कभर स्टोरी

भिडियो

‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)

शनिबार, २० असोज २०७५ गते प्रकाशित
- नेपाल आज

‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)

स्वामी आनन्द अरुण ओशो तपोवनका संस्थापक हुनुहुन्छ । जीवन, दर्शन र मानिसका अनेकन समस्याको जड के हो भन्ने विषयमा स्वामी आनन्द अरुणले धेरै प्रवचन पनि दिनु भएको छ । ओशो दर्शनका अनुयायी आनन्द अरुण ओशो सन्यासी पनि हुनुहुन्छ । ओशो तपोवनमा धेरै मानिसहरु ध्यानका लागि पुग्छन् । धेरै मानिसहरु  अरुण स्वामीको मार्गनिर्देशनबाट लाभान्वित पनि भएका छन् । ओशो तपोवन योग ध्यान गर्न चाहनेकहरुका लागि एक गन्तव्य पनि हो । यस्तो तपोवन सञ्चालन गरेर धेरै मानिसहरुलाई दुःख र कष्टबाट पार लगाउन सहयोग गर्नु भएका अरुण स्वामीसँग हामीले जीवन र दर्शनबारे कुराकानी गरेका छौं । स्वामीजीले व्यक्त गर्नुभएको धारणाको सार निम्नानुसार छः  

 

दुःखको कारण महत्वाकांक्षा
मानिसहरु खुसी हुन चाहन्छन् तर भइरहेका छन् दुःखी । दुःखको मुख्य जड नै महत्वांकाक्षा हो । आफ्नो क्षमताभन्दा बढी महत्वाकांक्षा पालेपछि हामी दुःखी हुन्छौं किनभने ती सबै सजिलै पूरा हुँदैनन् । आफ्नो महत्वाकांक्षालाई सीमाभित्र राख्नु पर्छ । जय, पराजयमा समभाव राख्न सक्नु पर्छ । 

 

लालच मानव जातिको पुरानो रोग 
धनको लालच नयाँ होइन । यो सदियौंदेखि मानिसलाई धनको रोग लागेको छ । धनको रुप फेरिएको छ । सार उहि हो । अहिले नयाँ गाडी खोज्छ मानिस, पहिले घोडा खोज्थ्यो । लालच मानवजातिको पुरानो रोग हो । यो समस्याको समाधान भनेको सही शिक्षा र अध्यात्मक चेतना प्रवाह गर्न सकियो भने यो लालचबाट मुक्ति पाउन सकिन्छ । 

 

विद्यार्थीमा निराशाको कारण 
नेपालको शिक्षा पद्धति रुग्ण भयो । महत्वाकांक्षा जगाउने शिक्षा दिइरहेका छौं हामी । सफलता भनेको डाक्टर, इञ्जिनियर हुनुलाई मानियो । असल हुन अहिलेको शिक्षामा सिकाइँदैन । साना नानीहरुदेखि नै बच्चाहरुमा यस्ता सपना देखायौं, जुन हामीले देखेका छौं । विद्यार्थीको क्षमता र रुचीलाई ख्याल नगरी शिक्षा दियौं । जसका कारण विद्यार्थीहरु पीडित छन् । आमाबाबु, परिवार, समाजको महत्वाकांक्षा विद्यार्थीमाथि थोपरिएको छ । राम्रो कवि, लेखकलाई डाक्टर बनाउन खोजिन्छ भने समस्या त भइहाल्छ । 

 

काम ‘स्लो’ छ, नाम ‘फास्ट ट्रयाक’ 
राजनीतिज्ञहरुसँग भेट हुँदा म देशको पीडा सेयर गर्छु । युवाहरुको दुःखका कुरा उहाँहरुसँग राख्छु । मेरो निजी चाहना खास केही छैन । युवाहरु आफ्नो देश लथालिंङ छाडेर विदेशमा पसिना बगाइरहेका छन् । नेताहरुका पनि केही बाध्यता छन् । डेमोक्र्याटिक सिस्टममा कुनै पनि निर्णय लिन सजिलो हुँदैन । चीनमा एक निर्णय एक दिनमा हुन सक्छ । त्यहाँ एकतन्त्रीय शासन छ । हाम्रोमा पनि पञ्चायती व्यवस्थामा १० मिनेटमा निर्णय हुन्थ्यो । अहिले दश दिन लाग्छ । राम्रो कामको पनि विरोध हुन्छ । डेमोक्रयाटिक सिस्टम कन्फ्युज्ड सिस्टम हो । राम्रोसँग हेन्डल गरिएन भने यसले समस्यामा पार्छ । डेमोक्रयाटिक कल्चर निर्माण नगरी व्यवस्था लागू गर्दा प्रतिफल नकारात्मक आइरहेको छ । संसदीय अभ्यासमा प्रतिपक्षले सधै विरोध नै गर्नुपर्छ भन्ने बुभिएको छ । कतिपय निर्णय त १० वर्षमा पनि निर्णय हुँदैनन् । भयो भने पनि १० वर्ष लाग्छ कार्यान्वयन हुन । मेलाम्चीको पानी ल्याउने प्रस्ताब कृष्णप्रसाद भट्टराईले गर्नुभएको थियो । तर अहिले अवस्था यस्तो भयो । 

