कभर स्टोरी

भिडियो

जब आमाले नै छोराका लागि सेक्स टोय किनेर लगिन्...(भिडियोसहित)

सोमबार, २२ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

जब आमाले नै छोराका लागि सेक्स टोय किनेर लगिन्...(भिडियोसहित)

काठमाडौं । दश वर्ष अघि युवराज न्यौपानेले काठमाडौंको खिचापोखरीमा एउटा ब्यानर टाँसे, ‘नेपाल कण्डम हाउस’को नाममा । त्यो ब्यानरले नेपाली समाजमा उनको ठूलै धज्जी उड्यो । मजाककोे पात्र नै बने उनी । वरिपरि गाईंगुईं सुनिन्थ्यो, ‘फलानाको छोरा त कत्ति उत्ताउलो भएको’ । हुँदाहुँदा पसल दर्ता गर्न जाँदा समेत दर्ता गर्ने ठाउँमा उक्त नाम अलि उच्श्रंखल सुनिएको हुँदा नाम परिवर्तन गर्न भनियो । केही समय त न्यौपानेले जसोतसो चलाए । 

 

उनको कामकै कारण मानिसहरू उनीसँग सार्वजनिक ठाउँमा बोल्न हिच्कीचाउँथे । पुरूषहरू त उनीसँग बोल्दा आफ्नो इज्जत नै जानेजस्तो गर्थे भने महिलाको त झनै के कुरा । तर, प्राइभेटमा भने उनलाई फोन गर्ने र यौनबारे जिज्ञासा राख्ने धेरै हुन्थे । 

 

कण्डम बेच्नेमात्र होइन, न्यौपाने हेल्थ एसिस्टेन्ट पनि हुन् । यौन शिक्षा दिने काममा पनि उनी सक्रिय भएर लागेका छन् । पाँच वर्षसम्म त उनले सडकमै बसेर निशुल्क रूपमा यौन शिक्षा दिए । यौनबारे हुने जिज्ञासालाई खुलेआम रूपमा बोल्न उनलाई केही हिच्कीचाहट छैन । 


कण्डममात्र होइन, नेपाल कण्डम हाउसमार्फत उनले ‘सेक्स टोयज’ पनि बिक्री वितरण गर्दै आएका छन् । उनको स्टोरबाट पुरूषको तुलनामा महिलाले बढी मात्रामा सेक्स टोयज खरिद गर्छन् । तुलनात्मक हिसावमा महिलाले बढी खरिद गर्छन् भन्ने बित्तिकै पसलमा आउने पुरूष ग्राहक अचम्मित हुँदै युवराजलाई सोध्छन्, ‘महिलाहरूले पनि सेक्स टोयज किन्छन् र ?’ यो कुरा सुनेर बरू युवराज बढी आश्चार्यजनक हुन्छन् । 

 

महिलाहरूले पुरूषको तुलनामा सेक्स टोयज बढी खरिद गर्ने कारण बताउँदै उनले भने, ‘यसले के देखाउँछ भने, महिलाहरू पुरुषको तुलनामा अवैधानिक रुपमा सक्रिय छैनन् । बाहिर अन्य परपुरुषसँग यौन सम्पर्क नराख्ने महिलाहरुले सेक्स टोयज प्रयोग गर्छन् । ९० प्रतिशत महिला समाजको मान मर्यादामा चलेको भन्दै उनले भने, पुरुषहरु बरु आफ्नो श्रीमती या यौन पार्टनर नभएको खण्डमा ‘सेक्स टुरिजम’ मा जान्छन् । तर महिलाहरुले सेक्स टोयज प्रयोग गरेका छन् ।’

 

अहिलेको बढ्दो बलात्कारका घटनाको प्रमुख कारण नै यौन शिक्षाको कमी भएको औँल्याउछन् उनी । उनले भने, ‘नेपालमा सेक्स बारे बुझ्ने र सुन्ने मौका कहीँ पनि पाइएन । यौन शिक्षाबारे कहाँ सिक्ने भन्नेबारे नै थाहा छैन । ब्रह्माण्ड जगत सृष्टि जे जति भएको छ यो सबै सेक्सको उपज हो । सृष्टि संरचना गरिने एउटा क्रियाकलाप सेक्स हो जुन अत्यन्तै सम्मानित छ ।’ त्यसकारण हामी सबैले, ‘म सेक्सको उपज हो’ भन्ने कुरालाई खुलेर आत्मसात गर्नुपर्ने उनको धारणा छ ।

 

