कभर स्टोरी

खेल

भिडियो

हो, थुप्रै बक्सर फ्रस्टेट छन्, उनीहरुलाई भट्टीमा भेटिन्छ

मङ्गलबार, २३ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

हो, थुप्रै बक्सर फ्रस्टेट छन्, उनीहरुलाई भट्टीमा भेटिन्छ

काठमाडौं । कुनै बेला रेस्लिङमा आकर्षित भएका मनोहर बस्नेत अहिले व्यावसायिक बक्सर बनेका छन् । उनले अन्तर्राष्ट्रिय खेलाडिहरूलाई पछार्दै नेपालको नाम रोसन गर्न पनि सफल भए । उनी सन् २००९ मा मुम्बइ च्याम्पियन भए । त्यसैगरी, सन् २०१० मा महाराष्ट्र च्याम्पियन, सन् २०११ मा अल इन्डिया इन्टर क्लब च्याम्पियन, सन् २०१२ मा भारतीय कलर्स च्यानलमार्फत रिङका किङ रेस्लर सोमा पनि खेल्ने मौका पाए । र सन् २०१७ मा सुपर बक्सीङ लिगमा पनि च्याम्पियन भए । 

 

१४ पटक राष्ट्रिय च्याम्पियन भएका मनोहर भन्छन्, ‘कति धेरै मेहनत गर्नु पर्छ यसको त हिसाबै छैन । सबैथोक त्यागेर समर्पित हुनुपर्छ ।’ बक्सिङ गुण्डागर्दी होइन कला हो । मनोहरलाई साथीभाईले बोलाउने नाम ‘म्याक्स’हो । यो नाम उनको शिक्षकले राखिदिएका थिए । म्याक्स भन्छन्, ‘बक्सर हुनु भनेको गुण्डागर्दीमा प्रवेश गर्नु हो जस्तो बुझाइ छ । यो त एक खेल हो । यसमा कला हुन्छ, खेल्न प्रतिभा पनि चाहिन्छ ।’

 

मनोहरको विचारमा बक्सिङ खेल्ने मात्रै फाइटर होइनन् । समाजका हरेक मानिस फाइटर हुन् । किनभने हर कोही व्यक्ति बिहान उठेदेखि दिनभर कुनै न कुनै कामका लागि केही न केही विषयमा भिडिरहेको हुन्छ । यसर्थ परिवेश फरक भएपनि मानिस सधै द्वन्द्वमा रुमल्लि रहेको एक ‘फाइटर’ नै हो ।

 

नेपालमा खेलाडीको राम्रो व्यवस्थापन र खेलमा भौतिक पूर्वाधार राम्रो नभएको उनको बुझाइ छ । खेल भित्र खेल भन्दा धेरै राजनीति भएको हुँदा यसले भ्रष्टचार निम्त्याएको उनको तर्क छ । आफूले तिरेको करबाट अन्तर्राष्ट्रिय स्तरमा खेल्ने भएपनि सरकारले भने आफ्नै ढुकुटीबाट पैसा लगानी गरेको जस्तो व्यवहर खेलाडीले भोग्दै आएका छन् । ‘अन्तर्राष्ट्रिय स्तरमा हामीले जित्यौं भने देशकै नाम रोसन हुने हो’, उनी भावुक सुनिए । स्पोर्टस् हेर्ने निकायहरू एकदमै कम हुँदा पनि सरकारले यो क्षेत्रलाई वेवास्ता गरेको भन्दै उनले थपे, ‘नेपालमा च्याम्पियन जन्मिन सजिलो छ तर च्याम्पियन हुन एकदमै गाह्रो ।’

 



 

नेपालीहरूले स्पोर्टस् भन्ने बित्तिकै फुटबल र क्रिकेटलाई बुझ्छन्

मुख्य रूपमा सबै प्रकारका खेललाई सबैले बराबर रूपले नर्हेदा नेपाली जनताहरूले स्पोर्टस भन्ने बित्तिकै फुटबल र क्रिकेटलाई मात्र बुझ्ने गरेको उनले गुनासाे पोखे । स्पोर्टस्मा अन्य खेल नै नपर्ने जस्तै गर्ने सोचाइमा परिवर्तन ल्याउनमा सरकार चुकेको उनको बुझाइ छ ।   सबै खेललाई समान दृष्टिकोणले हेर्ने वातावरण बनाउने मुख्य काम सरकार र खेलकुद संघको भएको उनले बताए । 

 

खेलकुदमा सरकारको कदम ‘मरभूमिमा दुई थोपा पानी’ हालेजस्तै

बस्नेतको अनुसार, सरकारी निकायको उच्च पदमा खेललाई बुझ्ने मान्छे पुगेकै छैन । कुनै निश्चित योजना र दूरगामी दृष्टिकोण बिना नै पदमा पुगेकाहरूले आफ्नो कार्यकालभर कार्यकर्तालाई मिलाएर समय बर्बाद गर्नुको साटो केही नगर्नेहरूप्रति बस्नेतको आक्रोश छ । सरकारका यस्त प्रतिनिधि पात्रले जनतालाई गफ नै गफमा चुर्लुम्म डुबाउनु भन्दा केही काम नगरेको उनको आरोप छ । 

 

त्यसकारण अब चुनावको समयमा चनाखो भएर मात्र भोट दिन उनको आग्रह छ । खेलकुदको क्षेत्रमा भएको कामबारे व्यंग्य कस्दै उनले भने, ‘मरभूमिमा दुई थोपा पानी हालेको जस्तै त अवस्था, यतिले पर्याप्त छैन । काम गर्ने र जान्ने मान्छेको हातमा बागडोर दिनु पर्छ ।’ 