 

फास्ट ट्रयाककै कुरा गरौं । फास्ट ट्रयाक त नाम मात्रै भयो । काम त स्लो छ । न्यायको क्षेत्रको कुरा पनि त्यस्तै छ । समयमा न्याय नपाउनु पनि अन्याय गर्नु हो । 

डेमोक्रेसीका लागि हामी तयार नै भएका रहेनछौं 
डेमोक्रेसी आफैमा नराम्रो व्यवस्था होइन । एकतन्त्रीय राजतन्त्रीय व्यवस्था त्यति राम्रो होइन । डेमोक्रेसीमा सुधार आवश्यक छ । खासमा यो व्यवस्थाको लायक हामी आफै बनिसकेका छैनौं । अहिले पनि हामी साम्प्रदायिक सोच राख्छौं । क्षेत्र, लिंग, जातका आधारमा हामी विभक्त हुन्छौं । नेताको चाकरी गर्ने, काम लिन खोज्ने प्रवृत्ति छ । यस्तो संस्कारबाट  हामी मुक्त हुन सकेका छैनौं । यसकारण हामीले डेमोक्रेसीको फल पाउन सकेका छैनौं । 

 

डेमोक्रेसी होइन यसलाई मेरिटोक्रेसी बनाउनु पर्छ । अहिलेको प्रजातन्त्र भनेको भिडतन्त्र हो । भिडले गरेको निर्णयका आधारमा राजनीति चलेको छ । नेताहरुले  पनि देश र जनताको हित भन्दा पनि आफूलाई भोट दिनेहरुलाई खुसी बनाउनका लागि काम गरिदिन्छन् । यो डेमोक्रेसीको भावना होइन । हामीले प्रजातन्त्र मात्रै बुझ्न सक्यौं । जवाफदेहीता बुझेनौं । हामीले चाहेको अहिलेको जस्तो प्रजातन्त्र होइन, गुणतन्त्र हो । 

 

नयाँ राजा धेरै भए 
राजनीतिमा बढी उमेर भएका नेताका कारण समस्या भयो । ६–६ महिनामा विदेशमा उपचार गर्न जाने, अक्सिजनको सिलिण्डर छेउमा राखेर निर्णय गर्ने प्रधानमन्त्री धेरै भए । अबको क्याबिनेटमा ५० वर्षभन्दा कम उमेरका ५० प्रतिशत मन्त्री हुनुपर्छ । ताकि उनीहरुले धेरैभन्दा धेरै समय काममा दिन सकून् । व्यक्ति पूज ागर्ने चलन छ । 

 

राजसंस्था त फालियो । पहिले एउटा राजाको पूजा हुन्थ्यो । अहिले १०–१२ वटा नयाँ राजा भेटिएका छन् ।

 

आखिर श्रीकृष्ण रहेछन् एक 
धेरै मानिसहरुले जीवनको अन्त्यमा अध्यात्मिक ज्ञान पाउँछन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले समेत जीवनको अन्त्यमा भन्नु भएको थियो कि – ‘आखिर श्रीकृष्ण रहेछन् एक, न भक्ती भो, ज्ञान न भो विवेक’ । 

 

अध्यात्मिक व्यक्तिबाहेक कसैले पनि तृत्त भएर मर्न सक्दैन । भौतिकवादी मानिस शान्त भएर मर्न सक्दैन । महत्वाकांक्षाको दौडमा दौडिदै मानिसले जीवन बुझ्नै पाउँदैन । जीवन हामी अध्यात्मवादीले मात्रै बुझ्छौं । शान्तिपूर्वक जो मर्न पाउँछ, त्यो अध्यात्मवादी नै हो । 

 

