बिचार

न गन्न लायक उमेर, न भन्न लायक काम

बुधबार, १४ कार्तिक २०७५ गते प्रकाशित
- संकेत कोइराला

न गन्न लायक उमेर, न भन्न लायक काम

एकपटक गंगा मातासंग कसैले सोध्यो–तपाईंको जलमा यति धेरै मानिसले नुहाउँछन र आफ्नो पाप पखालेर जान्छन । तपाईंको पानी त पापै पापले भरिन्छ हैन त ?गंगाले उत्तर दिइन– ‘होइन म त सवै पाप समुद्रलाई पो दिन्छु त ।’ उसले यही प्रश्न समुद्रसंग दोहोर्‍यायो । समुद्रले भन्यो–‘म सवै पाप बादललाई दिन्छु ।’ अब उसले बादललाई सोध्यो –‘तपाईं सवै यी पाप के गर्नुहुन्छ ?’ बादलले उत्तर दियो –‘म जसको पाप हो, उसकै घरमा बर्सिदिन्छु र उसैलाई छोडिदिन्छु । यति भएपछि जसको पाप हो, उसैसंग पुग्छ ।’

 

 

जस्तो करनी उस्तै भरनी भने जस्तै काम अनुसारको प्रतिफल पाउनु प्रकृतिको नियमभित्र पर्छ । भन्न लायक काम नगर्नेहरुको उमेर पनि गन्न लायक हुँदैन् । यस्ता व्यक्तिहरुको उमेर गनेर जुन समय हामी बर्बाद गरिरहेछौँ, त्यसको क्षतिपूर्तिमा पश्चाताप सिवाय केही प्राप्त हुँदैन । समय बगेको पानी, उडेको हावा र छुटेको गोली समान हो, जो फेरि फर्कदैन । नफर्कने समयका बारेमा जति कुरा कोट्याउँछौं, जति बहस गर्छौं त्यस तुलनामा अब आउने समयका लागि अलिकति मात्र सोचिदिने हो भने पनि विगतका सन्त्रास र विकृतिहरुबाट मुक्त हुने थियौं । विगत नफर्कने हुनाले त्यो जतिसुकै डरलाग्दो, कहालीलाग्दो र यन्त्रणापूर्ण किन नहोस् हामी त्यसका बारेमा खुलेर कुरा गर्न सक्छौं । शायद विगत जस्तो आगत निश्चित नभएर नै होला– ‘जस्तो पर्छ त्यस्तै टर्छ ’ भन्ने उक्तिकै अनुशरणमा हामी शताब्दीयौंदेखि रुमल्लिरहेका छौं ।

 

 

घडी नबाँधे पनि समयको गति रोकिदैन । न त कुखुराको भाले नबास्दैमा विहान हुन रोकिन्छ । भाग्य कसैको माया, दया, प्रेम र निगाहामा प्राप्त हुने वस्तु होइन । कर्म नै भाग्यको आधार हो । मोटोलाई खुर्किएर दुब्लो र दुब्लोलाई मासु थपेर बलियो बनाउने प्रविधि आजसम्म जन्मिएको छैन । नत्र संसारको प्रारब्ध यस्तो हुने थिएन होला । सुख, दुख सवै हेराईका उपज हुन । यदि साग र सिस्नु खाएर आफूलाई संसारको सुखी ठान्नुहुन्छ भने निर्विवाद तपाईं सुखी हो । सुख र दुखको कसी हुँदैन । न त कुनै विषय या बस्तुको अन्तिम व्याख्या नै हुन्छ । समयको बद्लिँदो मूल्य, मान्यता र स्थितिसँगै यो क्षणको उपयोग हुन सकेन भने हाम्रो जीवन बसन्तले छोडेर गएको बुढो रुख जस्तै निरीह र सहाराविहीन हुनपुग्छ । त्यस्तो जीवनमा न कुनै साहसको इतिहास हुन्छ, न कुनै लक्ष्यको टुंगो नै । अवसर भनेको प्रत्येक मानिसको जीवनमा एकपल्ट आउँछ, त्यो हो–बाल्यकाल, किशोरावस्था, र बुढ्यौली । धर्तीको साँचो मुस्कान बालक, राष्ट्रका मेरुदण्ड युवा अनि वृद्धहरु देशका प्रतिष्ठा हुन । यी सवै उमेरले आफ्नो दायित्व बोकेन भने राष्ट्रको परिचय चट्टान विनाको पानी जस्तो निष्प्राण बन्नपुग्छ । 

