समाचार

स्वास्थ्य

स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम

बुधबार, १७ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम

भीमदत्तनगर । कञ्चनपुरका नौवटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यत्रम शुरु भएको छ । स्वास्थ्य सेवामा नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा बोर्डले त्यहाँका सबै स्थानीय तहमा कार्यक्रम शुरु गरेको हो । 

 

 

चार वर्षअघि सुदूरपश्चिम प्रदेशको कैलालीबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल मुलुकका ४४औँ जिल्लाको रूपमा कञ्चनपुरमा शुरु भएको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेशका संयोजक जनक साउदले बताए । सुदूरपश्चिमको पहाडी जिल्ला डोटी र डडेल्धुराबाहेक सात जिल्लामा बिमा कार्यक्रम लागू भइसकेको छ । 

 

 

स्वास्थ्य बिमा बोर्डले कञ्चनपुरका सबै स्थानीय तहमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य बिमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिन लागेको संयोजक साउदले बताए । आर्थिक वर्ष २०७४/७५ मा स्वास्थ्य क्षेत्रमा रु ३१ अर्ब ७८ करोड विनियोजन गरेको सरकारले सन् २०२२ सम्म नेपालको स्वास्थ्यसम्बन्धी सूचाङ्कमा आमूल परिवर्तन ल्याउने र मुलुक विकासशील मुलुकको सूचीमा पु¥याउने लक्ष्य राखेको छ । 

 

 

पाँच जना सदस्य रहेको परिवारले वर्षको रु दुई हजार ५०० प्रिमियम रकम तिरेर सदस्य बन्नुपर्ने हुन्छ, भने सो बापत वर्षभरिमा रु ५० हजार बराबरको स्वास्थ्य सेवा लिन पाइने प्रावधान छ । पाँचभन्दा बढी सदस्य भएका परिवारले एक व्यक्ति बराबर थप रु ४५० बढी तिरेर बिमा सदस्य बनेर रु ५० हजार बराबरको निःशुल्क उपचार सेवा लिने व्यवस्था रहेको छ ।