारले गरेको काम भनेर तीनन वटा औंला त भाँँच्न पाइयोस् । त्यो पनि छैन । 


देश बिगार्ने त सबै नै छन् । १५ वटा ठेकेदारलाई सरकारले कालो सूचीमा राख्यो । तर पप्पु कन्स्ट्रक्सनलाई राखेन । किन राखेन त ? त्यस्तो बद्नामी कमाएको पप्पु कन्स्ट्रक्सनलाई यो सरकारी संयन्त्रले किन जोगायो ? यसकारण आशावादी हुन सकिने ठाउँ एकदम कम छ । पप्पुले मन्त्री नै समातेको छ । सांसद हुनका लागि पैशा लगानी गरेको छ । प्रचण्ड कालो सूचीमा हुनु पर्ने ठकेदारको घरमा बसेका छन् । यो देशमा न्याय पनि छैन । कानुन पनि अनुकुलतामा प्रयोग हुन्छ । 

 

मान्छेको ज्यान खाल्डामा परेर मर्दा पनि कोही जिम्मेवार छैनन् । अनसनमै मान्छे मर्छन । बिना लगामको सरकार छ । कर्मचारीतन्त्रमा पनि कुनै लगाम छैन । माटाको भाँडोमा काठको मुंग्रोले ठोक्नै पर्छ । 

 

राम्रो काम गर्नेलाई पुरस्कार, नराम्रो काम गर्नेलाई दण्डीत गर्नु पर्छ । अदालतले त बेला बखत कार्यपालिकालाई काम गर्न दिँदैन । भ्रष्टाचार ठहर गर्छ । 

 

यो देशमा  राष्ट्रियताको सवालमा पृथ्वीनारायण शाह, बहादुर शाह, जंगबहादुर, राजा महेन्द्र, त्यसपछि कीर्तिनिधि विष्टपछि केपी ओली जन्मे भनेर मैले राष्ट्रियताको सवालमा बोलेको थिएँ । अहिले आएर केपी ओली ब्याट्रीवाला प्लास्टिकको खेलौना जस्ता भए । जता छोए पनि च्याँ च्याँ गरे बज्ने । उनलाई कसैले केही भनिदिनु हुँदैन च्याँ च्याँ गर्न जवाफ फर्काउन थालिहाल्छन् । जवाफ फर्काउने भन्दा पनि काम गर्नु पर्छ । काम गरिसकेपछि बोल्नेहरुको मुख आफै बन्द हुन्छ । केही गरेर देखाउन भन्ने मेरो शुभकामना छ । 

 

कांग्रेसका केही नेताहरुले भनेका छन् कि यो सरकार हल्ला मात्रै गर्छ । तिहारपछि सशक्त आन्दोलन गरेर वर्तमान सरकारको पीडाबाट जनतालाई मुक्ति दिनेछ । के अवस्था यस्तै हो ? 

–    कांग्रेसको कुरा केटाकेटीलाई हाउगुजी देखाउने कुरा मात्रै हो । म प्रजातन्त्रवादी हुँ । म सात सालपछिको कुरा जोड्छु । विशेषगरी ४६ सालपछि गिरिजा र कांग्रेसका कारण देशले दुःख पायो । कांग्रेसले माओवादी बोकेका कारण १२ बुँदे भयो । देशले दुःख पायो । देशको धर्म हरायो । संस्कृति हरायो । सांस्कृतिक मूल्य मान्यताहरु हराए । हाम्रो संस्थाहरु नै हराए । गिरिजाको बुइ चढेर प्रचण्ड र बाबुरामले यो सबै गरेका हुन् । नेपाली कांग्रेसको बुद्धी भएको भए यस्तो दिन आउँदैन थियो । सात सालदेखि १७ सालसम्म झन्डै नेपाल भारततिर परिसकेको थियो । 

 

४६ सालपछि प्रहरी बिगार्ने, कलकारखाना बन्द गराउने, कर्मचारीमा राजनीति घुसाउने काम गरियो । 