 

जान्ने बुझ्ने खेलाडीहरूलाई छिर्न दिएकै छैनन्

बस्नेतको अनुभव अनुसार, नेपालको खेलकुद क्षेत्र एकदमै भद्रगोल अवस्थामा गुज्रिरहेको छ । खेलको उच्च राजनीतिक अहोदामा रहेकाहरू नै वर्षौसम्म त्यहीं घुमिरहने र खाने वातावरण सिर्जना भएको उनी बताउँछन् । आक्रोशित हुँदै उनले भने, ‘अनुभवी र सिप भएका खेलाडीलाई त प्रवेश निषेधजस्तै छ ।’ 

 

विज्ञान जस्तै हो बक्सिङ

बक्सिङ आर्ट तथा विज्ञान पनि भएको बस्नेतले जानकार गराए । बक्सिङ कसरी विज्ञान भयो भन्ने प्रश्नको जवाफलाई स्पष्ट पार्दै उनले भने, ‘उदाहरणको लागि, विज्ञानमा ‘वेट मल्टिप्लाई टु ब्यालन्स इज इक्वल टु फोर्स’, अथार्त वजन र ब्यालेन्सको मिश्रित हुँदा त्यहाँ बल उत्पन्न हुन्छ । बक्सिङ खेल्दा विपक्षीलाई कसरी झुक्याउने, कसरी बोलाउने, कसरी तनाव दिने, कसरी प्रेसर दिने, उसको पावर कसरी छल्ने, कुन कोणबाट कस्तो मुमेन्ट दिनेजस्ता कुराहरू एकदमै अध्ययन गरेर विपक्षीको आँखा र दिमाग पढेर जेस्चरबाट पन्चेजहरू क्यालकुलेसन गरेर खेल्नुपर्छ ।’

 

राजनीति गर्नआयो भनेर तीन वर्ष निलम्बनमा 

कुराकानी र बुझाइमा केही असमझदारी भएपछि राखेप बक्सिङ संघसंग बस्नेतको खटपट सुरू भयो । जसकारण संघले उनलाई आक्षेप लगाउने, तर्साउने र निकाल्ने जस्तो कार्यहरू गर्न थाल्यो । त्यतिबेला उनलाई आफनो काममा ध्यान दिन साह्रै गाह्रो भएको थियो । कसले के भन्छ तिर उनी लागेनन् । ‘आइ एम अ फाइटर एण्ड बर्न टु बि अ फाइटर’, यो कुराले उनको आत्मबल दह्रो बनाउँथ्यो । संघसंग बस्नेतको तालमेल नै नमिलेपछि संघका अध्यक्ष र उपाध्यक्षले यो राजनीति गर्न आयो भन्दै उनलाई तीन वर्षको लागी निलम्बन गरिदिए । 

 

‘च्याम्प अफ द च्याम्पियन’ को जन्म

संघबाट निलम्बन भएपछि आफ्नो अस्तित्व नै खोसिएको अनुवभ भयो बस्नेतलाई । केही समयसम्म त निकै ‘फ्रस्टेट’ भए । जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने भनाइ नै छ । बस्नेतको जीवनमा पनि त्यस्तै भयो । ‘म निलम्बन नभएको भए च्याम्प अफ द च्याम्पियनको आइडिया नै आउँदैनथ्यो । त्यसैले जे भयो राम्रोको लागि भयो । मेरो ‘ड्रिमप्रोजेकट’ नै थियो ‘च्याम्प अफ द च्याम्पियन’ । पहिले म रेस्लिङ पनि गर्थें ।

 

यसलाई अलिकति परिवर्तन गरेर नाम र दाम दुवै दिन सक्यो भने बक्सिङ पनि अन्तर्राष्ट्रिय स्तरमा चिनिन सकिन्छ भन्ने विचर र अवधारणले ‘च्याम्प अफ द च्याम्पियन’ सुर गरें ।’ उनले थपे, ‘युरोपतिर बक्सिङले नै थुप्रै पैसा कमाउन सकिन्छ भने यहाँ अलिकति मेहेनत गर्यो भने पक्कै पनि सकिन्छ । मेरो योजना, अवधारणा र दृष्टिकोण एकदमै क्लियर भएकोले होला मैले बक्सिङमै धेरै राम्रो भविष्य देखेको छु ।’ 

 

नेपालका थुप्रै बक्सर अहिले फ्रस्टेट भएर भट्टिहरूमा देखिन्छन्

बक्सिङ बुझ्ने मान्छेले स्पोन्सर गर्न आएमा भोलिको दिनमा बक्सिङलाई नेपालको नम्बर वान बनाउन सक्ने दृढ विश्वास बोकेका छन् बस्नेतले । उनका अनुसार विश्वमै बक्सिङ नम्बर वान स्पोर्टस हो । यसलाई ‘किङ अफ स्पोर्टस्’ पनि भनिन्छ र यसबाट राम्रो आम्दानी पनि गर्न सकिन्छ । बस्नेतका अुनसार, नेपालमा पनि राम्रा खेलाडी, प्रशिक्षक र समपूर्ण जीवन नै बक्सिङमै सुम्पेकाहरू पनि प्रशस्तै छन् । तर राम्रो व्यवस्थापन नभएकै कारण निराशिएर रक्सीको कुलतमा फस्न बाध्य भएका उनले धेरै देखेका छन् । ‘आफ्नो उर्जाशील समय बक्सिङमा लगेकाहरू यो क्षेत्रको कमजोरीको कारण अन्त्यमा भट्टिहरूमा देखा पर्न थाल्छन्’, उनी निराश सुनिए ।