भोट नदिने, राम्रो नेता खोज्ने
पढेलेखेका मानिसहरु, सभ्रान्त भनिनेहरु निर्वाचनको बेला घामले पोल्छ, भिड हुन्छ, हैरान हुन्छ भनेर मत खसाल्न जाँदैनन् । मेरो मतमा त मत अनिवार्य खसाल्नु पर्ने नियम बनाउनु पर्छ । आफू भोट नहाल्ने, राम्रो प्रतिनिधि नचुन्ने अनि पाँच वर्षसम्म ‘नेताले देश बिगारे’ मात्रै भन्नु हुँदैन । निर्वाचनको बेला सवारीसाधनहरु चल्न नदिने नियम पनि राम्रो होइन । अव्यवहारिक नियम किन नहटाइएको हो बुझ्न सकेको छैन । 

 

गरिबीले भ्रष्टाचार 
भ्रष्टाचारको मूल कारक गरिबी हो । गरिब देशहरुमा भ्रष्टाचार हुन्छ नै । नेपालमा भन्दा बढी भ्रष्टाचार पाकिस्तान, बंगलादेशमा छ । अहिले वडाध्यक्षको चुनावका लागि ४० लाख खर्च गर्छन् । संसदका लागि १ करोड लाग्छ । त्यो एक करोड भनेको लगानी हो । त्यो लगानी उठाउन सत्तामा पुगेपछि शुरुमा त काम गर्नै पर्छ । त्यही कामबाट हुन्छ भ्रष्टाचार । राजनीति एक व्यापार जस्तो बनेको छ । 

 

सामाजिक समस्याको मूल जड नै ‘विवाह’
मानिसहरु समाजमा बलात्कार वृद्धि भयो भनेर चिन्तित हुन्छन् । समस्याको जड के हो भनेर बुझ्दैनन् । कसैलाई सुन्दा तीतो लाग्न सक्छ । तर समस्याको मूल जड भनेको विवाह हो । कुनै पनि पशुपंक्षीमा विवाह देख्नु भएको छ ? हो मान्छेमा पनि यो विवाह भन्ने चलन नै थिएन । पछि यस्तो चलन आयो । विवाहका कारण सेक्सलाई अस्भाविक बनाइदियो । पशुपंक्षीमा  विवाह छैन –त्यहाँ सेक्स एक नेचुरल र नर्मल रुपमा रहेको छ । मानिसमा सेक्स नर्मल बनाइएन । विवाहको उमेर बढ्दै गइरहेको छ । पहिले सेक्सुअल मेचुरिटी १४–१५ वर्ष हुन्थ्यो । त्यही बेला विवाह हुन्थ्यो । अहिले सेक्सुअल  मेचुरिटी १०–११ मा हुन्छ । अहिले २५ वर्षसम्म त विश्वविद्यालयमा जान्छ । करिअर बनाउदा ३० वर्ष हुन्छ । विवाह ३०–३५ मा हुन्छ । २५ वर्षसम्म सेक्सको चाहना अधिक हुन्छ । सेक्स गर्ने बेला रोकेर उमेर ढल्केपछि सेक्सको अनुमति दिइन्छ । मूल समस्या नै यहि हो । सेक्स किन दबाइन्छ ? सेक्स दबाउने, जबर्जस्ती घोकाउने व्यवस्था नै खराब हो । 

 

बलात्कारीको लिंग काट्ने कुरा 
मानिसहरु बलात्कारीलाई फाँसी दिनु पर्ने भनेर कराउँछन् । बलात्कारीको लिंग काटिदिनु पर्ने कुरा पनि आउँछ । अहिले पनि विश्वमा धेरै देश छन् जहाँ बलात्कारीलाई मृत्युदण्ड दिइन्छ । तर त्यहाँ पनि बलात्कार शुन्य त भएको छैन । मान्छेको हर्मोनको इफेक्टका कारण सेक्स गर्न मन लाग्ने हो । यो कुरालाई दबाएर के फाइदा ? 

