कभर स्टोरी स्तम्भहरू इतिहास र अनुभूति

मगन्ते देशका राष्ट्रपतिले १८ करोडको गाडी चढ्न सुहाउँदैन (भिडियोसहित)

मगन्ते देशका राष्ट्रपतिले १८ करोडको गाडी चढ्न सुहाउँदैन (भिडियोसहित)

चर्चित विश्लेषक प्रा. डा. सुरेन्द्र केसी समसामयिक विषयवस्तुमा तीखो टिप्पणी गर्नुहुन्छ । यसपटक नेपालआजसँगको कुराकानीका क्रममा पनि डा. केसीले ‘राष्ट्रपतिको गाडी’ ‘प्रचण्डको परिवारवाद’ ‘मन्त्रीहरुको शाब्दिक अशभ्यता’ जस्ता विषयमा टिप्पणी गर्नु भएको छ । प्रस्तुत छ डा. केसीले व्यक्ति गर्नु भएका धारणाहरुको सारः 

 

–राष्ट्रपतिले राजाका बुलेट प्रुफ गाडी चढेर हिँड्दा के हुन्छ ? नयाँ गाडी नै किन चाहिने ? नयाँ गाडी खरिद गर्दा कमिसनको कुरा पनि होला । लोकतन्त्रमा दुःख जति जनतालाई, सुख जति यिनलाई र यिनका स्वास्नी छोराछोरीलाई मात्रै ? यहि हो लोकतन्त्र भनेको ? औकात नै नभएकालाई राष्ट्रपति बनाउने, औकात नै नभएकाहरुलाई मन्त्री प्रधानमन्त्री बनाएपछि यस्तै समस्या आउँछ । यिनीहरुमा भड्किलो जीवनशैलीले छोप्दै गएको छ । यो राष्ट्रहित विपरीत छ । 


–सञ्चारमन्त्री भन्छन्, ‘के राष्ट्रपतिले साइकल चढेर हिँड्नु पर्ने हो ?’ ल हेर्नुस त । सञ्चारमन्त्री जस्ताले बोलेको शब्द । के हामीले साइकल चढ्नुस भनेको हो ? हामीले त घाँटी हेरी हाड निल, तेरो देश त माग्ने छ । माग्ने देशको थाङने पदाधिकारीले कस्तो गाडी चढ्ने भन्ने पनि थाहा छैन ? म प्रोफेसर हुँ । मेरो समकक्षी विदेशी व्यक्तिहरुको मासिक तलब २ लाख हुन्छ । मेरो ५० हजार छ । अब मैले मेरो तलब किन २ लाख भएन ? भन्ने ? घाँटी हेरी हाड निल्नु परेन ? जनताले पर्छ भने राष्ट्रपतिले किन नपर्ने ? 

 


–मेरो विचारमा त राष्ट्रपतिले साधारण नौ लाख जति पर्ने गाडी र अगुवापछुवाका पनि त्यही अनुपातका गाडी भए पुग्छ । यो भन्दा बढी महंगा गाडी किन चाहिन्छ ? मलाई तर्क दिए हुन्छ । बुलेट प्रुफका कुरा गर्छन् । कसले गोली हान्छ यिनलाई ? कसैले हान्छ नै भने पनि यिनीहरु कसरी जनताका नेता त ? लोकप्रियता बिना नै राष्ट्रपति भएर बस्ने पनि त होइन । क्यानडाको प्रधानमन्त्री टुकुर टुकुर मेट्रोमा हिँडेको सामाजिक सञ्जालमा हामीले देखेका छौं । ब्रिटेनकै प्रधानमन्त्री पनि मेट्रोमा हिँड्छन् बेला बेला । पोहोर म बेल्जियम गएको थिएँ । एउटा केटो सार्वजनिक स्थानमा ट्रयाक सुट लगाएर टेनिस खेलिरहेको थियो । त्यो केटो त्यहाँको राजकुमार हो भन्थे चिन्नेहरुले । हाम्रै देशका लागि चाहिँ किन यति असुरक्षा ? 

 

–यिनीहरुले डेन्टिङ पेन्टिङ गरेर राष्ट्रपतिको प्रतिष्ठा माथिल्लो बनाउँछन् । हामीलाई थाहा छैन र विद्या भण्डारीको कति क्यापिसिटी हो भन्ने ? जनताप्रति सम्मानको नीति लिए पो उनीहरुले सम्मान पाउँछन् त । जापान, ब्रिटेनको राजपरिवारप्रति कस्तो ठूलो श्रद्धा छ । उनीहरुले देश र जनताप्रति सामाजिक व्यवहार गरेका छन् । त्यसकारण छ उनीहरुको सम्मान । आफू जनताको सम्मान नगर्ने, अनि फूलबुट्टा भरेर सम्मानीत हुन खोज्ने ? 

