बिचार

ट्रम्पको फोटो, ओलीको भोटो 

संकेत कोइराला

बुधबार, १७ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

ट्रम्पको फोटो, ओलीको भोटो 

ब्रिटिस प्रधानमन्त्री चर्चिल अमेरिका घुम्न गएका बेला त्यहाँको राष्ट्रपति भवनमा बसेका थिए । अमेरिकी राष्ट्रपति रुजवेल्ट पक्षघातको विरामीका कारण गुड्ने कुर्सीमा बसेर चर्चिल बसेको कोठामा आए । उता चर्चिल चाहिँ बाथरुमको ढोका खुल्लै राखी नाङ्गै नुहाइरहेका थिए । यस्तो अनपेक्षित दृश्य देखेर उनले रिसाउँदै प्रश्न गरे– ‘यस्तो के तमासा देखाउनु भएको ?’ चर्चिलले हाजिरी शैलीमा उत्तर दिए– ‘म तपाईंलाई केवल यो बताउन चाहान्थें कि वर्तमान अवस्थामा ब्रिटिस सरकार समक्ष त्यस्तो कुनै कुरा छैन, जुन अमेरिकी राष्ट्रपतिका सामु गुप्त राख्न सकियोस् ।’ 

 

अनेक वर्णमा आएका नेपालका शासकहरुले छातीमा हात राखेर बोलिदिने हो भने अधिकांशको हालत चर्चिलको जस्तै छ । चार पाँच घन्टा जडवत भएर कुरेर अमेरिकी राष्ट्रपतिसँंग कुम जोडेर खिचेको फोटोलाई विश्व राजनीतिमा नेपालको प्रभावकारी उपस्थिति भनेर अब पनि कुनै सरकार प्रमुखले गफ लगाउँछ भने त्यो भन्दा तोरीलाहुरे गफ संसारमा अरु केही हुँदैन । ट्रम्पको फोटोले आफ्नो भोटोेको कद अग्लिन्छ भन्ने ओलीको सोच हो भने उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो भ्रम हो ।  संयुक्त राष्ट्रसंघ भनेको साधु भेषको अमेरिका नै हो । महासभाको बैठक भनेको त्यही देउरालीको ढुंगो फन्को मार्ने कुम्भमेला हो । त्यो फोटो घरमा झुण्ड्याएर आफ्ना अनुचरलाई गफ लगाउन बाहेक अरु केहीमा काम नलाग्ने स्पष्ट छ ।

 

उमेर काँचो भएर के गर्नु संसारका राष्ट्रप्रमुख र सरकार प्रमुख पाकिस्तानी महिला शिक्षा अभियन्ता युसुफाई मलालासँंग फोटो खिच्न मरिहत्ते गर्छन् । उनलाई सम्मानित नागरिक बनाउन विश्वको हानाथाप चल्छ । यदि सबै प्रकारका बेइमानहरु मतियार हुने रोगबाट  नेपालका नेता मुक्त भइदिएको भए यस्ता अवसर पटक पटक दैलो नजिक आएर फर्किएका छन् । संसार चकित बनाउने परिवर्तन नभएको कहाँ हो र ? तर ती सबै परिवर्तनका अभियन्ता बोइङ चलाउन तम्सिए, अन्त्यमा ठेलागाडामा थन्किए । अहिलेका दुई चालकले आर्थिक समृद्धिको उडानका लागि तीन करोड यात्रु कोच्न त कोचे तर प्लेन उड्न नपाई पन्चर हुने खतरा बढेको छ । काँग्रेस दुई पार्टी हुनु जति घातक हुन्छ, कम्युनिष्ट पार्टीमा दुई नेताको चर्काचर्की हुनु त्यो भन्दा बढी स्वास्थ्यका लागि हानिकारक छ ।

 

कसैलाई अछूत बनाउनु छ भने गद्दारको उपमा दिएपछि खलाँस । विवादको विरुवा रोपिनु मात्रै पर्छ, चर्काउने ठेक्का लिनेको हानाथाप चल्छ । अझ ईशारा नै काफी हुने हाम्रो परिवेशमा खेल्नेहरु रत्यौली कति प्रभावकारी हुन्छ भन्ने जगजाहेर नै छ ।  हावाको अनुपातमा उड्ने बेलुनभन्दा परको अवस्था यहाँका सत्तारुढहरुको कहिल्यै रहेन । जसले हावा भरिने मौका पाएनन् , तिनीहरुका लागि सत्ता सधैं अंगुर अमिलोको कथासरह बन्यो । हिन्दी सिनेमाको यो गीत शायद नेपाली राजनीतिलाई देखेर बनाएको हुनुपर्छ– ‘जितनी चाभी भरी राम ने, उतनी चली खिलोना ।’ राजनीतिक नामको बाँस त सधैं रह्यो तर सेवाको बाँसुरी कहिल्यै बजेन । 