 

 

क्रान्तिका नाममा भएका व्यभिचारी युद्धले हाम्रा घर आँगन वर्षौं मलामी हिँड्ने बाटो मात्र बनिरह्यो तर समयले अँध्यारो मात्र बोक्दैन । खै, मलामी र जन्ती हिँड्ने बाटो कसले अलग गर्न सक्यो ? एक दशकयता जनताले केही हदसम्म भएपनि शान्तिको सास फेर्ने मौका पाएका छन् । अब इतिहासले हामीलाई तरबार चलाएका ती ठाउँमा बुद्ध जन्माउने अभिभारा सुम्पिएको छ । अब भनिरहन पर्दैन –नाराले आगो बाल्दैन, आगो बाल्न त इन्धन नै चाहिन्छ । त्यो इन्धन भनेको जनताको शक्ति हो । भत्किएको घरको ईंटा जोसुकैले पनि बोक्छन तर सग्लो घरको पर्खालमा हात हाल्ने साहस कसैले नगरेजस्तै जनताको शक्ति पनि मिलेको ईंटाको मजबुत पर्खाल बनेर राष्ट्रिय शक्तिलाई अक्षुण्ण राख्ने काममा प्रकट हुन जरुरी छ । कल्पना गर्नुस त–उखुको त्यो लाँक्रोमा अझ फल लागि दिए कति मीठो हुन्थ्यो होला । त्यस्तै प्रजातन्त्रको सुरम्य तलाउमा नेपाली जनताको भावना समेटिएको कमलरुपी फूल फक्रिएका दिन प्रत्येक नेपाली जनता देशकै माली बन्ने सौभाग्य पाउने थिए ।

 

 

त्यो दिनपछि वर्षौंदेखि मुखुण्डो फेरेर अनुहार फेरेको भ्रम छर्नेहरु नाङलोबाट भुस छिन्किए झै पाखा लाग्थे । अनि निसन्देह त्यसपछि भने घोडाभन्दा अगाडि बग्गी पुगे जस्तो बेथिति मुलुकले फेरि भोग्नु पर्ने थिएन । 

 

 

थुप्रै कालखण्ड जन्मिएका निरंकुशताको पर्दा च्यातिएपछि हामीले उन्मुक्तिको यो संसार पाएका हौं । यो स्वतन्त्र आकाश खोज्ने कयौं प्रजातन्त्रवादीहरुले पाएको यातना, नेल र हतकडीका डोबहरु अझै आलै छन । परिवर्तनको यो मोडसम्म आइपुग्दा असंख्य लडाकुहरुको बलिदानीको सट्टामा प्रजातन्त्र प्राप्त भएको हो । प्रजातन्त्र काख रितिएका आमाहरुको भरिलो आशा हो , सिन्दुर पुछिएका युवतीहरुको गौरवको प्रतिक हो, टुहुरा नानीहरुको अभिभावक हो अनि सहारा गुमाएका बाबुआमाको टेक्ने लौरो हो । 
अहिले हामीसँग खुल्ला आकाश छ, खुल्ला धर्ती छ अझ भनौं सर्वत्र खुल्ला वातावरण छ । सार्वभौमसत्ता जनतामा निहित छ । यी सवै भएर पनि यसलाई स्थिर र प्रतिष्ठित बनाउने चेतना, दक्षता र सीपको भने कमी छ । शिक्षाको उज्यालो केही शहरी क्षेत्रमा मात्र सीमित छ । यिनै कारणले खुल्ला आकाश कतै खुम्चिए जस्तो, कतै संकुचित वृत्तभित्र फन्का मारिरहे जस्तो, देशभित्र जनता भएपनि जनताभित्र कतै देश नभए जस्तो अनुभव धेरैलाई भइरहेको छ । हो परिवर्तन धेरै भएको छ तर भित्र होइन, बाहिर बाहिर, व्यवहारमा नभएर सिद्धान्तमा मात्र । अहिले पनि क्षतविक्षत मन लिएर नेपालीहरु बाँच्न बाध्य छन । 

