समाचार प्रदेश ३

उपत्यकाको ४२ स्थानमा शौचालय निर्माण हुँदै

उपत्यकाको ४२ स्थानमा शौचालय निर्माण हुँदै

काठमाडौं । नेपाल यातायात मजदुर संघले काठमाडौं उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग गरेको छ ।

 

 

यातायात मजदुर संघको टोलीले सोमबार काठमाडौं महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई भेटेर उपत्यकाका सबै बस बिसौनीमा सफा र व्यवस्थित शौचालयको माग गरेको हो । 

 

 

सङ्घका उपाध्यक्ष सुमन घलेको नेतृत्वमा गएको टोलीले शौचालय निर्माण, यातायात मजदुरलाई परिचयपत्रको आधारमा शौचालयमा शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने तथा महिला मजदुरका लागि छुट्टै शौचालयको व्यवस्था गर्नुपर्ने माग राखेको हो ।

 

 

प्रशासन प्रमुख कार्कीले महानगरले सडक विभागसँग १४२ स्थानमा शौचालय निर्माणका लागि ठाउँ माग गरिएको जानकारी दिए । 

 

 

‘४२ बस बिसौनीमा शौचालय निर्माणका लागि ठाउँ उपलब्ध भएको छ’ उनले भने । उपलब्ध गराएका स्थानमा एक हप्ताभित्र बोलपत्र आह्वान गरी शौचालय निर्माण थाल्ने उनले बताए ।

 

 

हाल काठमाडौं उपत्यकामा १३ स्थानमा मात्र सार्वजनिक शौचालय छ । सङ्घका महासचिव नुरनाथ पन्तले देशभर यातायात श्रमिकका लागि शौचालयको समस्या रहेको बताए । 

शौचालय नेपाल यातायात मजदुर संघ