खेल प्रदेश ५

राइनो संरक्षण गोल्डकपको उपाधि च्यासल युथ क्लबलाई

राइनो संरक्षण गोल्डकपको उपाधि च्यासल युथ क्लबलाई

कावासोती । एक सिङ्गे गैंडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा सञ्चालित ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि च्यासल युथ क्लबले जितेको छ ।

 

 

बिहीबार भएको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै च्यासलले उक्त उपाधि जितेको हो । 

 

 

खेलको १० औं मिनेटमा अभिषेक रिजालको गोलबाट नेपाल पुलिसले अग्रता लिए पनि १६ औं मिनेटमा च्यासलले बराबरी गोल फर्कायो । 

 

 

एक्काइसौँं मिनेटमा पुलिसले थप एक गोल गर्दै मध्यान्तर अघि आफ्नो पक्षमा पार्यो मध्यान्तर पछि च्यासलले बराबरी गोल फर्कायो । निर्धारित समय बराबरीमा सकिएपछि थप गरिएको समयमा समेत दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा पुगेको थियो । 

 

 

टाई ब्रेकरमा च्यासल युथ क्लबले ५÷३ गोल अन्तरले नेपाल पुलिसलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । विजेता च्यासलले रु ४ लाख ९९ हजार ५५५ सहित शिल्ड र पदक प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिसले २ लाख ५५ हजार ५५५ प्राप्त गरेको छ ।

 

प्रतियोगिताको म्यान अफ दि सिरिज च्यासलका गोल रक्षक दिनेश थापा मगर भएका छन् । खेलको माध्यमबाट युवाहरुलाई वन तथा वन्यजन्तु संरक्षणमा लाग्न उत्पे्ररणा जगाउने उद्देश्यले विगत पन्ध्र वर्षदेखि नन्द–भाउजू मध्यवर्ती उपभोक्ता समितिले नियमित रुपमा उक्त प्रतियोगित सञ्चालन गर्दै आइरहेको छ । 

च्यासल युथ क्लब राइनो संरक्षण गोल्डकप