 

 कुनै आग्रह, पूर्वाग्रह होइन अहिलेसम्म सर्वाधिक महत्वपूर्ण भनिएको २००७ सालको राजनीतिक क्रान्तिका नायक मानिएका त्रिभुवनले आत्मसमर्पण गरेका थिए तर विभूषित गरियो राष्ट्रपिताको । गाँस, बास, कपास सुरक्षित गरेर प्रवासमा मुन्टो लुकाउनु नायकत्व हुँदै होइन । यसरी रोपिएको निर्देशित प्रजातन्त्रको बीउ बीपी, जीपी, पीके हुँदै केपी पथसम्म आउँदा पनि दुईपाते हुन सकेको छैन् । त्यो समयका लेखकले त्रिभुवनलाई राष्ट्रपिताको पदवी भिराए भने अहिलेका लेखकहरुले पीकेलाई देव अवतार हुँदै भित्ते राष्ट्रपतिमा थन्क्याए ।

 

देवत्वको आखिर विन्दुमा पुर्‍याइएका केपी ओलीलाई प्रधानमन्त्री वार्षिकी नहुँदै खुइल्याउने प्रतिस्पर्धा शुरु भएको छ । दशकौंदेखि चल्दै आएको यसखाले कपटी खेलले राजनीतिक कोर्स एकपाना पनि अघि बढेन् । स्वस्थानी वर्षैपिच्छे पढिए । तर साङ्गेको १०८ रोटी छोरा भए छोरा, छोरा नभएर मित छोरालाई दिनुमै सीमित भयो । समानताको आवाज उठाउनेले समेत त्यो रोटी छोरीलाई दिने हिम्मत गरेनन । सन्तान नभएकाले शास्त्रीय मान्यता मुताविक नदीमा बगाइदिए तर गरीबलाई दिने चेष्टा गरेनन । मुलुक राणा शासनबाट मुक्त भएपछि प्रजातान्त्रिक नेपालका ‘लोकप्रिय’ राजा त्रिभुवनले भनेका थिए– ‘जनताहरुद्वारा निर्वाचित हुने प्रतिनिधिहरुद्वारा बनाइने प्रजातान्त्रिक संविधानअनुसार शासित होउन भन्ने हाम्रो सदैवदेखिको इच्छा र संकल्प छ । हाम्रो देशको परिस्थितिमा सम्भव हुने यथाशक्य शीघ्रताको साथ संविधानसभाका लागि चुनाव गरिने प्रयत्न गरिदैछ । हाम्रो देशको संविधान त्यही हुनेछ । जुन यस संविधानसभाद्वारा तयार गरिनेछ ।’

 

राजा त्रिभुवनको यो सपना उनी बाचुन्जेल पूरा हुने छाँटकाँट कतै देखिएन, उनका छोरा महेन्द्रले राजपाट सम्हालेको चार वर्षपछि देशबासीका नाममा गरेको सम्बोधन यस्तो विरक्त लाग्दो थियो– ‘हालै इलेक्सन कमिसनबाट पेश भएको रिपोर्ट र मन्त्रिमण्डलबाट उक्त घोषित तिथिमा आमचुनाव हुन नसक्ने व्यहोरा उल्लेख गरी चुनाव यथाशक्य, यथाशीघ्र गराउन प्रयत्नशील हुनेछ भन्ने हाम्रो हजुरमा जाहेर हुन आएबाट सो घोषित तिथिमा चुनाव हुन नसक्ने भएको छ भनी आज फेरि घोषणा गर्नुपरेकोमा स्वभावतः हामीलाई जति खेद लागेको छ सो देशवासीलाई पनि भनिरहनुपर्ने कुरो छैन् ।’  यी सवै घटनाक्रमले उब्जाएको एउटै प्रश्न हो– ६ दशकसम्म एउटै रोटेपिङमा हामी किन मच्चिरहेका छौं ? कहिल्यै घिउ नलाग्ने धोका र कपटको राजनीतिक खेल कहिलेसम्म खेलिरहने ? यस विषयमा घोत्लिने समय धेरैपल्ट घर्किसकेको छ । अनि सधैं हात लाग्ने गरेको एउटै बस्तु हो– पश्चाताप । 