 

 

 

व्यभिचारीले सदाचारीको भावना बुझेको इतिहास संसारमा कतै छैन । फलामबाट निस्किएको खियाले फलामको अन्त्य गरेजस्तै मान्छेको मनबाट निस्किएको विचारले मान्छेलाई सिध्याउँछ । यसै सन्दर्भमा एक समाज सुधारकको अनुभव उनकै शब्दमा यस्तो छ–

मैले दुनियाँको हित गरौं भनेर मन्दिर बनाएँ । मलाई शुरुमा ठूलो काम गरें भन्ने लाग्यो । म हेर्दै गएँ त्यहाँ त हिन्दुहरु मात्र जाँदा रहेछन । मलाई मन परेन त्यसैलाई भत्काएर मस्जिद बनाएँ, हिन्दुहरु क्रोधित भए । मलाई यो पनि मन परेन । फेरि उही व्यथा दोहोरियो त्यहाँ त मुसलमान मात्र जान थाले । मलाई यो पनि मन परेन । त्यसैलाई चर्च बनाएँ । अब इसाइको भीड बढयो । म हैरान भएँ । मलाई एउटा उपाय सुझ्यो म शौचालय किन नबनाउँ ? मैले त्यसैलाई शौचालय बनाएँ । विडम्बना अहिले त म के देखिरहेको छु– त्यहाँ हिन्दु, मुसलमान र क्रिश्चियन सवै विना पूर्वाग्रह हार्दिकतापूर्वक जान थालेका छन । समयको कुनै कुइनेटोमा इतिहासले तारिफ गर्ने एउटा काम गर्नु नै महानता हो । नेपाली साहित्यमा सयौं किताव लेख्ने स्रष्टाको नाम निशान नहुँदा एघार वटा कथा भएको नासो लेखेर बाँचेका गुरुप्रसाद मैनाली कुनै मूल्यांकनमा दोस्रो हुन सक्दैनन् ।

 

भानुभक्त आचार्यको कृति छापेर उनलाई देश विदेशमा आदिकविको उपनाम दिलाउने मोतीराम भट्ट आफूसमेत गजल साहित्यको महारथी बनेर २९ वर्षको उमेरमा देउताको प्यारो भए । यति छोटो आयुमा उनको त्यो अथाह सामथ्र्यको बयान जति गरेपनि साध्य छैन् ।

 

रामायणकालीन इतिहासमा हेर्ने हो भने पन्छी राज जटायुले मृत्युको अन्तिम स्थितिमा रहँदारहँदै पनि रावणले भिक्षुको भेषमा पुष्पक विमानमा राखेर सीतालाई हरेर लंका लगेको गुप्त खबर रामलाई दिँदा त्यो सूचना नै रामकथाको मूल शूत्र बन्यो । त्यति मात्र होइन रावणलाई नाभी वाण लागेपछि मात्र उसको अन्त्य हुन्छ भन्ने गुह्य रहस्य विभीषणले नखोलिदिएको भए शायद रामको बाण त्यसै निष्फल हुन बेर लाग्ने थिएन ।

 

सत्तामा बस्नेहरुले अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले भनेको एउटा सानो सत्य मनन् गर्नु उचित छ–‘सत्ताको यात्रा भनेको शेरको सवारीजस्तै हो । बसिरहँदा गलेर हैरानी, झर्दा आफै  शेरको शिकार हुने भय ।’

 

अब सन्दर्भ हाम्रै परिवेशको । तीनवटा प्रधानमन्त्री जन्माउने कृष्णप्रसाद कोइराला राणाविरोधी आन्दोलनका क्रममा जेलमै मरेका थिए । तर विडम्बना कस्तो रह्यो भने उनको शव बोक्ने मान्छेको अभावमा तात्कालिन सरकारले छ जना बाहुन पुलिस खटाएको थियो । कृष्णप्रसादको मृत्यु हुँदा जेलको सेन्ट्रीले बन्दुकमा रहेको संगीनको टुप्पोले शबलाई घोचेर मरे नमरेको प्रमाणित गरेको थियो । छोरा केशवले भने मरेको मान्छेलाई अपमान गरेको भनेर प्रतिवाद गरेका थिए । शायद त्यो बेला मरे नमरेको प्रमाणित गर्ने शैली यही नै पो थियो । हो उनै महान पिताको त्यागले तीनवटा प्रधानमन्त्री पुत्र जन्मिन मद्दत गरेको हुनुपर्छ ।

