बिचार

अाेलीजी, अब अाराम गर्नूस्, राजकाजमा नफर्किनूस्

हरि अधिकारी

मङ्गलबार, १३ कार्तिक २०७५ गते प्रकाशित
- नेपाल आज

अाेलीजी, अब अाराम गर्नूस्, राजकाजमा नफर्किनूस्

मिर्गौला प्रत्यारोपण गरेपछि नियमित औषधि सेवन र पथ-परहेजका भरमा सक्रिय जस्ता देखिँदै आउनु भएका वामपन्थी नेता खड्गप्रसाद शर्मा ओली (जो देशको प्रधानमन्त्री पनि हुनुहुन्छ) अस्वस्थ भई अस्पताल भर्ना हुनु भएको छ । 

 

तपाइँ हामीहरूलाई झुक्याउँदै उहाँलाई यस पटक काठमाण्डुकै एउटा अस्पतालमा भर्ना गरिएको छ । उहाँ जस्तो यस गरीब देशको नयाँ धनी नेतालाई अलिकति पनि सञ्चो नहुने बित्तिकै ब्याङ्ककतर्फ एअरलिफ्ट गराएको देखिरहेका नेपाली जनताका लागि उहाँ टिचिङ अस्पतालमा भर्ना भएको खबर पक्कै पनि नौलो भएको हुनु पर्छ । यो खबरले अलि ठूलो आवाजमा पाद आउँदा पनि दिल्ली, ब्याङ्कक र सिङ्गापुर पुग्ने बानी लागेका सीता महारानी, देउवा महाराज, पुन साहेब, झलु खलु आदि-इत्यादिहरूलाई भने बेस्वाद लागेको हुनुपर्दछ । 

 

नेता ओलीको स्वास्थ्य-स्थितिलाई लिएर अस्पतालले प्रकाशित गरेको बुलेटिन पढ्न पाइएको छैन तापनि उहाँका निकटस्थहरूले उहाँको अवस्था सामान्य र सन्तोषजनक रहेको जनाएका छन् । यो वास्तवमै सबैका लागि सन्तोषको कुरो हो । ओली महोदयलाई छिट्टै सञ्चो होस् मेरो पनि यही कामना छ । साथै म ओली महोदयसँग विनम्रताका साथ अनुरोध गर्छु, अब तपाइँले प्रधानमन्त्रीको कुर्सी सम्हाल्ने जस्तो धेरै परिश्रम पर्ने कामबाट विश्राम लिनु पर्दछ । बितेको ८ महिनाको तपाइँको काम गराइबाट प्रमाणित भएको छ तपाइँबाट यस समस्याग्रस्त देशको राजकाज सुचारु हुन सम्भव छैन । 

 

एउटा असल सरकार प्रमुखमा अनिवार्यत: हुनुपर्ने तृणमूल तहका अकिञ्चन जनताप्रतिको भावनात्मक स्नेह-सम्बन्धका दृष्टिले तपाईं हदैसम्म निम्छरो साबित हुनु भएको छ । तपाइँमा न आम जनताको हक र हितप्रति सम्वेदनशीलता छ न त देश विकासका लागि कुनै कल्पनाशीलता नै । तपाइँले यी ९० प्रतिशत गरीब र निमुखा जनताको नेता हुने हैसियत गुमाइसक्नु भएको छ । बितेका ८ महिनाको प्रम ओलीको बोली र कार्यसम्पादनलाई हेर्दा उहाँले कताकता बोली र व्यबहारमा सन्तुलन नै गुमाउनु भएको हो कि जस्तो देखिएको छ ।

 

 

 प्रधानमन्त्रीको कुर्सीमा बसेदेखि अस्तिसम्म पनि उहाँ आम जनताको वास्तविक समस्यासाँग सरोकार नै नराख्ने बकम्फुसे कुरा एकोहोरो फलाकिरहनु भएको थियो । ओलीको यस पटकको कार्यकालमा गर्नुपर्ने र सजिलै गर्न सकिने काम एउटा पनि भएको छैन । मन्त्रीहरू बिना लगामको घोडा जस्ता भएका छन् । शिक्षा मन्त्री शिक्षा प्रणाली नै भत्काउन सक्रिय छन् भने भौतिक योजना र निर्माण मन्त्री काम नगर्ने ठेकेदारका मसिहा बनेका छन् । भ्रष्टाचार चरम्चुलीमा पुगेको छ । दण्डहीनता मौलाएको छ । गृह मन्त्रीको अगुवाइमा सम्पूर्ण राज्य नै अपराधीको संरक्षणमा लागेको छ भन्ने सन्देश प्रवाह भएको छ । प्रहरी प्रशासन ध्वस्त भएको छ ।

 

 जनताको मौलिक हक कुण्ठित हुने स्थिति स्वयम् सरकारका तर्फबाट बनाइँदैछ । प्राज्ञिक क्षेत्रमा चवन्नी छाप झोले कार्यकर्ताहरूलाई बिराजमान गराइएको छ । सत्ताको अहंकार छताछुल्ल छ सबै क्षेत्रमा । समग्रमा भन्नू पर्दा कम्युनिस्ट कार्यकर्ताका रूपमा आर्जन गरेको अनुभव र घरैमा प्राप्त शिक्षा-दीक्षाले परिपक्व वामपन्थी नेता खड्ग ओलीले देशको प्रधानमन्त्रीका रूपमा अहिलेसम्मको इतिहासकै खराब रेकर्ड बनाउनु भएको छ । त्यसैले, खड्ग प्रसाद ओलीले टिचिङ अस्पतालबाट फर्केपछि देशको प्रमुख कार्यकारीको पद स्वैच्छाले त्याग गरी आफ्नो, पार्टी र देशको स्वास्थ्य रक्षा गर्नमा ध्यान केन्द्र गर्नु भएमा सवैको कल्याण हुने थियो । उहाँ संसदमा बलियो बहुमत प्राप्त दलको अध्यक्ष त हुँदै हुनुहुन्छ । उहाँपछि प्रधानमन्त्री हुने पनि उहाँकै दलको नेता हो .।