अन्तरवार्ता

भिडियो

लन्डनका पार्कमा बसेर रुने नेपाली विद्यार्थी धेरै देखेँ (भिडियाेसहित)

शनिबार, १७ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

लन्डनका पार्कमा बसेर रुने नेपाली विद्यार्थी धेरै देखेँ (भिडियाेसहित)

अनिल प्रधान केही गर्नु पर्छ भन्ने सोच भएका युवा हुनुहुन्छ । मेनेजमेन्ट इन्स्टिच्युट फार नेसनल डेभलपमेन्ट (माइन्ड नेपाल)का प्रबन्ध निर्देशक प्रधान विभिन्न व्यवसायिक र सामाजिक संघ संस्थामा पनि आवद्ध हुनुहुन्छ । झण्डै डेढ दशक विश्वका १६ देशमा काम र घुमफिर गरेपछि प्रधान अब देशमै केही गर्नुपर्छ भनेर फर्केका छन् । प्रधानको विचार र योजना के कस्ता छन् त ? प्रस्तुत छ उनीसँग भएको कुराकानीको सारः 

 

तपाई धेरै क्षेत्रमा काम गरिरहनु भएको छ । तपाई संलग्न विभिन्न संस्थामध्ये माइन्ड नेपालले के कस्ता काम गर्छ ? 

–    हाम्रो मुल उद्देश्य शिक्षा रोजगारी नै हो ।  हाम्रो शिक्षा सय वर्ष पुरानो नै छ । ३० साल तिर बनेका कानुनहरुका आधारमा शिक्षा चलिरहेको छ । एकातिर शिक्षामा निजी क्षेत्रको ठूलो लगानी छ । अर्कोतिर गुन्द्री र सुकुलमा बसेर बालबालिकाहरु पढ्नु पर्ने बाध्यता छ । हुँनेखाने र हुँदा खाने वर्गका बालबालिकाले प्राप्त गर्ने शिक्षाको स्तर फरक छ । यो ग्यापलाई कसरी साँघुरो बनाउने भन्ने चुनौती हो । हामीले कसरी हुन्छ, हाम्रो शिक्षण संस्थालाई विश्वमा चिनाउने काम गर्नु पर्छ । ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयको विकास गर्न जरुरी छ । सरकारले गरिरहेको काममा सहयोग गरेर शिक्षाको विकास गर्नु हाम्रो मूल उद्देश्य हो । 


काठमाडौंमा मन्टेश्वरीका नाममा प्रिस्कुल खुलेका छन् । यी स्कुलहरुलाई कसरी हेर्नुभएको छ ? 

–    मन्डेश्वरी भनेको एउटा शिक्षण पद्धती हो । मन्टेश्वरी नामक महिलाले विकास गर्नु भएको शिक्षण पद्धती हो । यो पद्धतीमा बालबालिकालाई खेली खेली धेरै कुरा सिकाइन्छ । नेपालमा पनि यो लोकप्रिय हुँदै गएको छ । मेरो जमानामा वा १९९६ तिर एउटा कपाल सिधा बनाउने केमिकल प्रयोग गर्ने फेसन आयो । मैले पनि किनेर ल्याएँ । लगाएँ । तर राम्रोसँग लगाउन नजान्दा कपाल झर्यो । अर्थात नबुझी मन्टेश्वरी चलाउँदा पनि मैले लगाएको केमिकल जस्तै हुन सक्छ । धेरैले त नाम मन्टेश्वरी राखेका छन् । पढाउने शैली केही छैन नाम मात्रै मन्टेश्वरी । समस्या के भयो भने मन्टेश्वरीको बेसमा हुर्केका बालबालिका जब सामान्य विद्यालय जान्छन् उनीहरुलाई एडजस्ट गर्न गाह्रो हुन्छ । 

 

नेपालमा विद्यालयहरुको अनुगमन गर्ने निकाय पनि प्रभावकारी छैन । जसका कारण शिक्षामा सुधार गर्न गाह्रो भएको छ । कतिपय गाउँमा सरकारी विद्यालयहरुले पनि मन्टेश्वरी विधि अपनाएका छन् । जसको परिणाम पनि राम्रो भएको छ । 

 

सरकारले अहिले कोही पनि फेल नहुने ग्रेडिङ सिस्टम लागू गरेको छ । यसो गर्दैमा शिक्षाको गुणस्तर राम्रो हुन्छ ? 

