खेल

लिटल फ्लावर प्रिमियर लिगः पुरस्कार राशी दोब्बरले वृद्धि, देशभरका १२ टोलीको सहभागिता

शनिबार, २० असोज २०७५ गते प्रकाशित
- नेपाल आज

लिटल फ्लावर प्रिमियर लिगः पुरस्कार राशी दोब्बरले वृद्धि, देशभरका १२ टोलीको सहभागिता

काठमाडौं । कैलालीको धनगढी ‘क्रिकेटको शहर’का रुपमा देशभर परिचीत भइसकेको छ । त्यहाँ समय-समयमा क्रिकेट गतिविधि भइरहेकै हुन्छन् ।

 

 

धनगढीमा उत्पादन भएका कयौं खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छन् । अझ भनौं धनगढी ‘क्रिकेटको नर्सरी’ नै हो भन्दा फरक नपर्ला । त्यहाँ उत्पादन भएका खेलाडीको प्रदर्शनले नेपालले कयौं समय सफलता हात पारेको छ ।

 


यसैबीच, खेलाडीको क्रिकेट प्रतिभालाई थप प्रस्फोटनका निम्ति तथा नयाँ प्रतिभालाई अवसरका लागि धनगढीमा भव्य क्रिकेट प्रतियोगिता हुने भएको छ ।

 

 

त्यो प्रतियोगिताको नाम हो- निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग । यो विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हो । जसमा यो वर्ष देशभरीबाट विभिन्न १२ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले विस्तृत बताएको छ ।

 

 


संस्कार क्रिकेट एकेडेमीको आयोजनामा धनगढीको संघिय इकाई प्रहरी कार्यालयको मैदानमा आगामी कार्तिक २७ देखि हुने प्रतियोगिताको तेस्रो संस्करणलाई यसपटकबाट राष्ट्रव्यापी बनाइएको आयोजकले बताएको छ ।

 

 

लिगकम नकआउट प्रतियोगितामा मुख्य सहयोगकर्ता लिटल फ्लावर बोर्डिङ हाई स्कुलसँगै धनगढीकै सिद्धार्थ शिशु सदन स्कुल, शारदा मावि, क्यास्पियन एकेडेमी, कैलाली मोडेल स्कुल, सरस्वती मावि गेटा, एवीसी बोर्डिङ स्कूल नेपालगञ्ज, विज्डम एकेडेमी, कञ्चनपुर, लिटलबुद्ध एकेडेमी, कञ्चनपुर तथा काठमाडौंका हिमालय ह्वाइट हाउस वल्र्ड स्कुल र मोक्षदा स्कुल तथा भक्तपुरको निष्ट स्कुलले सहभागिता जनाउने भएको छ।

 

 


प्रतियोगिताको विजेताको रकम दोस्रो संस्करणको भन्दा दोब्बर बढाउँदै विद्यालय स्तरमा देशकै सर्बाधिक पुरस्कार राशीको प्रतियोगिता बनाइएको संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए । यस संस्करणको विजेताले १ लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने भएका छन् ।

 

 


गतसंस्करणको विजेताले ५० हजार तथा उपविजेताले २५ हजार पाएका थिए। यस्तै विधागत तर्फ यस संस्करणको उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५-५ हजार पाउने भएका छन्।

 

 

यस्तै लिगचरणको म्यान अफ द म्याचले १ हजार, नकआउट चरणमा १५ सय तथा फाइनलमा दुई हजार पुरस्कार दिइने काठमाडौंमा बिहीबार एक पत्रकार सम्मेलनकाबीच आयोजकले जनाएको छ ।

 

 

सुदूरपश्चिम प्रदेशको धनगढीले धनगढी प्रिमियर लिग जस्तो उदाहरणीय व्यवसायिक क्रिकेट प्रतियोगिता आयोजना गरेको र देशभरि हाल त्यसको सिको भइरहेको उदाहरण दिदैं आफूहरुले पनि अभियानका रुपमा यस लिगलाई अघि बढाएको बताए ।

 

 

‘नेपाली क्रिकेटको भविष्य बलियो बनाउन विद्यालय उमेरदेखि नै बालबालिकाहरुलाई क्रिकेटमा सक्षम बनाउँदै लैजानुपर्छ,’ उनले भने, ‘पहिलो र दास्रो संस्करण भन्दा यस संस्करणलाई अझै व्यापक र विस्तारित रुपमा प्रस्तुत गरेका छौं । प्रतियोगिता विद्यालय स्तरका प्रतिभावान खेलाडीलाई पहिचान गर्न र भएका खेलाडीलाई एक्सोजर दिने माध्यम बन्ने विश्वास लिएको छु।’

 

 

प्रतियोगिताका मुख्य प्रायोजक निष्ट कलेज लैनचौर काठमाडौंका अध्यक्ष डा. माधवप्रसाद बरालले दोस्रो संस्करणदेखि आफूहरु प्रतियोगितासँग जोडिएकाले आगामी संस्करणमा पनि प्रायोजन सहयोगलाई निरन्तरता दिने बताए ।

 

 

‘नेपाली क्रिकेटको सम्भावना उच्च छ,’ बरालले भने, ‘हाम्रो सहयोगले नेपाली क्रिकेटको प्रवद्र्धनमा सहयोग पुगेकोमा खुशी छौं । उहाँहरुको क्रिकेटको शहर बनाउने अभियानलाई पनि सहयोग पुगेको विश्वास लिएका छौं ।’