कभर स्टोरी

भिडियो

‘एसइईमा ग्रेडिङले गर्दा विद्यार्थी र अभिभावक चिन्तित छन्’ (भिडियोसहित)

आइतबार, २१ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

‘एसइईमा ग्रेडिङले गर्दा विद्यार्थी र अभिभावक चिन्तित छन्’ (भिडियोसहित)

काठमाडौं । शिक्षाविद् डा. भरतराम ढुंगानाले एसइइ परीक्षामा विद्यार्थीहरूको उत्तीर्ण प्रतिशतलगायत गुणस्तर अभिवृद्धि गर्न शिक्षा नीति केन्द्रित हुनुपर्ने बताएका छन् ।

 

उनले सामुदायिक विद्यालयका विद्यार्थी नेपाली विषयमा राम्रो देखिने तर बोर्डिङ स्कुलका विद्यार्थी नेपालीमा कमजोर देखिनाले त्यस्तो समस्याको कसरी सुधार गर्न सकिन्छ भनी सम्बन्धित निकायले सम्बन्धित शिक्षकहरूसँग बसेर अन्तरसंवाद एवं गोष्ठीहरूको आयोजना गरेर आवश्यक रणनीति तय गर्नुपर्ने आवश्यकता औंल्याए । 
 

 

नेपाल आजसँग मुलुकमा प्रचलित परीक्षा प्रणाली र समग्र शैक्षिक गुणस्तरको अवस्था सम्बन्धमा विशेष कुराकानी गर्दै डा. ढुंगानाले भने, ‘ग्रेडिङ सिस्टमले सम्बन्धित विद्यार्थीले अध्ययनका लागि अवसर पाएन भने उनीहरूमा वितृष्णा वा नैराश्यताको अवस्था आउन सक्छ । ‘डी’ ग्रेड ल्याउने विद्यार्थीले भनेको विषय पढ्न नपाउने भएकाले अभिभावकहरूमा चिन्ता विषय थपिएको छ । यस्तै कारणले गर्दा प्लस टु हाम्रा विद्यार्थी छिमेकी देशमा पलायन भएका छन् । त्यहाँ यस्तो ब्यारिएर छैन । त्यसकारण विद्यार्थीमा नैराश्यता र पलायन रोक्न अहिलेको प्रचलित परीक्षा प्रणालीको पुनः मूल्यांकन हुन जरुरी छ ।’
 

लघुवित्तविद् डा. ढुंगानाले नेपाल आजसँगको कुराकानीमा अभिव्यक्त गरेका विचारको सारसंक्षेप यसप्रकारको छ ः
 

‘शिक्षाको गुणस्तर अभिवृद्धिमा योग्य शिक्षकलगायत पठनपाठनको अवधिको पनि भूमिका हुन्छ । सरकारी कलेजमा विद्यार्थीको उपस्थितिको गणणा गरिँदैन् । तर यो आवश्यक छ । उपस्थितिलाई हेरेर शिक्षकले विद्यार्थी नियालिरहेको हुन्छ । उपस्थितिबाट नै विद्यार्थी उत्तीर्ण दर हेर्न सकिन्छ । कतिपय विश्वविद्यालयमा परीक्षाको घडीमा विद्यार्थीहरू इनरोल भइराखेको हुन्छ । विभिन्न विद्यार्थी संघसंगठनको दबाबमा रजिष्ट्रेसन वा परीक्षा फर्म भर्न लगाइन्छ । कक्षामा अनुपस्थित भएका विद्यार्थीले कस्तो नतिजा ल्याउन सक्ला त्यसै अनुमान लगाउन सकिन्छ । व्यवस्थापन विषयमा शिक्षण विधिमा केस स्टडी प्रणाली अपनाइएको छ । यस प्रणालीले विद्यार्थीहरूको निर्णय गर्ने शक्ति वा क्षमता अभिवृद्धि गर्न सघाउ पुर्‍याएको छ, योे प्रणालीमा शिक्षक पनि पारिवारिक हुनु जरुरी छ ।’

 