म नेपाली कांग्रेसलाई भन्न चाहन्छु कि पेटमा धेरै कुरा पालेर बाहिर बाहिर प्रचण्डको राग अलाप्ने होइन । अब देश र हावापानीअनुकुल निर्णय गरेर कांग्रेसअगाडि बढ्नु पर्छ । दुई शक्ति छन् नेपालमा । कि विप्लबको पार्टीअगाडि आउनु पर्छ ।  विप्लवले हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डा बोकेर विप्लवको पार्टी अगाडि आयो भने ग्यारेन्टी भनिदिन्छु त्यो पार्टी स्थापित हुन्छ । अर्को भनेको कांग्रेसले अब प्रचण्डको घोडा हुन छाडेर नयाँ एजेन्डासहित अगाडि आउनु पर्छ । 

 

कांग्रेस विपीको वादमा आउनु पर्छ । संवैधानिक राजसंस्थाका पक्षमा आउनु पर्छ । ‘हातमा पुस्तक मनमा दशथोक’ गर्नु हुँदैन कांग्रेसले । अहिलेका शेरबहादुर, रामचन्द्र र कृष्णप्रसाद सिटौलाको पाराले हुँदैन । सिटौला त नेपालमा पाण्डोराको बक्स ल्याउने, उथलपुथल गर्ने पात्र हुन् । 

 

यिनीहरुले भनेर अब नेपालीले पत्याउँदैनन् । यो सरकारको कमजारीहरुलाई समाउनु पर्छ । डा. केसीको माग पूरा गर्न ओली चुकिरहेका छन् । शिक्षा मन्त्रालयको राईँदाईँ गिरिराजमणि र नारायणकाजीको पोल्टामा छ । यिनीहरुले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । 

 

शशांक कोइरालाले हिन्दुराष्ट्रको कुरा गर्नु भएको छ । तपाईलाई के लाग्छ, कांग्रेसअगाडि बढ्ला ? 

कांग्रेसले यो मुद्दा लिएर अगाडि बढ्यो भने फेरि कम्युनिष्टहरु रसातलमा पुग्छन् । कांग्रेसले गर्नु पर्ने हिम्मत नै यहि हो । माओ र मार्क्सको नाममा नवसामन्तवाद लादिरहेका छन् । प्रचण्ड, ओली सबै सामन्ति हुन् । यिनीहरुले जनताको शोषण गरिरहेका छन् । विदेशीलाई पोसिरहेका छन् । जनता वाक्क भइसके । १७ हजार मारेर सर्वहारा जनतालाई गासबासको कुरा गर्ने यिनीहरु आफै अमिर भए । अब जनताले नयाँ नेतृत्व खोजिरहेका छन् । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा नेतृत्व लिन सक्ने नेताको खोजी भइरहेको छ । मैले सक्रिय राजतन्त्रको कुरा गरेको छैन । नर्वे वा बेलायत वा जापानको जस्तो भए पनि देशलाई राजसंस्था चाहिने रहेछ भन्ने बुझिएको छ । 

 

यसमा नेपाली कांग्रेसले लाज नमानी अगाडि आउनु हो भने बाढी फर्किनेछ । मैले यसअघि पनि भनेको छु । मैले राजाको लागि होइन देशको लागि कुरा गरेको हो । मैले  ओलीको पक्षमा पनि बोले । तर उनको नुन खाएको छैन । राजसंस्थाको पक्षमा पनि बोलेको छु । तर मैले केही लिएको छैन कतैबाट । म देशको लागि बोल्ने भएकोले यस्तो कुरा गरिरहेको छु । माओवादीको घोडा भएर नेपालबाट फाल्न नहुने राजसंस्था फालियो । हिन्दु राष्ट्र फाल्ने त रामचन्द्र पौडेल हुन् । 

 

आज म एक कुरा खुलासा गर्छु । हिन्दु राष्ट्र फाल्ने बेला नेपाली सेनासँग दलहरु डराएका रहेछन् । नेपाली सेनाभित्र सबै कुराहरु हिन्दु धर्म परम्पराबमोजिम हुन्छ । यस्तो थिति भएको सेनाले हिन्दु राष्ट्र फाल्दा के गर्ने हो भन्ने डर रहेछ । उनीहरुले तत्कालीन प्रधानसेनापतिलाई ‘यसबारे नेपाली सेनाको के धारणा छ ? ’ भनेर सोधेछन् । तत्कालीन प्रधानसेनापतिले केही फरक पर्दैन ‘गो अहेड’ भनेपछि हिन्दु राष्ट्र फालिएको हो । 