 

राजनीतिमा मात्र हैन, हामीले दैनिक भोग्ने र सुन्ने आख्यानका नियति उस्तै छन् । रामायणकालिन महर्षि परशुराम यति घमण्डी र रिसाहा थिए कि जो संग पनि लड्न तयार हुन्थे । कतिसम्म भने आफ्ना पिताजी क्षेत्रीयसंगको युद्धमा मारिएपछि उनले क्षेत्रीलाई विद्या नै नसिकाउने संकल्प गरे । आखिर आख्यानको त्यही हठी परशुराम पात्रले अहिले पनि समाजमा विचित्र लीला देखाइरहेका छन् । यी पात्र कतै पुलिसको भेषमा बलात्कारी, कतै गुण्डागर्दीको कमाईमा कानुन आफ्नो मुट्ठीमा कैद गर्ने अघोरी त कतै जातीय नारा उचालेर वर्ग विभाजनको अभियन्ता बन्दै हिँडेका छन् । त्यतिबेलै किताब लेख्ने, स्वर्ग मत्र्य सुनको सिंढीले जोड्ने महत्वाकांक्षी रावण राक्षस बनाइए । तर सत्यको जामा लगाएका हामीमा त्यो रामराज्यदेखि यो रामराज्यसम्म आउँदा उही गरिवी, उही आर्तनाद छ । 

 

भनिरहनु पर्दैन थुप्रै कालखण्डमा जन्मिएका निरंकुशताको पर्दा च्यातिएपछि हामीले उन्मुक्तिको संसार पाएका हौं । यो स्वतन्त्र आकाश खोज्ने कयौं स्वतन्त्रता सेनानीहरुले पाएको यातना, नेल र हतकडीका डोबहरु अझै आलै छन । परिवर्तनको यो मोडसम्म आइपुग्दा असंख्य लडाकुहरुको बलिदानीको सट्टा यो अवसर प्राप्त भएको हो । लोकतन्त्र काख रितिएका आमाहरुको भरिलो आशा हो , सिन्दुर पुछिएका युवतीहरुको गौरवको प्रतिक हो । टुहुरा नानीहरुको अभिभावक हो अनि सहारा गुमाएका बाबुआमाको टेक्ने लौरो हो । समग्रमा मुलुक डोर्‍याउने अनुशासनको डोरी हो लोकतन्त्र । यद्यपी राजनीति नामको कमण्डलु बोकेर हिँड्ने गरिब सोचका वर्णशंकर सन्तानले सामाजिक मूल्य, मान्यता र पद्दतिमा धावा बोल्दा लोकतन्त्रको अनुहार अमिबाजस्तै भएको छ । न पढ्नुपर्ने, न लोकसेवा लड्नुपर्ने, न कुनै दायित्वबोध गर्नुपर्ने बस् गरिदिए पुग्ने जागिर बनेको छ राजनीति । यसअघिका परिवर्तनले केही औंठा छापेलाई हैसियत दिँदा त्यो राजनीतिमा खोट देखाएर गणतन्त्रको यात्रा तय गरिएको थियो । तर अहिले त झन् गाउँका नामी कुखुरा चोर, भट्टीका दिग्विजयी ट्वाँके, हुल्याहा, बताहाहरु सत्ताको केन्द्रविन्दुमा पुगेका छन् । 

 