 
यौनको अर्थ वास्तवमा समाजमा नकारात्मक रुपमा मात्र निर्देशित भएको बताउँदै उनले भने, ‘सेक्सको अर्थ समाजमा मिसलिड भएकै छ । ब्रह्माण्डकै कुरा गर्दा पनि आकाशलाई पिता र धर्तीलाई माता मानिन्छ । जब आकाश एकदमै धमिलो हुन्छ, गडगडाउँछ त्यसपछि पानी पर्छ । त्यो पानी धर्तीमा परे पछि जमिनमा सिञ्चित हुन्छ र जमिन धेरै फल अन्न फलेर उर्वरा हुन् । ती सन्तान हुन् ।’
पुरुष समाजले महिलालाई खेलौना र विषयगत रुपमा मनोरञ्जन गर्ने साधन मानेको न्यौपानेको आरोप छ । पुरुष समाजले महिलालाई गरेको परिभाषा नै यहि भएको भन्दै उनले महिलालाई सम्मान नमिलेसम्म समाजमा हुने हिंसाका घटना नरोकिने उनले बताए । 

 

मानिसलाई चाहिने गाँस, बास र कपासजस्ते सेक्स पनि अपरिहार्य हो । यो सृष्टिको संरचना मध्येको अत्यन्तै आवश्यक कुरा भएको हुनाले यसलाई अपहेलना गर्दा आफैंलाई नोक्सान हुने उनी बताउँछन् । समयको माग र यसको गति परिवर्तन हुँदै गर्दा उनले सेक्स टोयजको पनि बिक्री वितरण सुरू गरे । विशेषगरि मानिसको आवश्यकता बुझेर र यौन विकृति नआओस् भन्ने हेतुले उनले यो व्यवसाय गरेका हुन् ।

 

हाम्रो समाजमा जबसम्म नारीलाई सम्मान हुँदैन, जबसम्म नारी र पुरुषबीच यौनका कुरा प्रष्ट रुपमा खुलेआम हुँदैन तबसम्म सेक्स टोयजले समाजमा सेक्सका विकृतिलाई नियन्त्रण गर्ने उनको धारणा छ ।  

 

सेक्सको विषयमा कुरा गर्ने महिलालाई असमाजिक तत्व मान्ने कुरामा उनी दुःखी छन् । भन्छन्, ‘मेरो काउन्टरमा आएर कति पुरूषले के महिला पनि सेक्स टोयज किन्न आउँछन् भनेर सोध्छन् । पुरूलाई यो यौनका कुरा उनीहरूले मात्र गर्न सक्छन् भन्ने अधिकार कसले दियो ? जसको आवश्यक्ता छ उसले अप्राकृतिक रुपमा प्रयोग गर्न सक्छ । यसले समाजिक विकृति फैलाउन दिँदैन ।’

 

के हो कुमारीत्व ?

कुमारीत्व या ‘भर्जिनिटी’ भन्ने विषयमा मानिसहरूमा नकारात्मक भ्रम फैलिएको देखिन्छ । महिलाको कुमारीत्वलाई मुस्लिम समुदाय अझै पनि चासोको विषय मानिन्छ । यसबारेमा प्रष्ट पार्दै उनले भने, ‘हाम्रो संस्कृतिले पनि के भन्छ भन्दा, पुरूष भन्दा महिला अलि कम उमेरको हुनुपर्छ । यसको कारण धेरै छन् । कुमारीत्वको कुरामा महिलाको उमेर कम हुनुपर्छ भन्नुको कारण, महिलाहरूले अहिलेसम्म दाँया बायाँ नगरेको होस् भन्ने हो । अहिलकति उमेर भयो भने ऊ भर्जिन हुँदैन भन्ने डर हुन्छ । पुरुष समाज हो, त्यसकारण भर्जिनिटी भन्ने कुरा आयो ।’

 

उनले भने, ‘कुमारीत्वलाई वैज्ञानिक रूपमा हेर्दा, यो महिलाहरूमा हुने एक प्रकारको झिल्ली हो । त्यो झिल्ली मेन्सुरल साइकल सुरु हुँदा फुट्छ । कसैले साइकल चलाउँदा या स्पोर्टी महिलाहरूमा पनि त्यो झिल्ली हुँदैन । कुनै पनि महिलाको यदि त्यो झिल्ली रहिरहन्छ भने त्यो महिला मेरो दृष्टिकोणमा अस्वस्थ्य मान्छु । त्यसले उसको यौनांग परिपक्व हुन पाउँदैन । कुमारीत्व तोडिन्छ भनेर कुनै कुनै मुस्लिम समुदायमा काम गर्न पठाइदैन । विवाहको रातमा सेतो तन्ना बिछ्याइन्छ । कसैले ‘वाइल्ड सेक्स’ गर्दा महिलाको योनीबाट रगत बग्छ । तर यसलाई पुरूषले कुमारीत्व मान्छ । यो गलत सोचाइ हो । सेक्सको विषयमा कुमारीत्व भन्नु भनेको विकृति हो । म मानव हो भन्नु भन्दा म एउटा पुरूष हो भन्नु नै घमण्ड हो ।’

 

 

वर्तमान सरकारले बलात्कारको घटना न्यूनिकरण गर्न पोर्न साइट ब्यान गरेको छ । यसको सहमतमा छैनन् न्यौपाने । बलात्कार कम गर्न उनले दिएका सल्लाह र सुझाव उनकै शब्दमा ः 

 