 

–राष्ट्रपति एक ठाउँबाट अर्को ठाउँ जाँदा यिनीहरुले आतंक मच्चाउँछन् । यस्तो त राजाहरुले पनि गरेका थिएनन् । 

 

–राष्ट्रपतिको गाडी महँडो भयो’ भन्दा प्रतिगामीको आरोप लाग्छ । राष्ट्रपतिलाई मन नपराउने व्यवस्थाका विरोधीले गाडीको किचलो झिकेको सञ्चारमन्त्री भन्छन् । यिनीहरुको दिमागमा के छ भन्न सक्दिनँ । हामी मगन्ते देशका नागरिकले तिरेको करबाट मितव्ययी साधन किन । विलासी साधनमा पैसा नउडाउ पो भनेको हो त । 

 

–यिनका छोरी, यिनका ज्वाईं, यिनका परिवारलाई मस्ती छ । यिनकै अगाडि घुँडा टेकेर टीका लगाउनु पर्ने अवस्था छ । यस्ताको अगाडि घुँडा टेकेर टीका थाप्नु भन्दा राजाकै अगाडि घुँडा टेके भएन र ? 

 

–सञ्चारमन्त्री भनेका त यिनीहरुले नै पुल्पुल्याएका पात्र हुन् । उनी स्वयंको केही दोष छैन । रवीन्द्र अधिकारीलाई यिनीहरुले टिपेर पर्यटनमन्त्री बनाइदिए । तर उनीहरु त्यो पद ‘डिजर्भ’ नै गर्दैनन् । उनीहरुको इमेज नै समाजमा बनिरहेको छैन ।  

 

–रवीन्द्र अधिकारीलाई मन्त्री बनाइरहँदा ‘युवा’ भनेर हामी आशावादी भयौं । तर अहिले सबैभन्दा विवादमा उनै छन् ।   लालबाबु पण्डीतलाई पनि हामीले खुबै बोक्यौं तर उनी पनि बद्नाम भए । युवराज खतिवडालाई त सबैभन्दा पढेको अर्थमन्त्री भन्यौं तर सबैभन्दा बढी निराशा नै अर्थमन्त्रालयबाट आयो । भनेपछि समस्या कहाँ छ भनेर खोज्नु पर्ने भयो । यसका केही कारण छन् । ती हुन्, ‘नन कमिटेड’ ‘नन भिजिनरी’ ‘करप्ट’ ‘डिसअनेस्ट लिडरसिप’का कारण अहिले समस्या उत्पन्न भएको छ ।

 

–आजभन्दा चालीस वर्षअगाडि दक्षिण कोरिया र नेपालको आर्थिक अवस्था उस्तै थियो । तर अहिले दक्षिण कोरियाको प्रतिव्यक्ति आय ३२ हजार अमेरिकी डलर छ । हाम्रो १ हजार ४ डलरमा छौं । लाज लाग्नु पर्ने होइन र ? यस्तो देशका प्रनिनिधिको कुरा अन्तर्राष्ट्रिय मञ्चहरुमा कसैले पनि सुन्दैनन् । उठेर हिँडछन् । हाम्रो कुनै प्रभाव नै हुँदैन ।  

 

–प्रदीप ज्ञवाली एक भद्र राजनीतिक व्यक्ति हो । तर दुर्भाग्य के हो भने उहाँलाई परराष्ट्रको पोर्ट फोलियो दिइयो । ‘राइट मेन रङ प्लेस’ भनेको यहि हो । आठ महिनाको अवधिमा ६८ दिन त उहाँ विदेश भ्रमण गर्नुभयो । त्यो भ्रमणबाट  के फाइदा भयो ?  

 

–‘ह्याभ’ क्लासमा पर्ने परिवारको सदस्य बीना मगर जस्तो मालामाल हुने भयो र ‘ह्याभ नट’ क्लासको सदस्य सिर्जना त्रिपाठी जस्तो हुने भयो । यो भन्दा बढी यस परिवारबारे बोल्नु सुरक्षाको दृष्टिले पनि राम्रो हुँदैन । 

 

प्रचण्डको परिवार 

–प्रचण्ड परिवारका कारण अरु तीन चारवटा परिवार बर्बाद भएको छ । सामान्य बुर्जुवा कानुनले पनि बहुविवाह अपराध हो भन्छ । गैरकानुनी हो । डिभोर्स भए पनि सम्पत्तिको हिस्सा दिएर मात्रै डिभोर्स हुन्छ । भारतमै पनि सोनिया गान्धी र मेनुका गान्धीबीच विवाद थियो । मेनुका गान्धी कांग्रेसबाटै बाहिर पुगिन् । पाकिस्तानमा पनि पारिवारिक राजनीतिक चलेको छ । पारिवारिक अन्तरसंघर्षभित्र पनि वर्गीयता हुन्छ । 

 

डोलिन्द्रप्रसाद शर्मा जस्तो विवादास्पद व्यक्तिले निकालेका रहेछन् प्रकाश दाहालको स्मारिका । यस्तो विवादास्पद व्यक्तिसँग यिनीहरुको साँठगाँठ हुन्छ भनेपछि कुरा स्पष्ट हुन्छ । यिनीहरुको सांस्कृतिक धरातल समान लाग्छ ।

डा. सुरेन्द्र केसी इतिहास र अनुभुति