डा. सर्वपल्ली राधाकृष्णनले भारतीय राजदूतका हैसियतमा पूर्व सोभियत संघमा रहँदा त्यहाँका राष्ट्रपति जोसेफ स्टालिनलाई आख्यान यसरी सुनाएका थिए– हाम्रो देशमा एकजना सम्राट जीवनभर भयंकर खुंखार लडाईं लडेर वृद्धावस्थामा पुगेपछि सारा राजपाट त्यागी भिक्षु बनेका थिए । राष्ट्रपति महोदय ! तपाईं पनि रक्तपथको लामो यात्राबाट प्रभुताको यो महान सिंहासनमा आइपुग्नुभएको छ । भोलिका दिनमा यहाँ पनि हाम्रै देशको उक्त सम्राटजस्तो बन्न सक्नुहुन्न भनेर अहिल्यै कसले ग्यारेन्टी गर्न सक्छ ? डा. राधाकृष्णनको कुरा सुनेर स्टालिन जीवनमा पहिलोपल्ट दिल खोलेर मुस्कुराएका थिए । उनले उत्साहित हुँदै भने– ‘हो कहिलेकाहीँ चमत्कार सिर्जना हुनसक्छ । म पनि ५ वर्षसम्म धर्मशास्त्रका स्कुलमा बसेको छु ।’ स्टालिनसंग विदाईको गला मिलाएर उनको पिठ्यूँ सुम्सुम्याउँदा स्टालिनको आँखामा आँसुको सागर उर्लिएको थियो । उनको अनुहार मलिन थियो र कण्ठ पनि अवरुद्ध । उनले आफ्ना अश्रुमिश्रित नेत्र उचालेर भनेका थिए– ‘तपाईं पहिलो व्यक्ति हो जसले मलाई मनुष्य सम्झिएर मानवीय व्यवहार गर्नुभयो । मलाई कहिल्यै पनि दानव ठान्नुभएन । तपाईं हामी सवलाई छोडेर जाँदै हुनुहुन्छ । म चाहान्छु कि तपाईं दीर्घजीवी रहनुहोस् । अब म धेरै दिन बाँच्दिन ।’ स्टालिन रोएको यस घटनालाई सारा विश्वले इस्पातको मानिस रोएको भन्दै टिप्पणी गरेको थियो । 

 


कुनैबेला स्टालिनकै झल्को दिने नेपाली राजनीतिका तिलस्मी र रहस्यमयी पात्र पुष्पकमल दाहाल हेर्दाहेर्दै अहिले सिल्भरको ताप्केजस्तो रन्की नसकी थन्किने नेतामा परिणत भएका छन् । बाम गठबन्धनको विजय शीर्ष नेताहरुका लागि महाभारतका लाचार पात्र भीष्मको उत्तराद्र्धजस्तै भएको छ । न पाण्डवको जितमा हाँस्न सक्छन, न प्रतिरोधमा उत्रन ।

 

 

क्रान्तिका लागि मात्र हैन, देशको अखण्डता जोगाउन पनि संसारमा लाखौं मानिस मारिएका छन् । अब्राहम लिंकनका पालामा हजारौं अमेरिकी मारिए तर उनीहरुले दक्षिण अमेरिकी राज्य चोइटिन दिएनन् । यही राष्ट्रप्रेमले लिंकनलाई पूज्य बनायो । एउटा मात्र राम्रो कुरा देखिँदा छनौटमा कठिन हुन्छ । उत्तिक्कै राम्रा सिद्धान्त र भावनाबीच टक्कर हुन्छ । सिद्धान्तको आधारमा सत्य नभई, सत्यको आधारमा सिद्धान्त हेरिनुपर्छ । बंगलादेश, पाकिस्तान, भुटान देखाएर राजनीतिक परिवर्तनको वकालत गर्नु भनेको आफ्नो कमजोरी लुकाउनु हो । अरुले भनेको बाटोमा अहिलेसम्म श्रीलंका हिँडेको भए के हुन्थ्यो ? आजभन्दा सात दशकअघि राष्ट्रसंघमा भाषण गरेर काश्मिरीको आत्मनिर्णयको अधिकार स्वीकार्ने नेहरुको संकल्प हावामा हानेको बन्दुकभन्दा माथि उठ्न सकेन । काश्मिरमा स्वतन्त्रता चाहनेहरु अहिले पनि शिकार भइरहेका छन् । 

 


राजनीतिमा एक एक जोड्दा दुई नभएर एघार हुन्छ भन्ने दृष्टान्त बन्यो । यी सवै संयोगको एउटै निष्कर्ष हो– बलवान मानिस नभएर समय हुन्छ । हलहली बढेको बर्खे झारले पिपलको विरुवा छेकिदिंदा पिपल हराएको भ्रम पर्ने गरेपनि झार सुकेपछि पिपल जस्ताको तस्तै रहेजस्तै सत्यमा लागेको भ्रमको बादल फाट्दै गएपछि राजनीतिक भ्रम पनि चिरिंदै गएका छन् ।