‘बलात्कार कम गर्न सबैभन्दा पहिला यौन शिक्षाबारे बुझ्नुपर्छ । समाजमा यस्ता जघन्य कुरा कसरी हुन्छन् भनेर बुझ्नुपर्छ । पोर्न साइटको पनि वास्ताविकता बुझ्नुपर्छ । पोर्नमा पनि धेरै यौनसम्बन्धी शिक्षा पाइन्छन् । पोर्न साइट हेर्ने मान्छे कति छन् ? यसको कारणले बलत्कार गर्ने कति छन् । नेपालमा यो कहिलेबाट आयो ? विश्वभर पोर्न कति हेरिन्छ ? यो कुरा बुझ्नपर्छ । यसको कारण विकृति आएको हो भने आज भन्दा अघि पनि विकृति आएको थियो । पोर्न संसरभरि हेरिन्छ । प्रत्येक घरका प्रत्यक व्यक्तिले हेर्छन् तर यसको उपज हो भन्न सकिदैंन । पोर्न बन्द गर्दैमा, फाँसी दिँदैमा यौन पिपाशु घट्छन् भन्ने छैन ।

 

यौन पिपाशु कस्ता हुन्छन् भन्दा, कि त उसले प्रतिशोधमा गरेको हुन्छ कि मानसिक सन्तलन गुमेको हुन्छ । मानसिक समस्या भएको मान्छेले गर्दै गर्दैन भन्ने होइन । कुन प्रकारको मानसिक समस्या भएको मान्छे भन्ने बुझ्नुपर्छ । बौद्धिक अपांगता पनि हुन्छन् । जो मानसिक रुपमा बच्चा जस्तै हुन्छन् । त्यस्ता व्यक्तिलाई पनि यौनको चाहना हुन्छ । तर कुन समयमा के गर्ने या नगर्ने भन्नेबारे उनीहरूमा सोच्ने क्षमता हुँदैन । त्यस्तो समयमा उनीहरूले कसैलाई जबरजस्ती करणी गर्न खोज्छन् । यदि त्यस्तो पुरूषले बलात्कारप गर्‍यो भने उसलाई के भन्ने ? यस्ता व्यक्ति धेरै छन् नेपालमा । 

 

एकजना आमाले आफ्नो छोरालाई सेक्स टोयज किनिदिएको घटना पनि सुनाए उनले । यो उनको व्यवसायकै खुसीको क्षण थियो । उनले घटनाबारे बेलिविस्तार लगाउँदै भने, ‘५२ वर्षकी दिदी आउनुभयो । उनको छोरा २४ वर्षको । मसँग छोराको समस्याबारे गफ गर्दागर्दै आशुँ झार्नुभयो । उनको छोरा बौद्धिक अपांगता भएको थियो । घरमा पाहुना आएका छोरीलाई च्यापप समातिदिने । के भन्ने नभन्ने केही थाहा छैन । आमालाई एकदिन भनेछ,  ममी मेरो यौनांग सुन्निएको छ । एकदमै पोल्छ भनेर यौनांग देखायो । यौनांग फुलेर सुन्निएको थियो । राती विहान त्यही देखाउँछ । डाक्टरलाई देखाउँदा डाक्टरले पनि सामान्य पेन किलर दिएर पठाए । पछि त्यो कन्ट्रोलमा आयो । तर केही दिनपछि फेरि सुन्नियो । उसको गतिविधी हेर्न आमाले एनदिन आफ्नै कोठामा सुताउनुभयो । पछि थाहा भयो, छोराले रातभरि हस्तमैथुन गर्ने रहेछ । मानसिक रुपमा सचेत व्यक्तिले हस्तमैथुन गर्दा आफूलाई कहाँ कन्ट्रोल गर्ने थाहा पाउँछ । तर त्यस्ता व्यक्तिलाई कतिबेला कन्ट्रोल गर्ने थाहा हुँदैन । वीर्य स्खलन भएको पनि थाहा पाउँदैनन् ।’ 

 

पछि थाहा भयो, रातभरि हस्तमैथुन गर्दा छोराको लिंगमा घाउ भएर सुन्निएको रहेछ । आमाले यो कुरा महशुस गरेर युवराज कहाँ गइन् । सेक्स टोयस लगिदिनुस् भनेर युवराजले सित्तैमा दिएर पठाए । यसले छोराको व्यवहारमा केही सुधार आएको देखेर ती आमाले एक महिना पछि आएर युवराजलाई पैसा दिएरै छाडिन् । यसरी बच्चालाई हुने बौद्धिक समस्याका कारण पनि यौन विकृति आउनेबारे उनले प्रष्ट पारे । 

 

सेक्स एजुकेसन वास्तावमै अपरिहार्य भएका कारण सरकारले अफ्नो तर्फबाट पाठ्यक्रममा यौन शिक्षाबारे किताब नै राख्नुपर्ने कुरामा उनले जोड दिए । यसका साथै अभिभावकले पनि यसबारे घरमै सिकाउनुपर्ने उनको धारणा छ ।