 

यी पात्रहरु सबै गालीका लायक छन् । सबै धर्म समान हुन् । तर पाकिस्तानमा हिन्दराष्ट्र हुनुपर्छ भनौं त । साउदी अरबमा भनौं त । के हुन्छ । यसकारण म भन्छु कांग्रेसले आफ्नो जग छाड्यो । कांग्रेसको अस्ति भर्खरै सरकार थियो नै हैन र ? त्यो बेला आइजिपी प्रकरण, प्रधानन्यायाधीश प्रकरण मच्चिएको हो कि हैन ? राजदूत प्रकरण पनि मच्चियो । बुटवलको जग्गा प्रचण्डको पालामा कांग्रेसका दुई मन्त्रीले इन्डियन आर्मीको पेन्सन क्याम्पलाई पास गरिदिएका छन् । म कांग्रेसको विरोधी होइन, तर कुबाटोमा छ । युवाहरुले हेर्नु पर्छ । गिरिजाकी छोरीले त देखाइ सकिन् कि उनी कस्ती छन् भन्ने । अब बिपीका छोराले कस्तो गर्छन् हेर्न बाँकी छ । डा. शेखर पनि माओवादीकै घोडा हुन् । शशांक कोइरालालाई पत्याउलान कि । 

 

साउथ एसियामा पारिवारिक विरासत मान्ने चलन छ । बंगलादेशमा हेर्नुस्, भारतमा हेर्नुस्, नेपालमा पनि त्यही छ । पारिवारिक विरासतले काम गरिहेको छ । 

 

वर्तमान सरकारका मन्त्रीहरुबाट कति आशावादी हुनुहुन्छ ?  

मन्त्रीहरुबारे म त्यति धेरै अपडेट त छैन । तर पनि पर्र्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति केही आशावादी छु । केही गर्छु भन्ने जुनुन छ । झोले संस्थाहरुलाई ६० करोड बाँडेको र अन्य केही विवादास्पद कामले उहाँको परीक्षाको घडी शुरु भएको छ । 

 

रामहादुर थापा अर्थात गृहमन्त्री तातो हो कि चिसो ढुंगा हुन् । यिनी अति स्लो भए । मगरपन नभएका गृहमन्त्री हुन् । नेपालको सबैभन्दा स्टेबल, विश्वास गर्न सकिने जाति भनेको गुरुङ र मगर हुन् । ब्रिटिस आर्मीले गरेको विश्लेषण पनि यहि हो । तर बादलमा त्यस्तो देखिएन । अर्थमन्त्री युवराज खतिवडा भनेको चाहिँ ‘झोले प्राज्ञ’ जस्ता भए । जनतामा नगई, दल र नेताको चाकडी गरेर पद हत्याउन जान्ने व्यक्ति हुन् यिनी । यिनीहरु सेलिब्रेटी नेता भए । खतिवडा जस्ता अर्थमन्त्रीको सम्बन्ध कर्मचारीसँग, किताबसँग र आफूलाई आवश्यक पर्ने नेतासँग हुन्छ । जनतासँग हुँदैन । खानेपानीमन्त्री बीना मगरबाट केही आशा गर्न सकिन्न । नयाँ श्री ५ प्रचण्डकी बुहारीबाट के आशा राख्नु । राजाका सन्तानहरुले जन्मदै श्री ५ पाउँथे । यिनीहरु त फरक तरिकाले राजाका सन्तान सरह भए । प्रचण्डकी छोरी शाहज्यादी हुनुहुन्छ चितवनमा । 

 