सीधै भन्नु पर्दा यसरी गुणस्तर सुधार हुँदैन । म स्कुल हुँदा १ अंकले पनि विद्यार्थी अनुत्तीर्ण हुन्थ्यो । अहिले पास अन ट्रायल भनेर बच्चाहरु फेल भए पनि सोझै पास गराइन्छ । अहिले विश्वको सबैभन्दा राम्रो शिक्षा फिनल्याण्ड हो । त्यो प्रणालीमा कक्षा १ देखि १० सम्म परीक्षा नै हुँदैन । होमवर्क नै दिने गरिदैन । ग्रेडिङ सिस्टम विश्वभर छ । यो प्रणालीमा जानुको उद्देश्य कमजोरी ढाकछोप हो वा अरु केही हो थाहा छैन । तर यो विधि आफैमा नराम्रो होइन । पद्धति मात्रै राम्रो भएर हुँदैन त्यसको कार्यान्वयन पनि राम्रो हुनुपर्छ । 

 

राम्रो परिणामको लागि शिक्षक, वातावरण, अभिभावक र भौतिक पूर्वाधारको आवश्यकता पर्छ । पढ्ने कन्टेन्ट एउटै हो तर वातावारण फरक फरक हुन्छ । हामीले सबैलाई राम्रो वातावरण दिने प्रयास गर्नु पर्छ । 

 

नेपालमा सरकारी र निजीबीच ठूलो अन्तर छ । निजीलाई बन्द गर्नुपर्छ भन्नेहरु पनि छन् । अर्कोतिर सरकारी क्षेत्रलाई ध्यान दिनु पर्छ भन्नेहरु पनि छन् । निजी क्षेत्र किन यसरी फड्को मार्दै छ भन्ने बुझ्नु पर्छ ।  विकसित मुलुकहरुमा सरकारी शिक्षामा नै मानिसहरु जान चाहन्छन् । तर यता निजीमा । उता निजीमा अथाह महंगो पर्ने भएकोले मानिसहरु धेरैको रोजाई सरकारी हुन्छ । त्यहाँको गुणस्तर पनि राम्रो हुन्छ । निजी क्षेत्रको सबैभन्दा ठूलो डर लगानी हुन्छ । लगानी डुब्ला कि भन्ने हुन्छ । नाफा कमाउने ध्यानमा उनीहरु विभिन्न उपाय रच्छन र सफलता पाउँछन् । तर सरकारी विद्यालयमा सबै विद्यार्थी फेल भए पनि शिक्षकको तलब आइरहन्छ । सबै विद्यार्थी प्रथम श्रेणी भए पनि फरक पर्दैन सबै फेल भए पनि फरक नपर्ने भएकोले सरकारी विद्यालयको गुणस्तर राम्रो छैन । 

 

तपाईहरुले विदेश जाने भाइबहिनीहरुका लागि पार्ट टाइम जागिर कसरी खोज्ने, कसरी गर्ने भन्ने विषयमा तालिम पनि दिनु हुन्छ । नेपालका विद्यार्थीहरुले कस्ता दुःख पाउँछन विदेशमा ? 

–    यो विषय गम्भीर छ । मैले लन्डनबाट एमबिए गरे । त्यो बेला मैले मेरो डेरामा एकै दिन ७ जनालाईसम्म आश्रय दिएँ । धेरै भाइबहिनीहरुलाई आश्रय पनि दिएँ । त्यो बेला बेलायत त धेरै पुगे । तर उनीहरुसँग न खाने व्यवस्था थियो, न बस्ने । पार्कमा बसेर रोएको धेरै देखेँ । अहिलेको बच्चाहरु ब्रोइलर कुखुरा जस्ता छन् भन्ने कुरामा म लगभग सहमत छु । 

 

अहिलेका बच्चाहरुमा ‘भिटामिन एन’ को कमि छ । अर्थात उनीहरुले जे जे माग गरे, बाबुआमाले ‘नो’ भनेनन् । अर्थात उनीहरुमा ‘भिटामिन एन’ पुगेन । बाबुआमाले ‘भिटामिन एन’ दिन जानेनन् । बच्चालाई मेहनत गरे माग पूरा हुन्छ भन्ने सिकाएनन् । जे माग्यो त्यो दिए । मेहनत गरे यो पाइन्छ भन्ने नै भएन ।