 

जैविक र प्राकृतिक कुरा दबाएर समधान निस्किदैन । कडा कानुन बनाउँदैमा बलात्कार रोकिदैन । सेक्सुअल मेचुरिटी र विवाहको उमेर पहिले समान थियो । समस्या कम थियो । अहिले त सिस्टम नै यस्तो भयो कि विवाह गर्ने उमेर ३० वर्ष पुग्यो । २५ वर्षपछि सेक्सको चाहना कम हुन्छ । ४५–५० को मानिसले बलात्कार गर्छ । किन त भन्दा यसको कारण भनेको रुग्ण सेक्स हो । उसको इच्छा १५–२५ मा राम्रो सेक्स गर्न पाएन भने त्यो व्यक्तिको सेक्सको चाहना ७० वर्षसम्म पनि पूरा हुँदैन । 

 

पोर्नोग्राफी बन्द गर्नु हुँदैन /वेश्यालय चाहिन्छ 
प्रविधिलाई रोकेर रोकिदैन । पोर्नोग्राफी बन्द हुनै सक्दैन । सकिदैन । नेचुरल कुरालाई बन्द गर्दा दुर्घटना हुन्छ । वेश्यावृत्ति खुला छैन तर चलिरहेका त छ । रोकेर रोकिने वाला छैन । गण्डकी प्रदेशका मुख्य मन्त्रीले भनेको कुरामा मेरो समर्थन छ । उहाँले वेश्यावृत्तिलाई कानुनी बनाउनु पर्छ भन्नु भयो ।  यो व्यवहारिक कुरा हो । तर धेरै गाली खानु भयो । तर वेश्यावृत्ति त अहिले पनि भइरहेको छ । वेश्वावृत्ति कतै पनि रोक्न सकिदैन । स्टालिन, हिटलरले पनि सकेनन् । 

 

विश्वविद्यालय नपुगेको आधुनिक भनिने शिक्षा नपुगेका कतिपय आदिवासीहरुको वस्तीमा विवाह र वेश्यावृत्तिको चलन छैन । यस्ता समाज छन् । त्यस्ता समाजमा बलात्कार हुँदैनन् । भारतको छत्तीसगडमा महिलाहरुलाई यौनका चाहना भएपछि घुट्लुमा जान्छन् । जहाँ अरु पुरुष पनि आउँछन् । मन परेकासँग सेक्स गर्छन । त्यो घुट्लु प्रथा त्यहाँ छ । त्यहाँका मानिसलाई हस्तमैथुन थाहा छैन । सुनाउँदा ‘यस्तो पनि हुन्छ ?’ भनेर हाँस्छन् । जनावरहरुले पनि त हस्तमैथुन गर्दैन । तर आजको विश्वमा महिलाको नांगो शरिर हेर्न मानिसले पैसा खर्च गर्छ । अर्थात समाज रुग्ण बन्दै गएको छ । सेक्समा सबैभन्दा लिवरल देश हल्याण्ड हो । त्यहाँ सेक्सुअल क्राइम पनि कम छ । यो तथ्यमा पनि बिचार गर्न जरुरी छ । 

 

विवादहरु 
ओशो तपोवनले शिवपुरी राष्ट्रिय निकुञ्जको जमिन कब्जा गर्‍यो भन्ने आरोप लाग्ने गरेको छ । मेरो प्रश्न यो छ कि के शिवपुरीको जमिन कब्जा गर्न सम्भव छ ? सेना राइफल बोकेर बसेको छ, यस्तोमा एउटा जोगीले निकुञ्जको जमिन कब्जा गर्न सक्ला ? 

 

एक माताजीले मेरो खुट्टामा मसाज गरिदिनु भयो । एक माताले आफ्नो बच्चालाई जसरी मालिस गरिदिनु भयो भने यसलाई किन आश्चर्य मान्नु ? दृष्टि राम्रो छ भने सबै राम्रो हुन्छ । दृष्टि नराम्रो छ भने सबै नराम्रो देखिन्छ । 

 

नारायण साई नेपाल आउँदा उहाँको कुनै विवाद थिएन । उहाँ आउनु भयो । बस्नु भयो । उहाँ आशाराम बाप्पुका छोरा हुन्छ । उहाँहरुका धेरै फलोअर पनि थिए । उहाँ पनि दुई रात पैसा तिरेर बस्नु भयो । पछि उहाँहरुको विवाद सार्वजनिक भयो । विवाद आउनु अघिको कुरालाई पनि तपोवनसँग जोडेर हेरिनु ठीक हुँदैन होला । 

 

१५ दिनमा सबै रोगको उपचार गर्ने दावी गरेर प्रचार गर्ने कुमार स्वामीको मतसँग मेरो सहमति छैन । उहाँ मेरो मित्र हुनुहुन्छ । मित्रहरुले कुनै गलत गर्नु भयो भने त्यसको दोष मलाइ दिन मिल्दैन । बाबुराम पनि मेरो मित्र हुनहुन्थ्यो । तर उहाँको कामले कति धेरै मानिसहरु मारिए । त्यसको दोष अर्को साथीलाई जाँदैन ।