 

 

क्रसमा टाँगिएका जिसस क्राइस्टको मृत्यु यकिन गर्न रोमन सिपाहीले गभर्नर पिलाटेसलाई भनेछन्– ‘भाला रोप्दा मान्छे् चटपटाएन, पेटबाट रगत मात्र निस्क्यो ।’
अमेरिकी राष्ट्रपति अब्राहम लिंकन जातीय दासता उन्मूलन गरेवापत संसारमा प्रसिद्ध भए । अमेरिकाको राष्ट्रिय अखण्डतालाई विखण्डन हुनबाट उनले जोगाउँदा लाखौं अमेरिकी मरे । तैपनि उनले दक्षिणी अमेरिकी राज्यलाई छुटिन दिएनन । यसैका लागि श्रीलंकामा डेढ लाख नागरिक बलिबेदीमा चढे । भारत र पाकिस्तानबीच बाँडिएको कास्मिरमा सन् १९४९ मा नेहरुले राष्टसंघमा त्यहाँको जनताको आत्मनिर्णयको अधिकार मान्ने भनेर जनमत संग्रह स्वीकारेपनि त्यहाँ मर्ने क्रम रोकिएको छैन । विश्वमा यस्ता मुलुक छन जहाँ सात पुस्ता बस्दा पनि नागरिकता दिइन्न । युएइमा सम्पूण नागरिक मध्ये १५ प्रतिशत मात्र स्थानीय हुन । नागरिकता दिएको भए फिजीमा महेन्द्र चौधरी प्रधानमन्त्री भइसक्थे ।

 

 

तात्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तान सेनाका एक लाख जतिलाई युद्धबन्दी बनाइन । पाकिस्तानलाई टुक्राएर दुई स्वतन्त्र देश बनाइन । सिक्किमलाई भारतमा विलय गराइन । दक्षिण एशियाका कुनै शासक उनलाई शिर उँभो पारेर हेर्न सक्दैनथे । प्रतिपक्षी दलका नेता अटलविहारी बाजपेयीले उनको ख्यातीको प्रशंसा गर्दै रणचण्डी दुर्गासंग तुलना गरे । धाँधली र सरकारी बलको प्रयोग गरी उनले पश्चिमी बंगालको चुनावमा सीपीएमलाई चुनाव वहिष्कार गर्न बाध्य पारिन । 

 

 

अनि कांग्रेसको एकलौटी शासन चलाइन । तर जगमोहन लाल नाम गरेका न्यायाधीशले इन्दिरा गान्धीले गराएको चुनाव कानुनी बर्खिलाप भन्दै बदरको घोषणा गरिदिए । यो फैसलाले सम्पूर्ण भारत हल्लियो । एउटा न्यायाधीशको फैसलाले इन्दिरा गान्धीले सत्ताबाट हात धुनु पर्‍यो । एकताका सय करोड जनताकी राजमाता भनिएकी इन्दिरा गान्धी अन्ततः चुनाव हारिन । दुख सवैले खेपेका छन् । तर दुखलाई सुखमा बदल्ने दुस्साहसीको पूजा हुन्छ । 

 

 

शुभ कामका लागि हरेक समय साइत हो । पात्रो संगै भाग्यरेखा फेरिनुपर्छ । नयाँ वर्षसंगै गरिब देशका निर्धन प्रधानमन्त्रीले हाँकेको देशका नागरिक चाहिँ समृद्ध छन् भन्ने सन्देश विश्वभर जान सकोस् । नत्र त बिग्रेको घडीले पनि दिनको दुईपल्ट एकुरेट समय दिन्छ भने सत्ताको सारथी र रोबट के फरक भयो र ?

[email protected]