‘सरकारी कलेजको रिजल्ट नराम्रो हुनु र प्राइभेट कलेजहरूको रिजल्ट राम्रो हुनुमा गहिरिएर अध्ययन गर्नु जरुरी हुन्छ । जस्तो भनांै अध्ययनमा विद्यार्थीहरूको सहभागिता छ कि छैन ? शिक्षण विधि एकहोरो छ कि छैन ? यदि यस्ता छ भने विद्यार्थीहरूबाट अपेक्षित उत्तीर्ण परिणामहरू आउन सक्दैन । विद्यार्थीको उत्तीर्ण संख्या राम्रो गर्न विभिन्न फ्याक्टरले निर्धारण गरेको हुन्छ ।’
‘विद्यार्थी पास त भए तर कतै काममा जानुपर्‍यो भने उसँग व्यावहारिक ज्ञान भएन भने त्यस्ता विद्यार्थीको पनि काम छैन । त्यसकारण यी सबै कुराहरूलाई कसरी सम्बोधन गर्ने महत्वपूर्ण विषय हुन् ।’

 

‘विद्यार्थीको क्षमताको वैज्ञानिक मूल्यांकन भनेको जति विद्यार्थीको नजिकबाट मूल्यांकन गर्‍यौं त्यति राम्रो हुन्छ । वार्षिक परीक्षा मूल्यांकन प्रणालीले विद्यार्थीको क्षमताको परख गर्न सक्दैन । यो प्रणाली परम्परागत छ । यसले कुनै पनि हालतमा शिक्षाको गुणस्तर बढ्दैन । त्यही कारणले गर्दा नेपालका अधिकांश विश्वविद्यालयहरूमा सेमेस्टर परीक्षा प्रणाली आइसकेको छ । सेमेस्टर सिस्टमको ब्यटी भनेको विद्यार्थीको आन्तरिक तथा वाह्य दुबै मूल्यांकन हुन्छ ।’   

 

‘विकसित राष्ट्रहरूमा ट्राइमेस्टर मूल्यांकन सिस्टम छ । नेपालमा पनि यो सिस्टम अपनाइएको छ । पोखरा विश्वविद्यालयमा एमबिएमा मात्र यो सिस्टम लागू गरिएको छ । यो सिस्टमले विद्यार्थीको अनुगमन सम्बन्धित शिक्षकले नै गर्ने हुनाले यो प्रणाली अन्यको तुलनामा प्रभावकारी मानिन्छ तर नेपाल जस्तो बन्द, हड्ताल हुने राष्ट्रमा यो प्रणाली अलि चुनौतीपूर्ण देखिन्छ ।’

 


‘परीक्षा जति मर्यादित हुन सक्यो त्यति विद्यार्थीमा पढ्ने बानी विकास हुन्छ । परीक्षामा चिट चारेर पास भएर आएका संस्कृतिका विद्यार्थी ट्राइमेस्टर सिस्टममा फिट हुन सक्दैन । त्यसकारण चिट संस्कृति रोक्न आवश्यक छ र यसका लागि समाजलाई नै रूपान्तरण गर्न आवश्यक छ ।’
 

 

‘क्षमता नभएका अथवा चिट चोर्ने संस्कृति कै व्यक्तिहरू नातावाद र भनसुनका भरमा क्षमतावान् भएर सरकारी पदमा आसीन भएका छन् । यस्ता विकृति रोक्नु पर्दछ ।’
 

 

‘चिकित्सा शास्त्रको प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिने घटनाले परीक्षा प्रणालीको विश्वसनियतामाथि प्रश्न चिह्न उठेको छ । यस्ता प्रवृत्ति हटाउन परीक्षामा संलग हुने कर्मचारीको गोग्यता र क्षमता टेस्ट गर्नुपर्ने हुन्छ । यसरी गर्‍यो भने विकृति अवश्य पनि हट्छ तर राजनीतिक भर्ती केन्द्र वा भनसुनका भरमा कर्मचारी नियुक्त गरियो भने यस्ता घटनाक्रम भइरहन्छ । यस्ता घटनाक्रम रोक्ने हो भने भर्ती केन्द्र र भनसुनका भरमा आएकालाई संवेदनशील जिम्मेवारी दिइनु हुँदैन् ।’

 

‘परीक्षालाई मर्यादित तुल्याउन होम सेन्टरको व्यवस्था हटाउँदै लगेको र अहिले केही प्राइभेट कलेजले एकदमै राम्रो तरीकाले मर्यादित परीक्षा सञ्चालन गरिरहेको छ । पढ्नुपर्छ, चिट चोर्न हुँदैन चिट चोर्नु भनेको अपराध हो भन्ने संस्कृतिको विकास गर्नुपर्छ ।’