उपेन्द्र यादव भनेको चमेरो हुन् । जनावरहरुसँग समस्या पर्दा म त पंक्षी हुँ पखेटा छ, उड्न सक्छु भन्ने । पंक्षीहरुसँग रिस उठ्दा म तिमीहरु जस्तो होइन । म त बच्च जन्माउछु । दूध चुसाउछु भन्ने । ठीक यसै गरी उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि त्यस्तै हुन् । मधेसी पनि भन्ने । तराईको पनि भन्ने । अनि अवसर आउनेबित्तिकै अरु पार्टीसँग मिलेर सरकारमा पनि गइहाल्ने काम गर्छन यिनी । डा. केसीको केसमा, गंगामायाको केसमा यिनी बोलेनन । उपेन्द्र खाँटी प्रचण्डका मान्छे हुन् । एउटा एनजिओले यिनलाई सेलिब्रटी बनाइदियो । 

 

रक्षामन्त्री इश्वर पोख्रेल बाठा छन् । बिम्सटेकमा सेना नपठाउने कुरामा एक शब्द बोलेका थिएनन् । आर्मीको प्रमोसनको कागज अड्काएका छन् । यिनी रक्षामन्त्री हुँदै गर्दा त अघिल्लो प्रधानसेनापतिको अकुत सम्पत्तिबारे यिनी बोलेनन् । यि बाठा छन् । अवसरवादी पनि छन् । 

 

तपाईले नेपाली धर्म, संस्कृतिबारे पनि बोल्ने गर्नु भएको छ । केही विचारकहरु विवादमा पनि पर्छन । हालै ओशो तपोवनले निकुञ्जको जमिन उपयोग गरेको र पछि सरकारले फिर्ता लिएको भन्ने समाचार आए । यसलाई कसरी लिनु भएको छ ? 

म सबै धर्मलाई सम्मान गर्छु । ओशोको विचार धर्म होइन । नेपालमा माओको विचार एकातिर छ, माओवादी हुँ भन्नेहरु अर्कोतिर जान्छन् । ओशो तपोवन भनेर जुन खोलिएको छ, त्यो ओशोको विचार भन्दा बाहिर गएर शक्तिकेन्द्र भएको छ । म धेरै पटक गएको छु । शक्ति केन्द्रको रुपबाट यसले आफूलाई पावर प्ले गर्ने काम गर्छ । त्यहा पारदर्शीता देख्दिनँ । 

 


ओशो तपोवनबारे राज्यको संयन्त्रले विश्लेषण गर्न आवश्यक छ । जसरी एनजिओ छाडिएको छ मनपरी गरेर त्यसै गरी शक्ति केन्द्र जस्तो बनेको छ । ध्यान केन्द्र भनेर फाइभ स्टार होटल जस्तो खोलिएको छ । अर्थोपार्जनको उद्देश्य राखिएको छ । वन मासेर यस्तो काम गरिएको छ । 

 

अंशु गुरुङले राम्रो कुरा बोल्नु भएको छ । ओशोको किताब पढ्नुस् न । वास्तविकता थाहा हुन्छ । त्यहाँको एक ठूलो मान्छेको खुट्टा महिलाबाट मसाज गराएर आराम लिइरहेको रहेछ । यो विषयमा उजुरी पनि परेछ । यो मैले कान्तिपुरमा पढेको थिएँ । ३७ रोपनी जमिन त ओशो तपोवनले खाइरहेको रहेछ  । सरकारी जमिन उपयोग गर्ने अनि त्यहाँ जाँदा मान्छेसँग पैशा असुल्न मिल्छ त ? कुनै पनि संस्थाले यस्तो काम गर्न हुँदैन । शक्ति केन्द्रलाई रिझाएर करोडौं रुपैयाँ तपोवन झार्ने ? यो कहाँको न्याय हो । कर्णालीका जनताले सिटामोल पाएका छैनन्, यहाँ शक्ति केन्द्र रिझाएर एउटा एनजिओलाई सरकारले करोडौं दिन मिल्छ ?  

 

यो संस्था पारदर्शी हुनुपर्छ । गाउँका बुढाबुढी पनि ध्यान गर्छन । तर त्यहाँ तिनीहरुलाई प्रवेश निषेध जस्तो छ । धनीहरुले मात्रै त्यहाँ प्रवेश पाउँछन् । किन ? सरकारी सहयोग लिने, तर नेपाली नागरिकले पैशा तिरेर जानु पर्ने ?